Wednesday, October 19, 2011

सहिद सरोज कोइरालालाई सम्झँदा

२००७ साल कात्तिक २६ गते एकतन्त्रीय राणाशासनको समाप्ति तथा प्रजातन्त्रको स्थापनाका लागि जनक्रान्ति आरम्भ भएको दिन युवा क्रान्तिकारी सरोज कोइराला तीन वर्षर्देखि जलेश्वर जेलमा हुनुहुन्थ्यो । जनक्रान्तिमा सम्मिलित हुन दृढप्रतिज्ञ उहाँले छठ पर्वको सन्ध्या अर्घको साँझमा अन्य पाँचजना साथीसमेत जेल फोडेर भाग्न सफल हुनु भई सशस्त्र क्रान्तिमा लाग्नुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक उज्ज्वल तारा सहिद सरोजप्रसाद कोइराला युवाका लागि सधैँ प्रेरणादायी व्यक्तित्व रहिरहनु हुनेछ । आफू र आफ्नो जहान परिवारभन्दा देश र प्रजातन्त्रलाई बढी माया गर्नुहुने उहाँ प्रजातान्त्रिक सङ्घर्षको क्रममा भारतको मधुवनीमा निर्वासित रहेकै बेला ३७ वर्ष पूर्व २०३० साल कात्तिक २ गतेको साँझ ६ बजेतिर उहाँको हत्या गरिएको थियो । भारतमा हत्या गरिए पनि हत्याराहरू तत्कालीन तानाशाही पञ्चायती सरकारद्वारा पठाएका डाँकाहरू थिए भने हत्याको अभियोगमा मधुवनी जिल्ला अदालतमा भारत सरकारद्वारा चलाइएको मुद्दामा तत्कालीन जनकपुर अञ्चलाधीश लीलाराज विष्ट जो पछि गृह राज्यमन्त्री पनि हुनुभएको थियो को संलग्नता बताइएको थियो । दुई देशको मामिला भएको र तत्कालीन सरकारकै संलग्नता रहेकाले उहाँ उपस्थित हुनु भएन र हालसम्म त्यो मुद्दा त्यसै अनिणिर्त अवस्थामा छ ।

सरोजप्रसाद कोइरालाको जन्म १९८६ साल भदौ १९ गते विराटनगरमा भएको थियो उहाँको प्रारम्भिक शिक्षा पिता भैरवप्रसाद कोइरालाको रेखदेखमा जनकपुरधाममा घरमै भए पनि त्यहाँ त्यसबेला विद्यालय नभएकाले पछि उहाँलाई बनारस पठाइएको थियो । उहाँ मेटि्रकको छात्र हुँदैमा भारतको कलकत्तामा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको बेला २००३ सालदेखि नै काँग्रेसको संस्थापक सदस्य रहनुभएकाले उहाँ एकतन्त्रीय राणाशासनबाट नेेपाललाई मुक्त गराउने आन्दोलनमा लाग्नुभयो । विराटनगरको मजदुुर आन्दोलनमा पक्राउ पर्नुभएका सरोज कोइराला केही सातापछि मुक्त हुनासाथ आफ्नो पुख्र्यौली मौजा रहेको महोत्तरीमा राणाविरोधी गतिविधि सञ्चालनमा लाग्नु भई सङ्गठन विस्तारतिर लाग्नुभएको थियो । भारतीय सिमाना भित्रको जयनगरमा रुद्रप्रसाद गिरी नेपाली काँग्रेसको कार्यालय सञ्चालन गरिसक्नु भएको र पं. रमाकान्त झा एकदशक पूर्व १९९२ सालदेखि नै राणाविरोधी राजनीतिक गतिविधिमा लागिसक्नु भएकाले सरोज कोइराला पं. झाका भतिजा दिगम्बर झा र बच्चा झा आदि तरुणलाई साथ लिएर महोत्तरीको गाउँ गाउँमा राति राति पुगेर गाउँले जनतामा जनचेतना जागृत गराउनु भएको परिणामस्वरूप नै २००४ सालको प्रथम सत्याग्रह आन्दोलन त्यहाँ निकै सफल भएको थियो ।

सत्याग्रह आन्दोलनपछि जनसङ्घर्षलाई बल पुर्‍याउन मातृकाप्रसाद कोइराला र बीपी कोइराला जयनगर पुग्नु भई जनउत्साह अभिवृद्धि गर्न नेपाल र भारत सिमाना नजिक भारतीय क्षेत्रको महिनाथपुर उमगाउँ र मधवापुरमा आयोजित जन सभाहरूमा सम्बोधन गर्नुभएको थियो । आमसभामा हजारौं नेपाली जनतालाई सम्बोधन गरिसकेपछि नेताहरूलाई मधवापुरबाट बैलगाडामा निकटस्थ भारतीय

रेल्वे स्टेसन पुपरी -जनकपुर रोड) पुर्‍याई र्फकंदा २००४ साल मङ्सिर ३ मा मटिहानीमा सरोजप्रसाद कोइराला, महेन्द्रनारायण निधि र नकुलबहादुर सिंह पक्राउ पर्नुभई महोत्तरीको जलेश्वर जेलमा राखिनुभयो । जेलमा सत्याग्रहको क्रममा पक्राउ परी अघिदेखि रहनुभएकामा सर्वश्री सरयुग चौधरी, लक्ष्मण साह, राम अशिष भगत, मिश्रीलाल गुप्ता, भीष्मजङ्ग केसी, मेघप्रसाद उपाध्याय, कवि नरेन्द्रदेव, दिगम्बर झा, बच्चा झा, बलबहादुर मगर आदि हुनुहुन्थ्यो । २००७ साल कात्तिक २६ गते वीरगञ्जमा सशस्त्र क्रान्ति आरम्भ हुनासाथ क्रान्तिकारी युवक सरोज कोइराला जलेश्वर जेलमा निकै छटपटीमा हुनुहुन्थ्यो र सशस्त्र क्रान्तिमा कसरी सम्मिलित भएर केही गर्न चाहनुहुन्थ्यो । जेलका राजबन्दीमा एकजना भारतीय स्वतन्त्रता सेनानी समाजवादी नेता कवि नरेन्द्रदेव पनि हुनुहुन्थ्यो र उहाँमाथि महोत्तरीमा राणाविरोधी भावना फैलाउने कार्यक्रम सञ्चालित गरेको आरोप थियो । उनै कवि नरेन्द्रदेवको सहयोगले जेल फोड्ने काम भयो र कात्तिक ३१ गते सम्पूर्ण मिथिलाञ्चलको महान् चाड छठपर्वको सन्ध्या अर्घ चढाइएको साँझ प्रहरीहरू प्रार्थनामा लागेको समयमा बिहानैदेखि बनाइएको कार्यक्रम अनुसार सरोज कोइराला, दिगम्बर झा र भीष्मजङ्ग केसीको एक टोली र सुन्दर झा शास्त्री, सुरेन्द्रबहादुर र बुद्धिप्रसाद शर्माको दोस्रो दल जेलबाट भागेको थियो । त्यस्तै भने गान्धीवादी विचारक पं. रमाकान्त झा, कवि नरेन्द्रदेव र कान नसुन्ने भएकाले नकुलबहादुर सिंह जेलमै थिए । सरोज कोइराला अन्य दुई साथीसँगै भारतीय सिमाना अन्तर्गतको सुरसण्ड पुग्नुभयो र त्यसपछि जयनगरबाट सशस्त्र क्रान्ति सञ्चालनमा लाग्नुभएको थियो । अर्को दल रक्सौल पुगेर पछि मधवापुरमा बसेर काम गर्‍यो । सशस्त्र क्रान्ति महोत्तरीमा सफल भएपछि बनाइएको प्रथम महोत्तरी जनसरकारमा रुद्रप्रसाद गिरि गभर्नर र पाँचजना मन्त्रीमध्ये सरोज कोइराला पनि मन्त्री हुनुहुन्थ्यो । २००७ साल फागुन ७ गते एकतन्त्रीय राणाशासनको समाप्ति र प्रजातन्त्रको स्थापनापछि युवक सरोज कोइराला सत्ताको राजनीतिमा नलागेर समाजिक कुरीतिको रूपमा रहेको बैठबेगारी तथा 'नौ सता' मोहीले खेतमा उत्पादन गरेको अनाजको १६ भागको नौ भाग भूमिपति र सात भाग बटाइदार मोहीले पाइरहेकालाईर् खत्तम गरी मोही र भूमिपति दुवैले आधा आधी भाग पाउने खडे बटैया आन्दोलन महोत्तरीमा चलाउनुभयो । त्यस आन्दोलनलाई सफल बनाउनमा किसान नेता रामबहादुर महतो उहाँको साथमा हनुमान जस्तै हुनुहुन्थ्यो । 'खडे बटैया' आन्दोलन अर्थात् मोहीलाई बराबरीको भाग दिलाउनमा उहाँ सफल हुनुभयो । फलस्वरूप महोत्तरीमा निकै पछिसम्म अर्थात् २०४८ सालको आम निर्वाचन र त्यसपछिको स्थानीय निर्वाचनसम्ममा पनि कम्युनिस्टहरू बन्न सकेनन् ।

खडे बटैया आन्दोलनले युवक

सरोज निकै लोकपि्रय हुनुभयो र २००९ सालमा उहाँ नेपाली काँग्रेसको महोत्तरी जिल्ला अध्यक्ष निर्वाचित हुनुभयो । त्यसबेला भएको नेपाली काँग्रेसको जनकपुर महाधिवेशनमा उहाँले आर्थिक सुधारसम्बन्धी प्रस्तावत गर्दै बिर्ता उन्मूलनको आवाज उठाउनुभयो ।

२०१५ सालको प्रथम आम निर्वाचनमा युवक सरोज पूर्वी महोत्तरीको खेश्राहा क्षेत्रबाट नेपाली काँग्रेसको उम्मेदवार हुनुभई अत्यधिक मतले विजयी हुनुभयो र संसद्मा बिर्ता उन्मूलन विधेयक पारित गराउनमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो । २०१७ सालको काँग्रेस महाधिवेशनपछिको केन्द्रीय समितिको सदस्य रहनुभएका सांसद सरोज, सांसद डा. नागेश्वरप्रसाद सिंहका साथ भदौमा तीन महिना लामो युरोप र अमेरिकी देशको भ्रमणमा जानुभई अनेक ठाउँमा नेपाललाईर् सम्पन्न बनाउने कुरा गरेर सन् १९६० नोभेम्बर २७ मा स्वदेश र्फकनुभएको थियो ।

२०१७ साल पुस १ गत संसद् विघटन हुँदा काठमाडौँमा पक्राउ परिसकेका युवक सरोज बडा बुद्धिमत्तापूर्वक राजधानीबाट पूर्वी पहाडको पैदल बाटो गरी भाग्न सफल हुनुभयो र आफ्नो निर्वाचन क्षेत्रको सिमाना पारि भारतीय क्षेत्रको जयनगरमा कष्टप्रद निर्वासित जीवन बिताउनुभयो । क्रान्तिकारी सरोज त्यहाँ पनि चुप बस्नुभएन र राजा महेन्द्रका जनकपुर भ्रमणकालमा बम प्रहार गर्ने योजना बनाउनुभएको थियो । २०१८ माघ ९ गते जनकपुरधाममा राजामाथि बम प्रहार त भयो तर त्यो सफल हुन सकेन । राजा बाँचे भने बम प्रहार गरेर पनि दुर्गानन्द झा पक्राउ पर्नुभएन ।

२०२५ जेठ २ गते नेपाली काँग्रेसको कार्यकारी अध्यक्ष

जनरल सुवर्ण शम्सेरको सहयोग प्रस्ताव अनुसार क्षमादान पछि उहाँ स्वदेश र्फकनुभयो र जनकपुरधामको आफ्नो निवासस्थान रहेको ब्रहृमपुरीमा युथ प|mेन्डस क्लबको सञ्चालन गराएर युवकहरूलाई सक्रिय गराउनुभयो । त्यसको केही महिनापछि जानकी चोकमा नवस्थापित राजा महेन्द्रको प्रतिमामा २०२६ फागुन ७ को अघिल्लो राति कालो पोतियो र चस्मा फोडिएको घटनाको सन्दर्भमा अन्य व्यक्तिको साथै सरोज पनि गिरफ्तार हुनुभयो र जलेश्वर जेलमा राखिनुभयो । केही दिनपछि काठमाडौँ जेलमा उहाँ स्थानान्तरित हुुनुभयो तथा एक वर्षपछि छोडिनुभयो । २०२८ साल वैशाख ४ गते वीरगञ्जबाट काठमाडाँै जान लाग्दा सरोजप्रसाद कोइराला, देवेन्द्र नेपाली र सोनाम छिरिङ लामाका साथ भैँसेमा पक्राउ पर्नुभई राजकाज अपराध ऐन अन्तर्गत जेल पर्नुभयो । अल्सरले पीडित सरोजलाई पछि वीरगञ्ज अस्पतालमा भर्ती गरियो र निको हुन नसकेपछि काठमाडाँैको वीर अस्पतालमा शल्यक्रिया गर्नुपरेको थियो । सर्वोच्च अदालतबाट अञ्चलाधीशको निर्णय बदर गरिएपछि उहाँ जेलमुक्त हुनुभएको थियो ।

जेलमुक्त भएपछि उहाँ भारतमा निर्वासित भएरै सङ्गठन गर्नतिर लाग्नुभएको क्रममा २०३० साल कात्तिक २ गतेको साँझ मधुवनीमा उहाँको हत्या गरियो । क्रान्तिकारी युवक सरोजप्रसाद कोइरालालाई हत्या गराउन २०३० विजयादशमीको पूर्व जलेश्वर जेलबाट केही कुख्यात डाकाहरू तत्कालीन अञ्चलाधीश लीलाराज विष्टद्वारा भगाइएको कुरा स्थानीय एक साप्ताहिकमा मैले प्रकाशित गर्दा मलाई समात्न प्रहरी मेरो घरमा पुगेको थियो । तीन छोरी र एक छोराका पिता सरोज कहिल्यै पनि परिवारमा मात्र सीमित रहनु

भएन । पारिवारिक सदस्य र कार्यकर्तामा उहाँले कहिल्यै कुनै अन्तर राख्नुभएन । जस्तोसुकै कठिनाइको बेलामा पनि कार्यकर्तार्लाई सक्दो सहयोग गर्न पछि नपर्ने

सरोजमा ठूला राजनीतिज्ञका सबै गुण थिए । त्यसैले निरङ्कुश पञ्चायती शासकले उहाँलाई ठूलो विरोधी ठानेर हत्या गराएको थियो ।

महान् क्रान्तिकारी सरोज कोइरालालाई हत्या गरिएको ३८ वर्ष भइसक्दा पनि हत्यारामाथि आजसम्म कुनै कारबाही हुन सकेको छैन । देशमा प्रजातन्त्र पुनःस्र्थापना भइसकेपछि यस दिशामा छानबिन हुनुपर्नेमा अहिले गणतन्त्रमा पनि कुनै जाँच आयोग नबनाइनु इतिहासलाई बिर्सिएको जस्तो लाग्छ । त्यसैले सरोज कोइरालाको साथै देशबाहिर र भित्र पञ्चायती शासनकालमा भएको राजनीतिक हत्याकाण्डको छानबिन गर्न एउटा न्यायिक जाँच आयोगको गठन हुनुपर्दछ । अन्तमा सहिद सरोजको ३८ औैँ पुण्यतिथिका अवसरमा उहाँ समेतका हजारौं वीर सहिदका बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेखन कार्य पूरा गरेर लोकतन्त्रलाई संस्थागत गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।

No comments:

Post a Comment