Tuesday, July 19, 2011

कांग्रेस सत्ताका लागि मरिहत्ते गर्दैछ---डा.शशांक कोइराला केन्द्रीय सदस्य, नेपाली कांग्रेस

जेठ १४ मा प्रमुख दलहरूबीच पाँचबँुदे सहमति भएपछि सरकारको नेतृत्वका लागि संविधानसभा दुई ठूला दल एकीकृत माओवादी र नेपाली कांग्रेस आगामी सरकारको नेतृत्वका लागि आन्तरिक तयारीमा छन् । तर, दुवै दलभित्र सरकारको नेतृत्व कुन नेताले गर्ने भन्नेमा पनि उत्तिकै हानथाप छ । दुवै दलमा संसदीय दलको नेता परिवर्तनका कुरा उठेका छन् । कांग्रेसमा शेरबहादुर देउवा पक्षधर नेताहरूले दलको नेता परिवर्तन गरेमा एकसाताभित्र प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने दाबी गरिरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् शशांक कोइराला भने अहिले कांग्रेसमा नेता परिवर्तनको आवश्यकता नरहेको बताउँछन् । कांग्रेसका संस्थापक बीपी कोइरालाका छोरा शशांक दलहरूले बाटो बिराउँदा मुलुक राजनीतिक अस्थितरतातर्फ धकेलिएको टिप्पणी गर्छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेता परिवर्तनका लागि भइरहेको पहल, शान्ति–प्रक्रिया, संविधान निर्माणलगायतका विषयमा केन्द्रित रही कोइरालासँग कारोबारका राजनीति ब्युरो प्रमुख बलराम पाण्डेले गरेको कुराकानीः

पछिल्लो राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपालको राजनीति प्रारम्भ गर्दा नै ४६ सालपछि र अहिलेको अवस्थासम्म हामी आफ्नो मुख्य बाटोबाट मोडिएका छौं । जुन बाटो हो, त्यो बिराइरहेका छौं । कांग्रेस र राष्ट्रिय राजनीति दुवैलाई हेर्दा अहिलेको राष्ट्रिय राजनीति एउटै बिन्दुमा उभिएको देख्छौं । यतिबेला नेपाललाई संविधान चाहिएको छ तर त्योसँग शान्ति–प्रक्रिया गाँसिएको छ । यो बिन्दुमा पुग्न कांग्रेससहित अन्य दलको पनि उत्तिकै भूमिका छ । अहिलेको प्रमुख आवश्यकता शान्ति हो । कांग्रेसले ६५ वर्षदेखि शान्ति, लोकतन्त्र र जनताको हकका लागि आन्दोलन गरिरहेको छ । भोलि फेरि पनि नेपालमा अतिवादी शक्ति आउन सक्छ भन्ने अवस्थामा हामी छौं । मुलुकमा एकातिर उग्रवामपन्थी छन् र अर्कातिर दक्षिणपन्थी । गिरिजाप्रसाद कोइरालाले जस्तै अहिले सबैले सहमतिको राजनीति गर्नुपर्ने अवस्था छ । दुईतिहाइ बहुमत कसैको पनि छैन । यस्तो अवस्थामा कुनै पनि बुँदा पारित हुन सक्दैनन् । त्यो दुईतिहाइका लागि सहमति नै चाहिन्छ, त्यसको विकल्प छैन । अर्को त्यसमै जोडिएको विषय लोकतन्त्र हो, जसका लागि कांग्रेसले ६५ वर्षदेखि लडिरहेको छ । अहिले पनि लोकतन्त्र र प्रजातन्त्र ओझेलमा पर्ने सम्भावना देखिएको छ । माओवादी उग्रवामपन्थीको रूपमा देखापरेको छ । उनीहरूले बहुलवाद, लोकतन्त्र र प्रजातन्त्र मानेनन् भने कांग्रेसले फेरि पनि संघर्ष गर्नुपर्छ ।

बाटो क–कसले कहाँनिर बिराए ?

बाटो दुई–तीनवटा कुरामा बिराइएको छ । २०४८ देखि ५१ सालसम्म कांग्रेसले र त्यो बेलाको सरकारले जति काम गरे, नेपालको इतिहासमा यति धेरै काम गरेको समय बिरलै पाइन्छ । नीतिगत कुरा गर्ने हो भने ०१५ सालपछि १८ महिनामै बीपी कोइरालाले परिवर्तन ल्याइदिनुभयो, त्यो पनि एउटा पक्ष थियो । ०४८ देखि ०५१ सम्म धेरै परिवर्तन भएको छ । त्यो बेला अर्थतन्त्र निकै राम्रो भएको थियो । भारतले पनि गर्न नसकेको काम त्यतिबेला नेपालमा भएको थियो । ०५१ सालसम्मको राजनीति निकै राम्रो भयो । हामी समाजवादी भएकाले साँच्चिकै हामी समाजवादी आधारमा गरिब, किसान, पिछडिएका वर्गलाई सम्बोधन गर्न सक्यौं त ? त्यतिबेला हामी चुकेकै हो । जब ०५२ सालमा माओवादीले बन्दुक उठाए, त्यतिबेला सरकारले नभई जनताले प्रतिकार गर्नुपर्ने थियो तर गरेनन् । त्यसपछि एकपछि अर्को गर्दै कांग्रेसमा भ्रष्टाचार कुरा उठे । हामी समाजवादी पार्टी भएकाले पनि त्यस्ता कुराहरूमा बाटो बिरायौं । हाम्रो आचरण पनि समाजवादी किसिमको हुनुपथ्र्यो, बजेट वितरण त्यही अनुसार हुनुपथ्र्यो । हामीले सबैलाई समेट्न सक्नुपथ्र्यो । हामीले बाटो नबिराएको भए माओवादीले बन्दुक उठाउँदा गाउँ–गाउँमा प्रतिकार हुन्थ्यो । त्यो हामीले गर्न सकेनौं । ०५२ सालमा किन माओवादी उत्पन्न भयो भन्ने अर्को प्रश्न छ । त्यतिबेला हाम्रो आर्थिक अवस्था निकै राम्रो थियो । त्यसैले प्रजातन्त्र र लोकतन्त्रको विरोधका लागि माओवादीलाई जन्माइएको हो । उनीहरू आफैं जन्मिएका होइनन् । उनीहरूको इतिहासले पनि त्यही भन्छ । अहिले पनि हामी अर्को अतिवादी जन्मिन्छ कि भन्ने त्रासमा छौं । जेठ १४ मा म्याद नथपकेको भए भोलिपल्ट कमल थापाहरूको ठूलो सागर आउने थियो । धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा अहिले पनि मान्छेहरू प्रश्न गर्छन् । शान्ति–प्रक्रिया छाड्ने हो भने गाँठो फुस्किन्छ तर त्यसलाई समात्यौं भने तीन महिनामा संविधान जनतालाई दिन सकिन्छ ।

माओवादीलाई रोक्न नसक्नु, गणतन्त्र र धर्मनिरपेक्षतामा जानुनै इतिहासका गल्ती हुन् र ?

गल्ती होइन, परिस्थिति नै त्यस्तै थियो । राजतन्त्रको कुरा आयो । त्यतिबेला म पनि राजतन्त्रमा विश्वास गर्थें । २ सय ४० वर्षको इतिहास पनि थियो । तर दुर्भाग्य राजाले कदम चालेपछि कांग्रेसले पनि गणतन्त्रको बाटो लिनुप¥यो । बीपी कोइरालाले मेलमिलापको नीति ल्याउँदा पनि स्पष्ट रूपमा भन्नुभएको छ, “लोकतन्त्र र प्रजातन्त्रको कुरा हो भने म राजाको विरोध गर्छु । राष्ट्रियताको कुरामा म र ऊ एउटै ठाउँमा छौं ।” राजा राष्ट्रियताको पक्षमा थिए । त्यो बेला राजाले चालेको कदम लोकतन्त्रको विरोधमा थियो । आफ्नै कारणले २ सय ४० वर्षको इतिहास गुमेर गयो । फेरि पनि ३ करोड नेपाली जनताले राजसंस्था चाहिन्छ भनेमा लोकतन्त्रमा विश्वास गर्नेले त्यसलाई स्वीकार गर्नैपर्छ । एकताको राजनीति नै हाम्रो र प्रजातन्त्रका लागि उपयुक्त हो ।

एकताको राजनीति कहाँबाट टुटेको छ ?

एकताको राजनीति पहिले माओवादीबाट टुटेको छ । १२ बुँदेदेखिका सहमति कार्यान्वयन गर्न सकेनन् । सडकमा त्यत्रो आन्दोलन भयो । माओवादी नेताहरूले क्याम्पसहरूलाई ब्यारेकमा परिणत गर्नुपर्छ भन्छन् । यस्ता कुराहरूले राजनीति हुँदैन । आवेशमा आएर राजनीति हुँदैन । अहिले गिरिजाप्रसाद कोइरालाको ठाउँमा प्रचण्ड हुनुपर्ने थियो । उहाँले म नै सबै कुरा हो भन्ने ठान्नुभयो । हाम्रै कम्युनिजम लाद्छौं भनेर यहाँ अहिले चल्छ ? नेपाल धर्म मान्ने ठाउँ हो, यहाँ कहीँ साम्यवाद चल्छ ?

लोकतन्त्र र साम्यवादबीचको द्वन्द्वका कारण मुलुकमा अस्थितरता छाएको हो त ?

माओवादीले १२ बुँदेदेखिका सहमति कार्यान्वयन नगरी अघि बढ्ने उपाय नै छैन । उनीहरूको पनि भविष्य शान्ति–प्रक्रिया नै हो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन । हामी डेमोक्र्याट्सहरू कति अप्ठेरोमा हुन्छौं भन्ने एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । एकजना विद्वान पण्डित बनारसको गंगामा स्नान गर्दै थिए । सूर्योदय हुँदै थियो । जल अर्पण गर्ने बेलामा बिच्छी पानीमा देखे । उनले आफ्नो अञ्जुलीले त्यो बिच्छीलाई सिँढीमा फाल्ने प्रयास गरे । त्यो बिच्छीले विद्वानलाई डस्यो । उनी आत्तिएर त्यसलाई फेरि पानीमा फाले । फेरि उनले प्रयास गरे । तेस्रो पटक प्रयास गरेपछि बिच्छीलाई पण्डितले बचाइदिए । एकजना नजिकै बसेर हेरिरहेको थियो र उसले भन्यो किन तपाईंले यसलाई बचाउँदै हुनुहुन्छ ? यसले डस्छ र डस्यो भने मरिन्छ भनेर जान्दा जान्दै प्रयास गरेर किन बचाउनुहुन्छ भनेर सोध्दा विद्वानले भने, “यो मेरो चरित्र हो । मैले बचाउनैपर्छ । त्यसको चरित्र डस्ने नै हो ।” हामी प्रजातान्त्रिक भएर कसैलाई मार्न सक्दैनौं । अरूको कुरा सुन्नैपर्छ । हामीले पनि बन्दुक उठाउने हो भने मुलुकको अवस्था के हुन्छ ? कांग्रेस पनि सत्तामा गएपछि कहिले पनि प्रतिपक्षीमा बस्नुपर्छ भन्ने बुझेन । तर त्यो चरित्र हुनु हुन्थेन । कांग्रेस म जहिले पनि सत्तामा हुनुपर्छ भन्नेमा रह्यो । अनि धाँधली गरेर चुनाव जित्ने, भ्रष्टाचार गर्ने जस्ता काम भए । साँच्चिकै डेमोक्र्याट प्रतिपक्षीमा बस्न सदा तयार हुनुपर्छ । हामी पहिले नै विपक्षमा बस्नुपथ्र्यो । विपक्षमा बसेर पनि राम्रो काम गर्नुपर्छ । कांग्रेसले सत्तामा बसेर कहिले पनि त्यो कुरा बुझेन । अहिले पनि त्यही सत्ताका लागि मरिहत्ते गर्दैछ । जतिसुकै विष खानुपरे पनि हामी चरित्रमा रहनुपर्छ ।

२०४७ सालको संविधान नराम्रो होइन । त्यसमा दुईवटा कुराको मात्रै त्रुटि छ । एउटा हो– विकेन्द्रीकरणको नीति । बीपीले पहिले नै भन्नुभएको हो तर पनि हामीले कार्यान्वयन गर्न सकेनौं । विकेन्द्रीकरण अघि सारे पनि अधिकार दिइएन । कम्युनिस्टहरू अहिले पनि प्रतिगामी शक्तिहरूलाई चुनाव लड्न नदिने भन्छन् । उनीहरूको परिभाषाअनुसार जसले माओ, लेनिन, स्टालिनलाई विश्वास गर्दैनन्, उनीहरू प्रतिगामी हुन् । त्यो भनेर अहिले हुँदैन ।

बीपीको लाइन कांग्रेसले छाड्यो भन्ने टिप्पणी उठिरहन्छ नि, हो ?

होइन । कांग्रेसले बीपीको लाइन छाडेको छैन । अहिले पनि २०१४ सालको घोषणापत्रअनुसार नै चलेका छौं । सत्य कुरा के हो भने नेतृत्वमा बीपी जस्तो व्यक्ति भएनन् । बीपीजस्तो व्यक्ति भएको भए अहिले मुलुक अर्कै हुन्थ्यो । उहाँले १८ महिना मात्रै मुलुक चलाउनुभएको हो । अहिले पनि भूमिसुधारका नीतिहरू तिनै छन् ।

म आरक्षणको ठूलो विरोधी हुँ । त्यसको कारण पनि छ । मैले यो कुरा बीपीबाट सिकेको हुँ । बीपीले कहिले पनि आरक्षण गर्नुभएन । तर, उहाँको पालामा त्योभन्दा उत्कृष्ट समावेशीकरण कहिले पनि भएन । दिग्गज मान्छेलाई मन्त्री बनाउनुभएन । नेपालको इतिहासमा पहिलोपटक महिलालाई मन्त्री बनाउनुभयो । पार्टीमा परियारलाई महामन्त्री बनाउनुभयो । मन्त्रीहरू पनि कुनै वर्ग, जाति नछुटाई समावेशी थिए । जहाँ आरक्षण भनेर लेखिएको हुन्छ, त्यहाँ समस्या हुन्छ । आरक्षण सीमित व्यक्तिहरूमा रहन्छ । जसलाई आरक्षण चाहिँदैन, उसले पाइरहेको हुन्छ । आरक्षण सिमान्तकृतलाई चाहिने हो ।

कछाड लगाएको बाहुन पनि यही समाजमा छन् । कछाड लगाएको बाहुन भरिया छन् तिनीहरूलाई कहिले पनि आरक्षणको कुरा गरिँदैन । म साँचो लोकतन्त्रमा विश्वास गर्छु । सबैलाई अधिकार हुनुपर्छ ।

एउटा उदाहरण दिन्छु ः म, बुवा, आमा र बहिनी चेतना बनारसबाट पटना जाँदै थियौं । बीच बाटोमा आमाले चिया खान भन्नुभयो । अनि बाले बिहारको सशराम (जहाँ डोम, चमार बस्छन्) मा मेरो साथी पनि छ त्यहीं खाने भन्नुभयो । त्यो गरिबी र झुपडीको बीचमा एउटा आलिसान घर थियो । १० बिघाको जग्गाभित्र पर्खालले घेरेको घर थियो । तपार्इंले मेरो साथी भन्नुहुन्थ्यो तर तपाईंको साथी यति धनी कसरी भनेर बालाई आमाले सोध्नुभयो । अनि बाले जवाफ दिनुभयो, “यो जगजीवन राम हो । उनी भारतका रक्षामन्त्री हुन् उनी प्रधानमन्त्रीका पनि प्रमुख दावेदार हुन् ।” आमाले फेरि सोध्नुभयो, “यो चमार÷डोम होइन र ? यति ठूलो घर छ । अनि वरिपरि सबै झुपडी छन् तिनै डोम÷चमारका । बीचमा कसरी एउटा ठूलो घर भयो ?”

५० वर्षपछि अहिले पनि त्यो ठाउँमा त्यही आलिसान घर छ, ती झुपडी पनि त्यस्तै छन् । उनकी छोरी भारतको उपसभामुख भएकी छन् किनभने उनले आरक्षण पाएकी थिइन् । तर, त्यो समाजले केही पाएन । डोम÷चमारको नाममा उनी त्यहाँ पुगिन्, समाज जहाँको त्यही छ । आरक्षण अवसरका लागि हुन्छ, पदका लागि हुँदैन । डेमोक्रेसिको ब्युटी सबै स्वतन्त्र हुन् । सबै बराबर हुन् । आरक्षण सिमान्तकृत व्यक्तिलाई चाहिन्छ तर पदका लागि होइन, अवसरका लागि हो । यस्ता विषयमा बीपी जस्तो नेतृत्व भएको भए अर्कै हुन्थ्यो । हुन त कांग्रेसमा पनि अहिले गगन थापा, बद्री पाण्डे, विश्वप्रकाश शर्माजस्ता युवा नेताहरू छन्, जसले दृष्टि दिन सक्छन् । कांग्रेसको भविष्य राम्रै छ ।

भदौ १४ पनि शान्ति–प्रक्रिया टुंगो लागेन भने त्यसको विकल्प के हुन सक्छ ?

कांग्रेसको एउटै मुद्दा हो, त्यो हो शान्ति–प्रक्रिया । माओवादी लडाकुको समायोजन, व्यवस्थापन हुनैप¥यो । माओवादी मूल धारमा आउनैप¥यो । राजनीतिक दलको आधारमा बहुलवादको आधारमा उनीहरूले राजनीति गर्नुप¥यो । त्यो भयो भने भदौ १४ मा पनि शान्ति–प्रक्रिया टुंगो लागेर संविधान लेख्न सकिन्छ । कांग्रेसको डर अब अतिवादी नजन्मियोस् भन्ने हो । एउटा अतिवादी आयो भने ३० वर्ष फेरि लड्नुपर्छ । संविधान तीन वर्षपछि आए पनि हुन्छ । अहिले नेपालको धेरै अन्तराष्ट्रियकरण भएको छ । एक कल फोनमा एउटा मुलुकले ५० करोड रुपैयाँ पठाउँछ । अर्कातिर सबैभन्दा ठूलो दल माओवादीलाई सरकारमा जान नदिन अर्को देशले प्रयास गर्छ । त्यसैले, राष्ट्रियता नबुझी राजनीति हुँदैन ।

यहाँको पार्टी (कांग्रेस) भित्र संसदीय दलको नेता परिवर्तनको चर्चा निकै आइरहेको छ । परिवर्तनको तयारी भएकै हो ?

अहिले संसदीय दलको नेता रामचन्द्र पौडेल नै हुनुहुन्छ । तीनैजना मिलेर प्रस्ताव गरेमा कसैले अस्वीकार गर्दैन । अहिले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने आवश्यकता म देख्दिन । तर सबै दलहरू मिलेर शेरबहादुर जी नै हुनुपर्छ, माओवादीसहित मधेसी दलले हामी स्वीकार गर्छौं भनेमा र कांग्रेस केन्द्रीय समिति तथा संसदीय दलले निर्णय गर्छ भने अति उत्तम हुन्छ । यो मुद्दामा प्रवेश गर्दा कांग्रेस कमजोर भएर जान्छ । कांग्रेस कमजोर भए अरूले फाइदा लिन्छन् । कांग्रेसको मुख्य जिम्मेवारी यतिबेला छ । यस्तो बेलामा हामीले फितलो कुरा गर्नुहुँदैन ।

उपसभापति र महामन्त्रीको प्रस्ताव पारित गर्ने बेलामा सभापति सुशील कोइरालाले देउवालाई संसदीय दलको नेता बनाउँछु भन्नुभएको हो ? त्यतिबेलाको वार्तामा तपाईंको सहभागिता थियो रे नि त !

अर्कै मिटिङ भएको भए मलाई थाहा छैन । म पनि सहभागी मिटिङमा सभापतिले त्यस्तो भन्नुभएको होइन । सभापतिले “शेरबहादुर जी, तपाईंले सबैतिरबाट समर्थन पाउन सक्नुहुन्छ भने मेरो विरोध हुँदैन । म आफू प्रधानमन्त्री हुने होइन तर हाम्रो पार्टी र बाहिर पनि सहमति गर्न सक्नुपर्छ,” भन्नुभएको हो । कुरा यत्तिमात्र हो ।

अब सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी गर्छ कि गर्दैन ?

कांग्रेसको सरकारको नेतृत्वका लागि दाबी गर्छ तर हाम्रो मुख्य एजेन्डा सरकार होइन । शान्ति–प्रक्रिया नै हो । कांग्रेसले नेतृत्व पाएमा शान्ति र संविधानको कार्यभार पनि पूरा हुन्छ ।

१७ जुलाई २०११मा कारोबार् दैनिक् मा प्रकासित्.

Saturday, July 16, 2011

तरुणवर्गलाई बी. पी. कोइरालाको सन्देश

आजको जागरण बेलामा नेपाली समाजलाई चाहिने ऊर्जा र उत्साह केवल तरुणहरूले प्रदान गर्न सक्छन्। इतिहासको रथ तरुणहरूले तान्नु परेको छ। सैकडौँ वर्षदेखि नेपाली समाज इतिहासको राजपथका उपर गतिहीन भई थामिएर अडिरहेको थियो। आज बल्ल हाम्रो समाजमा २००७ सालको क्रान्तिको परिणामको सच्चा स्वरूप देखापरेको छ। यस सङ्क्रमण कालमा तरुणहरूको दायित्व सर्वाधिक छ। यदि तरुणहरू आफ्नो ऐतिहासिक दायित्वका प्रति उदासीन रहे या यस दायित्वलाई बुझेनन् या तदनुरूप सक्रिय भएनन् भने जागरणको उत्साह सेलाएर जानेछ, आजको सुप्रभात एउटा मिथ्या आलोक प्रमाणित हुनेछ र नेपाल सम्भवत: सदाका लागि पछि परेको परेकै रहने छ। यदि नेपाली जातिको आफ्नो विशेष नियति छ भने त्यसको निर्माण वर्तमान तरुणवर्गले मात्र गर्नसक्छ। यो गम्भीर एवं घोर सत्यलाई बुझेर नै तरुणहरूले हृदयङ्गम गर्नुपरेको छ। यस गम्भीर सत्यलाई बुझेर पनि तरुणहरूका प्रति म अभिमुख भएको छु। यस कारणले नै म तरुणहरूका प्रति आस्था राख्न प्रेरित भएको छु। मैले उनीहरूबाट आशा र भरोसा राखेको कारण पनि यही नै हो। मैले तरुणका प्रति आस्था राख्न छाडेँ भने नेपालको नियतिका प्रति पनि मैले आस्था त्याग्नु पर्छ।

प्रत्येक ऐतिहासिक कालका आफ्ना विशिष्ट समस्या तथा आदर्श हुन्छन् र ती समस्याको निराकरण गर्नसक्ने तत्व पनि त्यहीँ विद्यमान रहन्छन्—जुन तत्वले तात्कालिक समस्याहरूको समाधान गरेर निर्धारित आदर्शतिर समाजलाई अग्रसर तुल्याउँछ। मेरो विचारमा नेपालको वर्तमान ऐतिहासिक आदर्श प्रजातन्त्रको स्थापना हो र यसको मुख्य समस्या—प्रजातन्त्रको स्थापना कसरी गर्ने ? तरुणवर्ग हाम्रो समाजको त्यस्तो प्रभावयुक्त माध्यम हो जसद्वारा वर्तमान ऐतिहासिक आदर्शको प्राप्ति नेपाली जातिले गर्नसक्तछ। अर्थात् प्रजातन्त्रको स्थापनाको मुख्य जिम्मेदारी तरुणवर्गका उपर छ। नेपाली समाज जुन ऐतिहासिक कालमा अहिले अडेको छ त्यसमा प्रजातन्त्रभन्दा भिन्न अर्को कुनै आदर्श छैन।

नेपालका तरुणहरूले आजको आफ्नो दायित्व पूरा गर्न कटिबध्द हुनुपरेको छ। समाजका अरू तत्व र वर्गभन्दा बढी तरुणवर्गमा आदर्श भावना, नैतिकता, प्रजातान्त्रिक अनुशासनबध्दता, त्याग, सक्रियता, निर्भिकताको आवश्यकता छ, किनभने तरुणवर्गले नै क्रान्तिको शक्ति प्रदान गर्नुपर्छ र त्यसको परिपक्व नेतृत्व दिनसक्ने क्षमता राख्नु पर्छ। त्यसो हुनाले म प्रजातन्त्र पक्षको सबैभन्दा सक्षम पार्टी नेपाली कांग्रेसमा जसले देशका सर्वसाधारणमा आप्नाप्रति अटुट विश्वास जमाएको छ, तरुणहरूको बाहुल्य भएको देख्नचाहन्छु।

तपाईँहरूले मसँग सन्देश माग्नु भएको छ। तरुणलाई मेरो सन्देश छ—उत्साही हौ तरुण, तिमीले आँट्न सक्ने कुरा तिमी गर्नसक्छौ।


( तरुण के चाहन्छ ?, वाराणसी: तरुण प्रकाशन, संवत् २०३५), पृष्ठ १३-१४)

बीपी कोइराला संगको अन्तर्वार्ता

२०६६ आश्विन १८ - यो अन्तर्वार्ता नेहरू स्मारक पुस्तकालय तथा सङ्ग्रहालयको मौखिक इतिहास विभागका लागि डा. हरिदेव शर्माले बीपीसाग १९७६ फेब्रुवरी २६ र २७ मा लिएका हुन् । उक्त पुस्तकालयबाट पदमबहादुर थापाले प्राप्त गरेको उक्त अन्तर्वार्ता कांग्रेस नेता प्रदीप गिरीले अनुवाद गरेका हुन् । अन्तर्राष्ट्रिय अहिंसा दिवस एवं १ सय ४० औं गान्धी जयन्तीको अवसरमा उक्त अप्रकाशित अन्तर्वार्ताको एक अंश प्रस्तुत गरिएको छ ।

तपाईंको प्रारम्भिक राजनीतिक संलग्नता के थियो ?

सन् १९२१ मा धेरै सानो थिएँ । म सात वर्षको थिएँ होला । तर, त्यस समयका दुईवटा ठूला घटनाको मलाई सम्झना छ । एउटा, बनारसमा बेलायती राजकुमारको भ्रमणको अवज्ञा भएको घटना थियो । त्यहाँ पूरै हडताल भएको थियो । कांग्रेसले त्यो हडतालको आह्वान गरेको थियो । तसर्थ, त्यस दिन पूरै सहर मरेजस्तै सुनसान थियो । अनि, अत्यन्त कौतूहल लागेर मैले झ्याल खोलेर बाहिर हेर्न खोजें । तर मलाई रोकियो । हडताललाई भावनाबाटै हेर्नुपर्छ भनियो । झ्यालहरू बन्द थिए । त्यस दिन बनारस सहर पूरै सुनसान थियो । हरेक साँझ नगरको सभागृहअगाडि विदेशी लुगा जलाइँदा अर्को छाप परेको थियो । उनीहरू अङ्ग्रेज मान्छेजस्तो देखिने छत्रेटोपी लगाएको पुत्ला बनाउँथे र विदेशी कपडा निकालेर त्यसैका साथमा जलाउँथे । हाम्रो परिवारका महिला सदस्यहरू आफ्ना राम्रा लुगाहरू त्यहाँ लगेर जलाउन इच्छुक थिएनन् । त्यसैले यस सम्बन्धमा घरमा बहस चल्थ्यो । तर अन्त्यमा त्यसका लागि सबैजना सहमत भएका थिए । गान्धीजीले एक करोड रुपैयाँको कोष जुटाउन आह्वान गर्नुभएको थियो । मलाई सम्झना छ, हाम्रो घरमा आमा र मेरा नातागोतासँग थोरै मात्र गहना थिए । तर उहाँहरू कोष जम्मा गर्दै सडकमा आएका मानिसतर्फ आफ्ना गहना फ्याँक्दै हुनुहुन्थ्यो । कोष जम्मा गर्न एउटा फराकिलो खास्टो सडकमा फैलाइएको थियो । अनि, मानिसहरू आफूसँग जे-जे छ, पैसा, गहना त्यसमाथि फ्याँक्थे । यो मेरो सम्झनामा रहेको अर्को घटना हो । अनि, जतासुकै खुला सभा हुने गर्थे । त्यस समय नगरको सभागृहमा माइक थिएन । स्पिकरबाट धेरै चर्को आवाज आउँथ्यो । म गान्धीजीको प्रवचन पनि अझै सम्झन्छु ।



उहाँ धेरै बिस्तारो तर प्रभावकारी रूपमा बोल्नुहुन्थ्यो । मानिसहरूले उहाँको भनाइ धेरै टाढाबाट राम्ररी सुन्न सक्थे । शिवप्रसाद गुप्ता ठूलो आवाजका साथ गर्जन्थे । मलाई याद छैन, सायद शौकत अली र महम्मद अली पनि त्यसरी नै गर्जन्थे होला ।



तपाईं नेपालको भएर पनि भारतको स्वतन्त्रताका लागि लड्न किन इच्छुक हुनुभयो ?

त्यसका दुई कारण थिए । पहिलो, हामी नेपालबाट निष्कासित भएका थियौं । हाम्रा लागि नेपालमा बस्न अप्ठ्यारो भएपछि भारत आउनुपर्‍यो । भारतको बनारस र बिहारमा रहँदा क्रान्तिकारी आन्दोलनका मानिसको सम्पर्कमा आयौं । हाम्रो सुरुवात यसरी भयो । अनि, जबसम्म भारतले स्वतन्त्रता प्राप्त गर्दैन, तबसम्म नेपाली प्रणालीको प्रजातान्त्रिकीकरण सम्भव छैन भन्ने निष्कर्षमा पुग्यौं । मैले सन् १९४४ मा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गर्दा पनि एउटा नारा 'भारतको स्वतन्त्रता प्राप्त नगरी नेपालमा प्रजातान्त्रिक आन्दोलन सम्भव छैन' भनेको नै थिएँ । त्यस समय नेपालको सत्तामा सुधार गर्न, सत्तालाई नरम र प्रजातान्त्रिकीकरण गर्नबाट रोकिराखेको त्यही शक्तिले भारतलाई पनि आफ्नो अधीनमा राखेको थियो । तसर्थ, हाम्रो दृष्टिमा नेपालको प्रजातन्त्रको लडाइँ र भारतको स्वतन्त्रताको लडाइँ एउटा सिक्काका दुई पाटा थिए । आजसम्म यस सम्बन्धमा हाम्रो पार्टीमा छलफल हुने गर्छ । हामीले सन् १९४७ मा पार्टी खोल्दा मैले त्यसो भनेको थिएँ र अहिलेसम्म पनि मेरो निष्कर्ष त्यही छ । तिनताका भारतीय स्वतन्त्रतालाई हाम्रो आन्दोलनको पूर्वसर्तको रूपमा हामीले लिएका थियौं । तपाईं युवा विद्यार्थी हुँदा कम्युनिस्टको प्रभावमा पर्नुभयो ।



अनि, किन कम्युनिस्ट पार्टीमा चाहिँ प्रवेश गर्नुभएन त ?

उनीहरू तुरुन्तै सदस्यता दिँदैनथे । कम्युनिस्टले परीक्षणकालमा राखेर मात्र सदस्यता दिन्छन् । यो तीसको दशकको सुरुको कुरो हो । त्यससमय कहिले म परिवारका साथमा रहन्थेँ, कहिले बाहिर रहन्थेँ । भारतमा स्वतन्त्रताका लागि ठूलो आन्दोलन चलिरहेको थियो । कम्युनिस्ट आन्दोलन बेसुरको थियो । मेरो परिवार कांग्रेसमा रहेकाले भावनात्मक रूपमा कम्युनिस्टसँग तालमेल मिलाउन पनि म सक्दिनथेँ । हामी गान्धीजीको भूमिकाका बारे छलफल गथ्र्यौं । मेरा पिताले गया सम्मेलनमा भाग लिइसक्नुभएको थियो । त्यहाँ यथास्थितिवादी, परिवर्तनका हिमायतीलगायतका विषयमा छलफल भएको थियो । त्यस सम्बन्धमा त देशबाहिर र भित्र होइन, स्कुल र कलेजमा समेत छलफल भएको थियो । तसर्थ, म पनि राष्ट्रिय सरोकारको सामान्य चासोबाट मुक्त रहन सकिनँ । त्यो कम्युनिस्ट आन्दोलनमा चाख राख्न थालेपछिको कुरो हो । मेरो राजनीतिक चिन्तनलाई स्टालिन र ट्राटस्कीको लडाइँले प्रभावित बनायो । म स्टालिनभन्दा धेरै बढी ट्राटस्कीतर्फ आकषिर्त भएँ । कम्युनिस्ट आन्दोलनमा मलाई आकृष्ट गर्ने व्यक्तिको नाम लिनुपर्‍यो भने म ट्राटस्कीकै नाम लिन सक्छु । उनी लेखाइ र व्यक्तित्वमा अभूतपूर्व व्यक्ति थिए । उनीभन्दा पछि लेनिन आउँछन् तर स्टालिन होइन । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएका समाचार आउँदा मलाई ठूलो चोट पुग्यो । तसर्थ, मैले त्यो कम्युनिस्ट पार्टी नै त्यागें । मैले पार्टी छोड्नुका दुई स्थानीय कारण पनि थिए । पहिलो, उनीहरूले आफूलाई राष्ट्रिय भावना वा आन्दोलनमा अनुकूल बनाउन सकेका थिएनन् । भारत स्वतन्त्र भएपछिको कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक कुरा पच्न सक्तछ तर त्यसबेला त्यसो गर्नु असम्भव थियो ।



तपाईंले कांग्रेस समाजवादी पार्टीमा लागेपछि वैचारिक सन्तुष्टि पाउनुभयो ?

हो, पाएँ । त्यसपछि नै मैले समाजवादी सिद्धान्तको ज्ञान पाएँ । र, त्यस पार्टीमा लाग्दा हाम्रो राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा भूमिका खेल्नबाट मैले वञ्चित हुनुपरेन । मलाई लाग्छ, मेरा लागि र धेरै व्यक्तिका लागि यही नै मुख्य आकर्षण थियो । हामीहरू राष्ट्रिय तरङ्गबाट अलग भएका थिएनौं । तसर्थ, यही कारणले म कांग्रेस समाजवादी पार्टीप्रति आकषिर्त थिएँ । यो एक त राष्ट्रिय आन्दोलनकै एउटा अङ्ग थियो । यो, त्यही समय माक्र्सवादी समाजवादी आन्दोलन नामको एउटा ठूलो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको अङ्ग पनि थियो । तसर्थ, यसले हामीलाई दोहोरो सन्तुष्टि प्रदान गर्‍यो । कम्युनिस्ट आन्दोलनबाट त्यो सम्भव थिएन । त्यसका दुई कारण थिए । पहिलो, त्यसले आफूलाई राष्ट्रिय भावनाबाट अलग्याएको थियो । दोस्रो, ट्राटस्की र स्टालिनको शक्तिको नाङ्गो लडाइँबाट यसको सिद्धान्तविहीनता उदाङ्गो भइसकेको थियो ।



तपाईं समाजवादी कांग्रेस पार्टीको ँसैद्धान्तिक धङधङी’ माक्र्सवाद नै थियो भन्न सक्नुहुन्छ ?

मेरो हकमा थिएन । समाजवादी आन्दोलनमा लागेका हामी अधिकांशमध्ये जयप्रकाश नारायण भने बढी माक्र्सवादी हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ ।



त्यसबेला त्यो पार्टी माक्र्सवादी-लेनिनवादी थियो ?माक्र्सवादी-लेनिनवादी भनेको के हो ?

पछिल्लो कालमा त्यतातर्फ केही झुकाव बढ्दै गएका कारण उनीहरूले यसलाई माक्र्सवादी-लेनिनवादी भन्न थालेका थिए । तर त्यससमय यो पार्टी माक्र्सवादी मात्र थियो । उनीहरू यसलाई लेनिनवादी भन्दैनथे । मलाई लाग्छ, माक्र्सवादी-लेनिनवादी भन्ने विशेषण भर्खरै उत्पन्न भएको हो, तिनताक यो विशेषण प्रचलनमा आइसकेको थिएन ।तपाईंलाई अहिले वर्षौंपछि जीवनको समग्र दृष्टिकोणमा माक्र्सवादको छाप परेको छजस्तो लाग्छ ?हो, केही हदसम्म छ । कसैले पनि समग्र सत्य बुझेको भने हुँदैन भन्ने मेरो धारणा छ । ठूला-ठूला विचारकले समेत सत्यको एउटा अंश मात्र देखेका छन् । ममाथि माक्र्सबाट ठूलो प्रभाव परेको छ । उनको तरिकाबाट आज पनि म प्रभावित छु । उनले आफ्नो निष्कर्षमा भनेजस्तो भने सधैं हुँदैन, तर उनी त्यस निष्कर्षमा कसरी पुग्छन् भन्ने प्रक्रिया महत्त्वपूर्ण कुरो हो । समाजको बन्दोबस्त र मनोविज्ञानमा आर्थिक अवस्थाले कसरी ठूलो असर पार्छ, क्रान्ति कसरी हुन्छ र समाजमा रहेका शक्तिहरू कसरी क्रान्तिमा एक हुन्छन् भन्ने उहाँको धारणा महत्त्वपूर्ण छ । इतिहासको आर्थिक प्रस्तुतीकरण मौलिक विचार थियो । इतिहास समग्र रूपमा आर्थिक विकासमा मात्र निर्भर रहन्छ भन्ने मलाई लाग्दैन । त्यस्तो भएको छैन । तर हामीले आर्थिक पक्षको मूल्याङ्कन गर्नैपर्छ ।

तर, मलाई लाग्छ, त्यो नै उहाँको एउटा मुख्य विश्वासमध्ये थियो ?

हो, त्यो सत्य हो । उहाँ हरेक वस्तुलाई मूलतः आर्थिक दृष्टिबाट हेर्नुहुन्थ्यो । निश्चय पनि अर्थतन्त्र इतिहासको उत्प्रेरक शक्ति हो । तर, कुनै एउटा कारणलाई औंल्याएर त्यसले मात्र इतिहासलाई अघि बढाउँछ भन्न तपाईं सक्नुहुन्न । यसअघि यस कारणलाई महत्त्व दिइएको थिएन । यसैले यो उहाँको मौलिक योगदान थियो । अनि, समाज एक रूपबाट अर्को रूपमा कसरी रूपान्तरण हुन्छ भन्ने सम्बन्धमा उहाँको क्रान्तिको विवेचना महत्त्वपूर्ण थियो । मलाई लाग्छ, सबै महान् विचारकमध्ये उहाँले मात्र समाजको गतिशीलताको महत्त्वलाई गहिरोसँग बुझ्नुभएको थियो । समाज गतिहीन हुँदैन, समाजभित्र निरन्तर रूपमा परिवर्तन आइरहेको हुन्छ । र, अन्ततः उसको परिमाणात्मक परिवर्तन गुणात्मक परिवर्तनमा रूपान्तरित हुन्छ । मलाई लाग्छ, उहाँले यो कुरो धेरै प्रस्टसँग बताउनुका अरू दुई कारण थिए । त्यस सम्बन्धमा मैले पनि लेखेको छु । उहाँले क्रान्तिमा भाग लिएर आफ्नो अवधारणालाई वास्तविक राजनीतिमा समेत प्रयोग गर्न खोज्नुभयो । । तसर्थ, उहाँको लेखनमा धेरै स्पष्टता र प्रभावकारिता छ ।



गान्धीले कुन प्रकारबाट तपाईंलाई प्रभावित बनाउनुभएको थियो ?

म कार्लमाक्र्ससँग गान्धीको तुलना गर्दिनँ । माक्र्स आफैंमा एउटा विशिष्ट कोटिमा हुनुहुन्थ्यो । त्यस्तै, गान्धी पनि एउटा अर्को विशिष्ट कोटिमा हुनुहुन्थ्यो । तर, बीसौं शताब्दीका राजनीतिक विचारकमध्ये गान्धीजी नै सबैभन्दा बढी मौलिक विचारक हुनुहुन्थ्यो । मलाई लाग्छ, यसबेला माक्र्सभन्दा पनि बढी सान्दर्भिक गान्धी हुनुहुन्छ । गान्धीवाद कसरी असफल भयो भन्ने सन्दर्भमा केही वर्षपहिले मैले एउटा प्रवचन दिएको थिएँ । मैले त्यसमा गान्धीवादको आलोचना गरेको थिएँ । तर मैले क्रमशः गान्धीसँग एउटा नितान्त नौलो सोच रहेछ भन्ने बोध गर्दै गएँ । उहाँको सोच लेनिनको भन्दा पनि महान् थियो । अरू कुनै क्रान्तिकारीको भन्दा महान् सोच थियो, त्यो । मैले माओका सन्दर्भमा धेरै पढेको छैन । म उनलाई पनि उच्च्ाकोटिमा राख्छु । तर, मलाई थाहा नभएकाले उनको मूल्याङ्कनचाहिँ गर्न सक्तिनँ । गान्धीजीको धेरै आलोचना भए । प्रारम्भका ती आलोचकमध्येका जयप्रकाश आफैं पनि प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । अब, गान्धीको मृत्युपश्चात्चाहिँ उहाँले दिनुभएको विचार र त्यसलाई व्यवहारमा प्रयोग गर्नुभएको प्रक्रियालाई जयप्रकाशजस्ता आलोचकहरूले पछ्याइरहेका छन् ।



अब, तपाईंको आफ्नै सन्दर्भमा माक्र्सवादबाट गान्धीवादमा परिवर्तन हुन कसरी सम्भव भयो ?

त्यसो होइन । मैले आज पनि माक्र्सवादलाई पूरा त त्यागेकै छैन । माक्र्सवादमा मेरो विचारका धेरै महत्त्वपूर्ण तत्त्व छन् । म माक्र्सवादलाई पूरै त्याग्न सक्तिनँ । तपाईले गान्धीजीलाई भेट्नुभएको थियो । कोसित जानुभयो भेट्न ?हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर लोहियाजीले थाहा पाउानुभएको रहेछ । अनि सन् १९४८ जनवरी २८ का दिन अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म उहाँको साथ लागेर गान्धीजीलाई भेट्न गएको थिएँ । उहाँले गान्धीजीसित मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ । उहाँले के भन्नुभएको थियो ?गान्धीजीले भन्नुभएको थियो, 'म तपाईंलाई सहयोग गर्न सक्दिनँ ।, जब आफ्नै मानिसले भारतमा मेरो कुरा सुन्दैनन् भने राणाले सुन्लान् भन्ने आशा कसरी गरौं, म कुनै सहयोग गर्न सक्तिनँ'- उहाँका शब्दहरू यस्ता थिए । उहाँ धेरै निराश अवस्थामा हुनुहुन्थ्यो । अनि, मैले उहाँलाई भनको थिएँ, 'म तपाईंकहाँ कुनै ठूलो सहयोगको आशा लिएर आएको होइन, म त तपाईंको नैतिक समर्थन र आशीर्वाद चाहन्छु ।' अनि, उहाँले भन्नुभएको थियो, 'तपाईंलाई मेरो आशीर्वाद छ । जब मानिसहरूले आफ्नो अधिकारका लागि वा शोषण र दमनका विरुद्ध लड्छन्, म उनीहरूको साथमा हुन्छु ।' म दिनभरि नै त्यहाँ बसें । उहाँले कस्तो भोजन, कसरी गर्नुहुन्थ्यो भन्ने देखें । उहाँ दिउँसोको खाना खानासाथ त्यही ठाउँमा केहीबेर झकाउनुभएको थियो । उहाँ एउटा सानो तन्ना ओछ्याएर त्यही ठाउँमा सुत्नुभएको थियो । उहाँ उठ्नुहुँदा केही विदेशी पत्रकारहरू आइपुगेका थिए ।



गान्धीजीको सन्दर्भमा पुनः मूल्याङ्कन गर्न समयको कुन बिन्दुमा पुगेर, कसरी थाल्नुभयो ?

भर्खरै हो । मैले दुई-तीन कारणले गान्धीजीको पुनर्मूल्याङ्कन गर्न थालेको हुँ । पहिलो, भारत स्वतन्त्र भएपछि यसले पारेको नैतिक र आध्यात्मिक प्रभाव हो । तपाईं हामीलाई प्राप्त भएको आजको वातावरण गान्धीजीकै उपहार हो । राजेन्द्रप्रसाद, जवहारलाल नेहरू र अरू सबै, अर्थात् त्यो हराउँदै गएको पुस्ता गान्धीवादको प्रत्यक्ष अनुपालक र समर्थक थियो । तर, विश्वका अरू मुलुकका भन्दा भारतको राजनीति राम्रो छैन । यो अझ खराब छ ।



तसर्थ, यो गान्धीवादको असफलता हो त ? के, गान्धीवादले भारतीय राजनीतिमा कुनै नैतिक गुण दिएन ? तर, जब हामी विकल्प के थियो त भनेर सोच्न थाल्छौं, समाधान के हुनसक्छ भनेर सोच्न थाल्छौं, तब हामी माक्र्सवादतर्फ हेर्छौं । अनि, त्यसले पनि धेरै कारगर समाधान दिन सकेको पाउँदैनौं । दोस्रो, औद्योगिकीकरणले उत्पन्न गरेका समस्याले पनि गान्धीको विचारलाई अति सान्दर्भिक बनाएको छ । हाम्रा लागि र अतिविकसित राष्ट्रका लागि मात्र होइन, उहाँ सबै राष्ट्रका लागि सान्दर्भिक हुनुभएको हो । 'समाज कसरी सङ्गठित हुन्छ, यो कसरी विकेन्दि्रत हुन्छ, कसरी आवश्यकता पूरा गर्नुपर्छ, कसरी उद्योगको विकेन्द्रीकरण गर्न सकिन्छ, र सम्पत्ति नै सुख र खुसीको एक मात्र र अन्तिम वस्तु होइन' भन्ने देखाउन सक्ने अर्को कुनै विचार हामीसँग छैन । अहिले पश्चिमी जगत्ले औद्योगिकीकरणका कारण प्राकृतिक स्रोतको विनाश भएको, पारिस्थितिकी बिग्रेको, प्रदूषणलगायतका समस्या बढेको अनुभव गर्न थालेका छन् । यी समस्याहरू अहिलेसम्म भारतका लागि गम्भीर समस्या नभए पनि समस्या बढ्दै गएका छन् । सम्भवतः ऊर्जा र पेट्रोलियम पदार्थको अभावका कारण हामीले आफ्नो आर्थिक नीतिको पुनर्मूल्याङ्कन गर्न बाध्य हुनुपर्नेछ । हामी कस्तो किसिमको समाज निर्माण गर्न चाहन्छौं ? हामीसँग अमेरिकी नमुना मात्र छ । रूसले पनि अमेरिकी नमुना नै प्रयोग गरिरहेको छ । यसै वर्षभित्र अमेरिकाको स्तरमा पुग्छौं, उनीहरू भन्दै छन् । उनीहरू आफ्नो उत्पादनको स्तरलाई अमेरिकाको उत्पादन स्तरसाग तुलना गर्छन् । तसर्थ, विश्वमा अमेरिकी नमुना मात्र छ र जवहारलालजीले पनि त्यही नमुना अपनाए ।



के त्यो नै प्रशंसनीय नमुना हो त ?

अमेरिकाको विश्वको छ प्रतिशत जनसङ्ख्याले विश्वको साठी प्रतिशत प्राकृतिक स्रोतको उपयोग गरिरहेको छ । हामी त्यसको स्तरमा कहिल्यै उक्लन सक्दैनौं । त्यो सम्भव नै छैन ।



तपाईंले नेपाली कांग्रेसको स्थापना गर्न सहयोग लिनका लागि जयप्रकाश नारायण र राममनोहर लोहियालाई नै किन छान्नुभएको हो ?म अरू कोसँग जान सक्थें त ? यसको पहिलो कारण, म भारतको राष्ट्रिय आन्दोलनमा आबद्ध भइरहेको थिएँ । तसर्थ, म उहाँहरूसँग एउटै आन्दोलनमा थिएँ । हुन त, त्यतिखेर अरू राष्ट्रवादी नेताहरूसँग मेरो सम्पर्क थियो । तर उहाँहरूका आफ्नै सीमा थिए । उहाँहरू सरकारमा भएको हुँदा हामीलाई प्रत्यक्ष रूपमा सहयोग गर्न सम्भव थिएन । मैले जवाहरलाल नेहरूसँग आफ्ना समस्या लिएर मेरठ कांग्रेसमा पहिलोपल्ट भेट गर्दा उहाँको मप्रति पूर्ण सहानुभूति थियो । तर उहाँ त्यसबेला भाइसरायको 'कार्यपरिषद्' को उप-सभापति हुनुहुन्थ्यो । तसर्थ, उहाँबाट धेरै सहयोग प्राप्त हुने सम्भावना भएन ।उहाँले त्यसबेला के भन्नुभएको थियो ?उहाँले भन्नुभएको थियो, 'मेरो तपाइर्ंलाई पूर्ण सहानुभूति छ, तर सरकारमा भएका नाताले हामीले नेपाल सरकारसँग सरकारकै रूपमा व्यवहार गर्नुपर्छ । तसर्थ, हामी यस अवस्थामा बढी सहयोगी हुन सक्तैनाैं । तपाईंले आफ्नो आन्दोलन उठाएपछि, हामी तपाईंलाई सहयोग गर्न सकौंला ।' त्यतिखेर जयप्रकाश स्वतन्त्र हुनुहुन्थ्यो । मैले जयप्रकाशलाई लोहियाले पनि मलाई सहयोग गर्दै हुनुहुन्छ भन्ने जानकारी गराउँदा उहाँले भन्नुभयो- 'ठीक छ, लोहिया अनुभवी हुनुहुन्छ, तपाईंले उहाँको सहयोग लिनु उपयुक्त हुन्छ । मेरो सहयोगको खाँचो पर्दा तपाईं जतिखेर पनि मकहाँ आउन सक्नुहुन्छ ।'सङ्गठन निर्माणका क्रममा लोहियाले कस्तो भूमिका निर्वाह गर्नुभएको थियो ?सुरुमा उहाँले हामीलाई ठूलो सहयोग गर्नुभयो । हामी नेपालका अनुभवहीन मानिस थियौं । मैले भारतको आन्दोलनमा भाग लिइसकेका कारण म मात्र केही अनुभवी थिएँ । मलाई वक्तव्य निकाल्ने, जनतामा पुग्नेलगायतका सङ्गठनका तरिका थाहा थियो । तर अरूहरू भने धेरै कच्चा थिए । तसर्थ, लोहियाले हामीलाई के-कस्तो वक्तव्य कुन समय निकाल्नु उपयुक्त हुन्छ र कुन दृष्टिकोणबाट वक्तव्य निकाल्नुपर्छ भन्ने कुरा सिकाउनुभयो । उहाँले हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर थाहा पाउनुभएको रहेछ । अनि, सन् १९४८ जनवरी २८ का दिन, अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म लोहियाको साथमा लागेर गान्धीजीलाई भेट्न गएँ । उहाँले गान्धीजीसँग मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ ।लोहिया पनि साथसाथै हुनुहुन्थ्यो ?हो । हामी बिहान नौ बजेतिर बिड्ला भवन पुगेका थियौं र साँझ चार-पाँच बजेतिर मात्र फर्कियौं ।लोहिया पनि दिनभरि नै त्यहाँ बस्नुभयो ?लोहिया केहीबेरमा हिँड्नुभयो । मैले गान्धीजीलाई भेट्नुभन्दा अघिल्लो दिन उहाँले मलाई जवाहरलालजीसँग भेट गराउन पनि लैजानुभएको थियो । लोहिया भेट गर्न कहिल्यै पनि समय लिएर जानुहुन्नथ्यो । त्यस दिन पनि गान्धीजीकहाँ जस्तै एकाएक पुगेर उहाँ नेहरूको कोठामा पस्नुभयो । तर, नेहरूलाई हामीले भेट्न सकेनौं । उहाँ कार्यालयमा हुनुहुन्थ्यो, इन्दिराजीचाहिँ घरमै हुनुहुन्थ्यो । त्यतिखेर उहाँ तीनमूर्ति भवनमा सरिसक्नुभएको थिएन ।उहाँ मोतीलाल नेहरूमार्गमा बस्नुहुन्थ्यो ?होइन । त्यो मोतीलाल नेहरूमार्ग थिएन । त्यसको अर्को कुनै नाम थियो । हामी त्यहाँ पुग्दा दिउँसोको खाना खाने समय भएको थियो । खाना पनि तयार थियो । तर, जवाहरलालजीले आफ्नी छोरीसँग हाम्रो विषयमा फोनमा कुरा गर्नुभयो र आफू खाना खान नआउने बताउनुभयो । तसर्थ, मैले उहाँलाई भेट्न पाइनँ । लोहिया हाम्रो साथमा निरन्तर रूपमा रहनुहुन्थ्यो र हामीलाई प्रेरणा दिनुहुन्थ्यो । म र हाम्रो आन्दोलनका अरू नेतालाई मात्र होइन, सर्वसाधारणलाई पनि उहाँ पे्ररणा दिनुहुन्थ्यो । उहाँमा मानिसलाई आकषिर्त गर्ने अभूतपूर्व क्षमता थियो । तसर्थ, सुरुका दिनमा उहाँ हाम्रा लागि ठूलो सहयोगी हुनुभयो । त्यसपछि आन्दोलन सुरु भयो र म पक्राउ परें । यस सम्बन्धमा जवाहरजीलाई पनि सूचित गर्नुपर्छ भन्ने मेरा मानिसलाई लाग्यो । पक्कै पनि त्यसबेला लोहियाले नेहरूसँग मतभेद राख्न थालिसक्नुभएको थियो । विशेषगरी, जवाहरलालसँग लोहिया र अरू केही समाजवादीहरू टाढिनुभएको थियो ।त्यो कुन सालतिरको कुरो हो ?त्यो सन् १९४९-५० तिरको कुरो हो । म सन् १९४८ मा पक्राउ परें । जवाहरलालसँग सुषुप्त रूपमा भए पनि उहाँको ठूलै मतभेद थियो । मेरा अर्कै समस्या थिए । जवाहरलालजी पनि राष्ट्रिय आन्दोलनका हाम्रै नेता हुनुहुन्थ्यो । अझ, उहाँ त त्यसबेला प्रधानमन्त्रीसमेत बन्नुभएको थियो । तसर्थ, नेपालमा हुने कुनै पनि ठूलो आन्दोलनले भारतीय प्रधानमन्त्रीको सहयोग पाउन सक्नुपथ्र्यो । हामी जवाहरलालजीको पनि सहयोग चाहन्थ्यौं । त्यसका लागि जयप्रकाश नारायणलाई हामीले उपयोग गर्‍यौं । म नेपालमा भोकहडतालमा थिएँ । म मृत्युशय्यामा थिएँ । तसर्थ, मेरा आफन्तहरू जयप्रकाशजीकहाँ गए । मलाई मुक्त गर्न र मेरा माग पूरा गराउन नेपालका राणा प्रधानमन्त्रीलाई दबाब नदिने हो भने म मर्नेछु भन्ने उनीहरूलाई लागेको थियो । त्यसबेला जयप्रकाशजी गम्भीर दुर्घटनामा परेर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो । उहाँको हड्डी भाँच्चिएको थियो र ब्यान्डेज लगाएर अस्पतालमै बस्नुभएको थियो । तसर्थ, मेरी श्रीमती र केही साथीहरू जयप्रकाशजीलाई भेट्न पटनाको त्यही अस्पतालमा पुगे । उहाँले अस्पतालबाटै नेहरूलाई फोन गर्नुभयो । अनि, नेहरूले राणा प्रधानमन्त्रीलाई मेरा सम्बन्धमा टेलिग्राम पठाउनुभयोे । हाम्रा लागि त्यो घटना ठूलो नैतिक प्रोत्साहन थियो भने राणाहरूका लागि अपमान थियो । हामीमध्ये कसैलाई मार्न सक्दा आन्दोलनलाई दमन गर्न सकिनेछ भन्ने उनीहरूले सोचेका थिए । हाम्रो आन्दोलनप्रति चासो राख्नुहुँदा जवाहरलाल नेहरू अन्तर्राष्ट्रिय प्रतिष्ठाको शिखरमा हुनुहुन्थ्यो । उहाँ ती दिनमा विशेषगरी दोस्रो विश्वमा अत्यन्त प्रतिष्ठित हुनुहुन्थ्यो । लोहियालाई भने नेहरूसँगको राम्रो सम्पर्क मन परेको थिएन । मेरो रिहाइपछि त्यही विषयलाई उहाँले कलकत्तामा एउटा मुद्दा बनाउनुभयो । त्यसबेला मैले लोहियाजीलाई भनेको थिएँ- 'तपाईं गल्ती गर्दै हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । हामीले उहाँलाई जतिसुकै घृणा गरे पनि वा जतिसुकै मन नपराए पनि उहाँ प्रधानमन्त्री हुनुहुन्छ र हामीले उहाँबाट आफ्नो काम लिनुपर्ने हुन्छ ।' अनि उहाँले भन्नुभयो- 'हेर्नुहोस्, तपाईं उनको सहयोग लिन चाहनुहुन्छ भने तपाईंले मलाई दुरुपयोग गर्न थाल्नुपर्छ, लोहियाको दुरुपयोग गर्न थाल्नुपर्छ ।' मैले सोधें- 'किन ?' उहाँको जवाफ थियो- 'त्यसो गर्नुभयो भने मात्र उनी खुसी हुनेछन् । र, तपाईंलाई सहयोग गर्न उनी खुसीसाथ तयार हुनेछन् । जबसम्म तपाईं मसँग रहनुहुन्छ वा म तपाईंको आन्दोलनको पक्षमा हुन्छु, उनले सहयोग गर्नेछैनन् ।' मैले भनें- 'यो त अति भयो । जे भए पनि हाम्रो आन्दोलन स्वतन्त्र आन्दोलन हो । तपाईंहरूबीच भारतीय राजनीतिमा जस्तोसुकै मतभेद भए पनि म तपाईं र जवाहरजी दुवैको सहयोग चाहन्छु । म तपाईंलाई छोड्नुपर्ने सर्तमा जवाहरजीको सहयोग कदापि पनि लिन्नँ ।' यसबेला पनि अर्थात् आजको हिन्दुस्तानमा (१९७६ इसं) जयप्रकाश नारायणलाई लिएर त्यस्तै समस्या छ । जयप्रकाश नारायण र यहाँको संस्थापन पक्षबीच मतभेद छ भन्दैमा म त्यो मित्रतालाई कसरी त्याग्न सक्छु ? यसरी मसँग २००७ सालमा भने लोहियाको सन्दर्भमा केही समस्या उठे । अनि मैले भनें- 'लोहियाजी, तपाईं कति तल्लो स्तरबाट बोल्दै हुनुहुन्छ भन्ने तपाईंले बुझ्नु नै भएको छैन ।'म मन्त्री बनेपछि ममाथि लोहियाजी जमेरै खनिन थाल्नुभयो । सार्वजनिक सभामा समेत उहाँले ममाथि झूटो आक्षेप लगाउनुभयो । यसरी अन्ततः हामी एक-अर्काबाट टाढियौं । अनि, एउटा त्यस्तो बेला पनि आयो, हामीबीच बोलचालसमेत बन्द भयो ।मैले गृहमन्त्री हुँदा एकपल्ट दिल्लीको औपचारिक भ्रमण गरेको थिएँ । त्यतिबेला मैले ठानेको थिएँ- जे भयो भइगयो, अब उहाँसँग सम्बन्ध सुधार्नुपर्छ । उहाँ त्यसबेला बाह्रखम्बारोडमा आफ्ना साथीहरूका साथ बस्नुहुन्थ्यो । तसर्थ, म कुनै सूचना नदिई उहाँकहाँ पुगें । म गृहमन्त्री थिएँ । तर, उहाँले मलाई सद्भाव देखाउनुभएन । उहाँ आउनुभयो र मेरो साथमा रहेका व्यक्तिलाई भेट्नुभयो । तर मलाई बस्समेत भन्नुभएन । उहाँले मलाई कुनै ऐरे-गैरेजस्तो व्यवहार गर्नुभयो । त्यसपछि म उहाँकहाँ कहिल्यै गइनँ, उहाँलाई कहिल्यै भेटिनँ । तर जब उहाँ पटना वा बनारस आउनुहुन्थ्यो, त्यतिखेर मेरी श्रीमतीलाई बोलाउनुहुन्थ्यो, उनलाई कफी बनाउन र बाहिरफेर जान आग्रह गर्नुहुन्थ्यो । कलकत्तामा पनि मेरी श्रीमती वा परिवारका कुनै सदस्य त्यहीँ छन् भन्ने उहाँलाई जानकारी भयो भने उनीहरूलाई भेट्नुहुन्थ्यो ।तर, तपाईंलाई चाहिँ होइन ?वास्तवमा उहाँले मलाई चिन्नै छाड्नुभएको थियो । तर त्यस घटनाको केही समयपछि उहाँले मसँग भेट्ने एउटा प्रयत्न गर्नुभयो । तपाईं भोला चटर्जीलाई त चिन्नु नै हुन्छ । उनी उहाँकै चेला थिए । तसर्थ, जयप्रकाश र लोहियाको विवादमा उनी लोहियाको पक्षमा थिए । उनले मकहाँ आएर भने- 'लोहिया तपाईंसँग सम्बन्ध सुधार्न चाहनुहुन्छ, यस्तै-यस्तै ।' मैले भनें- 'बहुत राम्रो, म सम्बन्ध सुधार्न तयार छु । तर यसपटक उहाँ नै मेरोमा आउनुपर्छ, म उहाँकोमा जान्नँ । किनभने, मसँग तीतो अनुभव छ । यदि उहाँ मकहाँ आउनुहुन्न भने म पनि उहाँकहाँ जान्नँ ।' यो स्कुले केटाकेटीको झगडाजस्तो सानो कुरा थियो । उहाँ मकहाँ आउनुभएन र म पनि उहाँकहाँ गइनँ । उहाँ मार्बलहाउसमा बस्नुहुन्थ्यो । म भने जनरल सुवर्णशमशेरको साथमा बसेको थिएँ । पछि सन् १९६० मा म पक्राउ परे । उहाँले त्यतिबेला पनि मप्रति सहानुभूति राख्नुभएन । मैले सात वर्ष जेलमा बिताएपछि भने उहाँले एकाएक गल्ती स्वीकार गर्नुभयो रे । उहाँले आफ्ना कार्यकर्ता कर्पुरी ठाकुरलाई र अरूलाई भन्नुभएको थियो- 'हामीले गलत बुझेछौं । हामी उहाँलाई गलत बुझ्दै रहेछौं । ऊ लर्तरो मान्छे होइन रहेछ । उहाँ सात वर्षसम्म जेलमा बस्नुभयो र पनि विचलित हुनुभएको छैन । ऊ सानो मान्छे होइन । हामीले उहाँलाई सहयोग गर्नुपर्छ आदि ।' उहाँले समाजवादी पार्टीमा सर्कुलर जारी गरेर हामीलाई सहयोग गर्न र हाम्रा कामको प्रचार गर्न निर्देशन दिनुभयो । तर, म जेलमुक्त हुनुअगाडि नै उहाँ दिवंगत भइसक्नुभएको थियो ।