Friday, December 2, 2011

नेपाली कांग्रेसका लागि आगामि दिनहरू डा. शशांक कोइराला

गणेशकुमार कोइराला
सभापति
नेपाली कांग्रेस महाँकाल गाउँ समिति
काठमाण्डू।

तपाईँले मलाई “बी पी को पारिवारिक पृष्ठभूमि” विषयमा लेख लेख्न अनुरोध गर्नु भएको थियो। म लेखनमा निपुण छुइन र त्यो पनि आफ्नै पीताजीका बारेमा लेख्न त झन कठिन। बी पी कोइरालाको बहुआयामिक व्यक्तित्वका सम्बन्धमा त मैले कलम चलाउनु भनेको दुस्सहास पनि हो। बी पी कोइरालाका बारेमा स्वदेशी तथा विदेशी विद्वानहरूले धेरै कलम चलाई सक्नु भएको छ। र, उहाँ आफैले आफ्ना बारेमा प्रसस्त प्रकाश पारीसक्नु भएको छ। बी पी कोइरालाले रुढ परम्परालाई कहिल्यै पनि स्वीकार्नु भएन र यस्को प्रेरणा उहाँले आफ्नो पीताजी कृष्णप्रसाद कोइरालाबाट पाउनुभएको थियो। बी पी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति नै अबको नेपालको मार्गनिर्देशन हो भन्ने मेरो विश्वास हो। प्रजातान्त्रिक समाजवादी व्यवस्थाको मौलिक तत्व लोकतन्त्र हो। समाजवादको अभ्यास लोकतन्त्रमा मात्रै सम्भव हुन्छ र समाजवादद्वारानै लोकतन्त्रले पूर्णता प्राप्त गर्दछ भन्ने बी पी को मान्यता हो। बी पी कोइरालाको विचारमा समाजवाद भनेको एउटा ठूलो सभ्यता र संस्कृति हो, जसले केवल आर्थिक पक्षलाई मात्र नछोएर मानव सभ्यताका तमाम कलात्मक र सांस्कृतिक पक्षलाई छिचोलेको हुन्छ। मानिस केवल रोटीका लागि मात्र बाँच्दैन। रोटीले मात्र उसलाई सन्तुष्ट तुल्याउँदैन। मानिसलाई केवल आर्थिक आधारमा मात्र हेर्न र मूल्यांकन गर्न खोजियो भने मान्छे सारै सानो, सीमित र क्षुद्र भएर जान्छ। मान्छे भनेको त भावना र चेतनाको प्राणी पनि हो। मान्छेको उत्थानमा भावनाले महत्वपूर्ण स्थान ओगटेको छ। उहाँको चिन्तनको मूल तत्व चेतना हो, पदार्थ होइन। मस्तिष्क पक्षलाई गौण रुपमा हेरेर समाजवादी संस्कृति अगाडि बढ्न सक्दैन। यही विचारको सारको रुपमा उहाँ भन्ने गर्नुहुन्थ्यो “मानिस ब्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ।” जननायक बी पी कोइरालाका बारेमा यीनै शब्दहरूलाई तपाईहरूसमक्ष राख्दै, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकोले वर्तमान अवस्थामा नेपाली कांग्रेसले कसरी अघि बढ्ने भन्ने सम्बन्धमा केही कुरा राख्न चाहन्छु।

हामी राजनीति गर्ने मानिसहरू, त्यसमा पनि प्रजातान्त्रिक समाजवादको सिध्दान्तलाई अँगालेका नेपाली कांग्रेसका नेता र कार्यकर्ता, यसका भातृ संगठनका सदस्यहरूमा उच्च नैतिकता हुनु पर्दछ। हामीहरूले राष्ट्रिय संस्कृतिको फुलबारी सजाउने सिपालु बगैचेको जस्तो काम गर्नु पर्दछ। राजनीतक चेतना मानवमात्रको अनिवार्य आवश्यकता हो। तर राजनीतिको नाममा सम्पन्नताको खेती गर्न रहर गर्नेहरूको विगविगिले आज राजनीति भ्रष्ट भएको छ, विक्रित भएको छ।

नेपाली कांग्रेस आज प्रतिपक्षमा रहेको छ। प्रतिपक्षले आफ्नो अलग्गै अस्तित्व र पहिचान बनाउनु पर्दछ। प्रतिपक्षको सत्तापक्षको भन्दा सर्वथा भिन्न विचार हुनु पर्दछ र हरेक समस्याको छुट्टै समाधान दिन सक्नुपर्दछ। प्रतिपक्षको विचार अनुसारको आचार (विहेभीयर) हुनुपर्छ। शसक्त प्रतिपक्ष आजको आवश्यकता हो। हामीले हाम्रो लक्ष र सिध्दान्तसँग कहिल्यै सम्झौता गर्नु हुँदैन। सिध्दान्तमा अडेर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नु धेरै ठूलो राष्ट्रहितको काम हो। हो यसमा धेरै दु:ख र कष्ट छ। तर भोलीको समृध्द नेपालका लागि आजको सन्ततिले केही बढी दु:ख कष्ट सहनु पर्दछ।

देशका हरेक समस्याको समाधान सत्तापक्षको भन्दा अलग्ग समाधान प्रतिपक्षले जनता सामु दिनु पर्दछ। प्रजातन्त्रको संस्थागत विकास र स्थापनाका लागि प्रतिपक्ष बडो आवशयक हुन्छ। राजनीति गर्नुभनेको तरबारको धारमा हिँड्नु जस्तो जोखिमपूर्ण हो। धेरै सम्हालिनु पर्छ र धेरै जोखिम उठाउन सधैँ तत्पर रहनुपर्छ। राजनीति शिर्फ आफ्ना लागि गरिने चिज होइन। सर्वसाधारणको भलाइका लागि गरिने कर्तव्य हो। राजनीति जालझेल होइन। हाम्रो जस्तो अल्पविकसित राष्ट्रको राजनीति तथा आर्थिक दुरावस्थामा सुधार ल्याउनमा आजसम्म न त उग्रबामपन्थी सक्षम भएका छन न त उग्रदक्षिणपन्थी।

प्रजातन्त्रको स्थापना र विकासका लागि प्रतिपक्षको अत्यन्त ठूलो महत्व छ। प्रजातन्त्रको आधार सदाशयतामा हुन्छ। प्रजातन्त्रवादी भनेको सामाजिक परिवर्तन र निर्माणको गरूङ्गो भारी बोक्न सक्ने जिम्मेवार भरिया हो। उ कानुन र नैतिकता बिगार्दैन र नियम मिच्दैन।

नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ। प्रतिपक्षको भूमिका अत्यन्त अप्ठ्यारो हुन्छ। प्रतिपक्ष भनेको जनताको आस्थाको आधार हो। प्रतिपक्ष ढल्यो भने प्रजातन्त्र कठीन समस्यामा पर्छ। तसर्थ हामीले जनताको घरदैलोमा जान आवश्यक छ। हामी आपसमा आफूलाई जेसुकै भनौं त्यसको कुनै महत्व छैन। महत्व त्यस कुरामा छ कि हामीलाई जनताले के भन्छ। जनताको नजरले अब नेपाली कांग्रेसले आफूलाई हेर्नु पर्छ।

हामीकहाँ राजनीतिक संस्कार (Political Culture) को विकास हुन सकेको छैन। कुनै पनि दलभित्र रहेर राजनीति गर्नेहरूमा आफू दलभित्र छु भन्ने यथार्थलाई चटक्कै विर्सिएर व्यक्तिवादी प्रवृत्ति नै अच्चकाली रूपमा बढेको छ। जस्को परिणाम हो—दलीय सुसंस्कारको जन्म नहुनु। राजनीतिक संस्कारविना राजनीतिक दलका नेता र कार्यकर्ता पृथकरूपमा हिँड्ने हो भने नेता र कार्यकर्ताको महत्व एवं आवश्यकता दुवै हुँदैन।

नेपाली कांग्रेसको मूलभूत लक्ष्य नै जनताको हित हुने कार्य गर्नु हो। आज मुलुकमा आम रूपमा भ्रष्टाचार भइरहेका कुराहरू सार्वजनिक भइरहेका छन्। मुलुकमा भइरहेको भ्रष्टाचारमा राज्यका सबै अङ्गहरू सहभागि भएका छन भन्ने कुरामा जनताको आम राय छ। भ्रष्टाचारमा सहभागि हुन नचाहने नागरिकको काम नबन्ने र भ्रष्टाचारमा सहभागी भएमा तुरून्तै काम बन्ने नियति नेपाली जनताले भोगिरहनु परेको छ। मुलुकमा बढेको भ्रष्टाचार, अनियमितता, अधिकारको दुरुपयोग, स्वेच्छाचारी प्रवृत्ति, अश्लिलता, उच्छृङ्खलता, व्यभिचार, दुराचार र अनाचारका विरूध्द अबको नेपाली कांग्रेसले संघर्ष गरी यस राष्ट्रलाई पतन, गरीबी र अभावबाट मुक्त राख्ने अभियानको थालनी गर्नु पर्दछ। किनभने बहुलवादको संरक्षण नेपाली कांग्रेसले नै गर्नुपरेको छ। अबको नेपाली कांग्रेसले सदाचारी र नैतिक भएर जनताको घरदैलोमा पुगी सदाचार र नैतिकता कायम राख्न सदा तत्पर हुनुपर्दछ।

नैतिकताको सिमाभित्र बाँधिएर राष्ट्रनिर्माण गर्ने एजेण्डा पारित गर्न सम्बिधान सभाको निर्वाचन पछि पटक-पटक सरकार परिवर्तन भएको हो भनेर कालखण्डले पुष्टी गर्दैन। यसको पछाडी केवल सत्तामोह र कमाउने उत्कट अभिलाषा मात्र रहेको छ। यसरी नैतिकताहीन तरिकाले व्यक्तिपरक रूपमा मुलुकको शासन सञ्चालन हुँदा मुलुकमा सुशासनको बदलामा कुशासन व्याप्त भएको छ। आज हाम्रो राष्ट्रको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र प्रशासनिक जस्ता हरेक क्षेत्र तहसनहस भएको छ। यो मुलुक अहिले अनैतिकहरूका लागि स्वर्ग हुन पुगेको छ, नैतिकता वेच्दा असंभव काम पनि सम्भव भइरहेको छ। यस्तो कहाली लाग्दो अवस्थाबाट यस राष्ट्रलाई मुक्त पार्ने जिम्मेवारी अबको नेपाली कांग्रेसको काँधमा आइपुगेको छ।

गणेशजी,

म अब अलिकति रष्ट्र निर्माणका बारेमा पनि केही कुराहरू राखौँ। विकास भनेको सकारात्मक परिवर्तन हो। सत्य के हो भने ९० प्रतिशत भन्दा बढी गाउँ भएको नेपालमा गाउँको विकासले नै मात्र प्राथमिकता पाउनु पर्छ भन्ने मेरो मान्यता हो। अहिलेसम्म राजनीतिक दलहरूले गाउँ र गरीबका नाउँमा मात्र राजनीति गरेका छन्। तर गाउँहरूको अवस्था दयनिय छ।

आर्थिक विकास नेपाली कांग्रेसको मूख्य कार्य हो। हामीले आफ्नो राष्ट्रलाई आर्थिक रूपमा बलियो पार्ने कार्यलाई राष्ट्रियताको अभिव्यक्तिका रूपमा निर्धारित गर्न सक्यौं भने त्यस काममा जनतालाई एकजुट बनाउन सक्दछौ। राष्ट्रियता र आर्थिक विकासलाई जोड्ने काम अबको नेपाली कांग्रेसले गर्नु पर्दछ। राष्ट्रियता र आर्थिक विकासलाई एकसाथ जोड्ने काम भएपछि मात्र हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू र हाम्रो परराष्ट्र नीतिले स्पषटता हासिल गर्दछ भन्ने मेरो मान्यता हो। न्युनतम आवश्यकता पुरा गर्न नसक्ने दरिद्रताको दयनीय अवस्थामा बाँचेका जनताप्रति राज्यको के कर्तव्य हुनुपर्ने हो भन्ने सम्बन्धमा पनि नेपाली कांग्रेस स्पष्ट छ। यी दरिद्रतामा बाँचेका जनता प्रति राज्यले जिम्मेवारी लिनै पर्दछ।

हामीले आर्थिक विकासको दौडमा अगाडी बढीरहेकाहरूलाई अझ अगाडी बढ्न प्रोत्साहन गर्ने र आर्थिक विकासको दौडमा सबभन्दा पछि परेकाहरूलाई उनिहरूको न्युनतम आवश्यकता पूरा गर्ने क्षमता हासिल गराउन संरक्षण प्रदान गर्ने नीति नेपाली कांग्रेसले अवलम्बन गर्नु पर्दछ। अर्थात् अगाडी बढेकालाई नरोक्ने र पछि परेकालाई नत्याग्ने।

नेपालका किसानहरू खेतबारीकै कामका कारण फुर्सद पाउँदैनन् र आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष पुर्‍याउन सक्दैनन् । सके भने पनि त्यसको न्यायोचित सुनुवाइ नभएर होला किसानहरू प्रताडित देखिन्छन् । कर्मचारीहरू तलब बढाइयोस भन्दै कामकाज ठप्प पारेर सडकमा उत्रन्छन् । यातायात व्यवसायीहरू मानव जीवनमा प्रत्यक्ष गाँसिएको यातायातका साधन जाम गरेर भाडा बढाउनु पर्छ भनेर आन्दोलन गर्छन् । यस्ता दर्जनौं आन्दोलन नेपालमा चल्छन् र आन्दोलनकारीले इन्साफ पनि पाएका छन् । तर, किसानले के पाएका छन् ? उल्टै घाटा नै घाटा । यातायात बन्दले गर्दा आफ्नो उत्पादन बजार पुर्‍याउन नसकेर बाटैमा घोप्ट्याउनुपर्ने बाध्यताले मिहीनेत र लगानीको सत्यनाश भइदिन्छ । अरू व्यवसायीको गतिविधि र लाभभित्र किसानले आफूलाई फाइदा पुग्ने कुनै कुरा छ कि भन्ने आशामा बस्नुपर्ने अवस्था छ । कार्यगत व्यस्तता र आर्थिक अभाव अनि कुशल नेतृत्वको खाँचोले गर्दा धेरै नेपाली किसानहरू आफ्ना हकअधिकार के कस्ता छन् भन्नेबारे अनभिज्ञ छन् र थप अधिकारका निम्ति एकजुट देखिँदैनन् । अबको नेपाली कांग्रेस र नेपाल किसान संघले किसानलाई अधिकार सम्पन्न बनाउन संघर्षरत रहनु परेको छ।

नेपालका किसानहरू खेतबारीकै कामका कारण फुर्सद पाउँदैनन् र आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष पुर्‍याउन सक्दैनन् । सके भने पनि त्यसको न्यायोचित सुनुवाइ नभएर होला किसानहरू प्रताडित देखिन्छन् । कर्मचारीहरू तलब बढाइयोस भन्दै कामकाज ठप्प पारेर सडकमा उत्रन्छन् । यातायात व्यवसायीहरू मानव जीवनमा प्रत्यक्ष गाँसिएको यातायातका साधन जाम गरेर भाडा बढाउनु पर्छ भनेर आन्दोलन गर्छन् । यस्ता दर्जनौं आन्दोलन नेपालमा चल्छन् र आन्दोलनकारीले इन्साफ पनि पाएका छन् । तर, किसानले के पाएका छन् ? उल्टै घाटा नै घाटा । यातायात बन्दले गर्दा आफ्नो उत्पादन बजार पुर्‍याउन नसकेर बाटैमा घोप्ट्याउनुपर्ने बाध्यताले मिहीनेत र लगानीको सत्यनाश भइदिन्छ । अरू व्यवसायीको गतिविधि र लाभभित्र किसानले आफूलाई फाइदा पुग्ने कुनै कुरा छ कि भन्ने आशामा बस्नुपर्ने अवस्था छ । कार्यगत व्यस्तता र आर्थिक अभाव अनि कुशल नेतृत्वको खाँचोले गर्दा धेरै नेपाली किसानहरू आफ्ना हकअधिकार के कस्ता छन् भन्नेबारे अनभिज्ञ छन् र थप अधिकारका निम्ति एकजुट देखिँदैनन् । अबको नेपाली कांग्रेसले किसानलाई अधिकार सम्पन्न बनाउन संघर्षरत रहनु परेको छ।
हाम्रो अवस्था
हाम्रो जस्तो अल्पविकसित मुलुकमा उग्रबामपन्थी र उग्रदक्षिणपन्थी राजनीति असफल नै रहेको हुन्छ। निष्कर्ष के हो भने यी दुबैको भन्दा बीचको बाटो अर्थात प्रजातान्त्रिक समाजवादी बाटो लिनु नै राष्ट्रको प्रगतिका निम्ति परमावश्यक छ। अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ। संसारमा जहीँ पनि प्रतिपक्षको भविष्य उज्यालो हुन्छ किनभने सत्तापक्ष जति पुरानो हुँदै जान्छ त्यो जनताबाट टाढा हुन्छ। प्रतिपक्षले टिक्न सक्नु पर्दछ। सत्तामा गएर मात्र राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई हामीले त्याग्न सक्नु पर्दछ। सत्तामा गएर मात्र देशको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने गलत तर्क हो जुन हाम्रो जस्तो पिछडिएको समाजमा प्रचलित छ।

हामी कस्को प्रतिपक्षमा छौँ ? नेपाली जनतामा एकदलीय सर्वसत्तावाद थोपर्न कम्मर कसेका कम्युनिष्टहरूको प्रतिपक्षमा छौँ, सत्तालोलुप स्वार्थीहरूको प्रतिपक्षमा छौँ। नेपालमा सामन्ती रुढिवादी, कम्युनिष्ट रुढीवादीलगायतका सत्तालोलुपहरूले राष्ट्रवादको ओठे नारा मुनि गठबन्धन गरी प्रजातान्त्रिक विकासलाई अवरुध्द गर्न नपाउन भनी सम्पूर्ण नेपाली समाजलाई सजग गराउन प्रतिपक्षमा छौँ। प्रजातन्त्रवादीहरूको हातबाट राष्ट्रवादको झण्डालाई खोसिन नदिन हामी प्रतिपक्षमा छौं। सामन्ती रुढिवादी र कम्युनिष्ट रुढीवादीका कारण अहिले हाम्रो विकास अवरुध्द भएको छ।

कम्युनिष्ट सिध्दान्त राष्ट्रवादी सिध्दान्त होइन। यसलाई पुष्टी गर्ने तथ्यहरू मार्क्सवाद-लेनीनवादमा प्रसस्त छन्। “सबै देशका सर्वहाराहरू, एक होउ” भन्ने नाराभित्र सर्वहारा अन्तर्राष्ट्रियतावादी सिध्दान्त केन्द्रित रहेको छ। सर्वहाराको राष्ट्र हुँदैन भन्ने गलत सोचाईलाई कम्युनिष्टहरूले आधार बनाएका छन्। हामी त्यस्ताका प्रतिपक्षमा छौं।

कम्युनिष्ट सिध्दान्त राष्ट्रवादी सिध्दान्त होइन। यसमाथि घोत्लिने हो भने अहिलेका नेपालका कम्युनिष्टहरूको गुरु स्टालिनले आफूलाई सोभियत संघको सर्वसत्तावादी तानाशाह मात्र होइन सम्पूर्ण विश्वकै कम्युनिष्ट आन्दोलनको हुकुमी केन्द्रको रूपमा स्थापित गर्न सकेको तथा सोभियत संघभित्रको राष्ट्रियतालाई सखाप पार्न सकेको रहस्य उद्घाटन हुन्छ। जसको परिणाम स्टालिनले राज गरेका क्षेत्रहरूमा आज एक दर्जनभन्दा बढी स्वतन्त्र राज्यहरू उत्पन्न भएका छन्। र बिखण्डनको प्रक्रिया अझै टुङ्गिएको छैन। नेपाली कांग्रेस त्यस्तो शक्तिको प्रतिपक्षमा छ।

कम्युनिज्मले सर्वहारावादलाई विकासको प्रमुख शक्ति मान्दछ। नेपाल अविकसित, गरिब र पछिपरेको राष्ट्र छ जहाँ उद्योगपति, सर्वहारा वर्ग (नेपाली कांग्रेस जसलाई श्रमिक भन्दछ) दुई प्रमुख राजनीतिक शक्तिको रूपमा एक अर्काका विरुध्द जुध्ने अवस्थामा छैनन्। गरीबी र पछौटेपनको उन्मुलनका लागि हामीकहाँ वर्गवाद होईन राष्ट्रवाद प्रमुख राजनीतिक शक्ति हुनु पर्दछ। हाम्रो राष्ट्रवाद परस्पर मुठभेडमा होइन सहिष्णुता, समझदारी, मेलमिलाप र सहमतिको जगमा मात्र सुदृढ हुनसक्छ। त्यसकारण पनि अबको नेपाली कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्दछ।

नेपाली कांग्रेसको सत्प्रयासबाट नेपालको राजनीतिमा आएको सभ्य फड्कोलाई अहिले देखापरेका असभ्य राजनीतिक व्यबहारले चुनौती दिइरहेका छन्। प्रजातन्त्रिक समाजवादको अग्रणी सिध्दान्तलाई यी रूढिवादि, एकदलीय सर्वसत्तावादी र सत्तालोलुपहरूको पछौटे व्यबहारले पछार्ने प्रयास गर्न सक्छन। नेपालमा अहिले मुख्य संघर्ष भनेको नै अग्रणी सिध्दान्त र पछौटे संस्कारको संघर्ष हो। नेपाली कांग्रेसले अपनाएको सिध्दान्त—प्रजातान्त्रिक समाजवाद—र व्यबहार दुबै संयुक्त भएर हाम्रो राजनीति विकसित भएको छ। नेपाली कांग्रेसको राजनीति भनेको अग्रगामी राजनीति हो। त्यसकारण पनि नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर मुलुकलाई अग्रगमनतर्फ लैजानु परेको छ। जनसेवाको माध्यम सत्ता मात्र होइन। त्यासकारण पनि नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर जनजागरणको काम गर्नुपरेको छ। तसर्थ अबको नेपाली कांग्रेसका हरेक कार्यकर्ताले अझ बढि जिम्मेवार भएर राष्ट्र निर्माणमा लाग्नु परेको छ।

तपाईँहरूको हितैषी
डा. शशांक कोइराला
भदौ २२, २०६८

1 comment: