Thursday, June 2, 2011

कला, कलाको दायित्व र मानव—जीवन ---बी. पी. कोइराला

      म एक कलाकार र राजनीतिक प्राणी हुँ। यी दुबैको आपस्तमा प्रष्ट अन्तरविरोध छ। त्यसैले यस लेखमा दुई अन्तरविरोधको प्रेरणाले म डोरिन्छु अनि जीवनलाई दुवै पक्षबाट बुझ्ने प्रयास गर्दछु। जत्तिकै आँखा चिम्लेर राजनीतिका प्रति उदासीन अथवा त्यतापट्टि पिठ्युँ फर्काएर ढुक्क बन्ने प्रयास गरौँ, राजनीति विस्तार-विस्तार हाम्रो जीवनको हरेक क्षेत्रमा छाउँदै गइरहेछ। त्यसको एक व्यापक शक्तिको रहस्य के हो ? र साथै त्यस शक्तिको अनुहारदेखि हामीहरू किन काँतर हुन्छौ ? अथवा निर्दयीबाट त्रस्त, अथवा त्यसको यान्त्रिक अमानवीय अभिव्यक्तिहरूद्वारा विरक्त भएर कलाको सानो फूलबारीमा टाउको लुकाएर निर्धक्क हुने प्रयत्न गर्दछौँ, जसरी बालुवामा मुन्टो लुकाएर उँटपन्छी निश्चिन्त ठान्दछ।

विज्ञान र कलाको सन्दर्भमा चिन्तकहरूले जुन दुई संस्कृतिको उल्लेख गरेका छन्, ती दुई संस्कृतिका आपसी असम्बन्धताबाट उत्पन्न र वाञ्छनीय परिणामपट्टि मानिसहरूको ध्यान आकर्षित गरेको छ। त्यसबारेमा यहाँ मलाई भन्नु छैन, तर उनिहरूको विचारको राजनीति र कलाको आपसी द्वन्द्वको सन्दर्भमा प्रलमवन गरेर यो भन्न सकिन्छ कि राजनीति र कला दुई विभिन्न परस्पर विरोधी उद्देश्यलाई लिएर स्थापित जीवनका क्षेत्र हुन्। राजनीतिक उद्देश्य संगठन हो। यसको वृत्ति सामाजिक हो। यो नियममूलक हो। सुरक्षाभावद्वारा प्रेरित यो रुढिगत छ थथा नयाँ विचारहरू र प्रयोगहरूप्रति शङ्काशील छ। समाजको प्रगतिसँगसँगै यसको जटिलता पनि बढ्दै गइरहेछ। सरल सामाजिक व्यवस्थामा सङ्गठन पनि त्यति नै सरल हुन सक्तछ। २-४ साधारण नियमद्वारा त्यस समाजको एकता कायम गर्न सकिन्छ। तर सामाजिक व्यवस्थाको जटिलतासँगै त्यसको नियम पनि जटिल हुँदै जान्छ। वर्तमान राजनीतिको व्यापकता यसप्रकार जटिल हुँदै गएको यही सामाजिक व्यवस्थाको परिणाम हो। राजनीतिको केन्द्रीभूत त्राण पाउनलाई नाना थरीका सिध्दान्त-प्रयोगका साथै अनेक थरीका कार्यक्रम इत्यादी प्रस्तुत गरिन्छ। तर राजनीतिको वर्तमान स्थितिको वैज्ञानिक विवेचनाको अभावमा सुधारका नयाँ-नयाँ योजनाहरू निरर्थक सावित हुन्छन्। कला भने ठीक यसको विपरीत आदर्श र प्रेरणाले परिचालित विधा हो। यो सङ्गठनात्मक छैन। यसको वृत्ति व्यक्तिगत हुन्छ। यो नियम र मर्यादाबाट मुक्त हुन खोज्दछ। यो अराजकतावादी हुन्छ र जोखिममा रहँदै नयाँ दिशाको खोजीमा रहन्छ। जीवनका यी दुई विरोधी मूल्यहरूलाई आफ्नो व्यक्तिगत जीवनमा आँकेपछि मलाई यो विवाद कला कलाको निम्ति अथवा कला जीवनका निम्ति एकदम निरर्थक लाग्दछ, मनुष्य जीवनको उद्देश्यलाऐ लिएर।

दार्शनिकहरूले आ-आफ्नो मत प्रतिपादन गरेका छन्। कसैले यसलाई प्रकृतिको एउटा आकस्मिक घटनामत्र ठान्दछन् त कसैले उसलाई दैवी उद्देश्यका लागि निर्मित एक महान तत्व। एउटा तथ्य, जुन मलाई निर्विवाद लाग्दछ, त्यो हो मानव-जीवनको स्वतन्त्रताप्रेमी स्वभाव थथा उसको सामाजिक सहज वृत्ति। एउटाचाहिँ यसको उत्थान र उत्कर्षका लागि र अर्कोचाहिँ यसको आत्मरक्षार्थ आवश्यक छ। स्वतन्त्रताप्रेम जुन मानिसमा व्यक्तिवादी वृत्तिको लक्षण हो, सामाजिक कीरा-फट्याङ्ग्रामा जस्तो कि मौरी, धमिरा रकमिलाहरूमा। त्यसको अभावले गर्दा उत्कर्षको क्रम सकिसकेको छ। तिनीहरू अघोरै समाजवादी हुन्, तर प्रगतिशील होइनन्। तर साथै सामाजिक तन्तुहरूद्वारा आवध्द नहुनाले मनुष्य सभ्यताको स्थितमा आफूलाई हेर्दा सायद ऊ बाँच्न पनि सक्तैनथ्यो। समाजले उसलाई सुरक्षा मात्र प्रदान गरेको छैन, उसलाई नयाँ प्रयोग र विकासका लागि अवसर पनि दिएको छ। तर समाजको मूल कार्यप्रणाली नियन्त्रित छ र अनुशासित पनि।

यो कुरालाई मैले यसकारण खोतलेँ कि जीवनलाई यी दुबै पक्षबाट बुझ्ने कोसिस गरेर दुवै क्षेत्रमा चाहिँ त्यो राजनीति होस् वा साहित्यिक, आफ्नो आचरणलाई अनुभवको आधारमा ढाल्ने प्रयत्न गरेको छु। मलाई लाग्दछ कि सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा जुन नियम-कानुन अथवा तर्क लागु हुन्छ, त्यो कला-साहित्यको क्षेत्रमा एकदम लागु हुँदैन। हामी साहित्यकारहरू पनि समाजको व्यपक राजनीतिक आवरणद्वारा अन्तर्चेतनाको स्तरमा यसरी प्रभावित भएका छौँ कि राजनीतिलाई व्यवसाय मानेर पनि यसको आदर्शलाई आफ्नो कलामा, साहित्यमा उतार्नेलाई प्रगतिशीलको सङ्ज्ञा दिन्छौँ। केही त कलालाई राजनीतिको दास मानेर सत्ताधारी गुटहरूका कलासम्बन्धी निर्णय र नीति-निर्धारणलाई उचित सम्झन्छन्। कला जीवनको लागि हो नकि कलाको लागि को नारालाई धेरैजसो यही उद्देश्यले चर्को पारिन्छ। जीवनलाई राजनीतिक पक्षबाट अध्ययन गरेर त्यसका सम्बन्धमा एक दर्शन प्रणालीबाट प्रतिपादनले यो अवाञ्छनीय परिणाम निस्केको छ कि केही मानिसहरूको दृष्टि कलाकारहरूको स्वतन्त्रता पनि खाली सापेक्ष मूल्यको वस्तु हो। साहित्य दलगत हुनुपर्छ ! तटस्थ साहित्य मुर्दावाद ! साहित्यकार महारथीहरू मुर्दावाद ! साहित्य सर्वहाराबर्गको आम उद्देश्यको एक अङ्ग हुनुपर्छ ! एक सानो पेच र समाजवादी प्रजातान्त्रिक कार्यावधिमा एउटा सानो कडी जुन अविभाज्य हुन्छन् सम्पूर्ण श्रमिक बर्गका तमाम जागरूक अगुवाले प्रयोग गरेको गतिको एक एक प्रक्रिया। साहित्य सङ्गठित, व्यवस्थित र एकीकृत श्रमिकहरूको समाजवादी प्रजातान्त्रिक दलको एक अभिन्न अङ्ग हुनुपर्छ।

यो यस्तो मान्यता र निर्णय हो जसबाट अधिकारसम्पन्न व्यक्ति कलाकारहरूलाई, साहित्यकारहरूलाई आफ्नो आदेश पालना गराउनलाई फुक्का हुन्छ। हामी साहित्यकारहरू यो मान्यतालाई स्वीकारेपछि के आफ्नो प्रेरणाप्रति निष्ठावान् हुन सक्छौँ र ? यो प्रश्न केवल नराम्रो साहित्यको पारख गर्ने होइन कि समाजोद्देश्यपरक सहित्य राम्रो छ वा खराब। गम्भीर प्रश्न छ साहित्यकारहरूको स्वतन्त्रताको। सामाजिक कार्यक्रमका सम्बन्धमा स्वतन्त्रताको प्रश्न यसकारण उठ्तछ कि जुन प्रकारको कार्यक्रम नै हुन् त्यो सर्वमान्य हुन सक्तैन। प्रजातन्त्रद्वारा, मताधिकारद्वारा बहुमतको सिध्दान्तलाई मानेर त्यसका बारेमा समाजलाई निर्णय लिन सक्तछ। कलाको क्षेत्रमा त यो प्रजातान्त्रिक परिपाटी पनि उपलब्ध छैन। त्यसका सम्बन्धमा न त बहुमतको आधारमा न शासनारूढ वर्गको आदेशमा निर्णय लिन सकिन्छ। यसकारण प्रत्येक कलाकार स्वतन्त्र छ आ-आफ्नो कलात्मक मुल्यको स्थापना गर्न। आफ्नो क्षे्त्रमा उसलाई अराजकतावादी बन्ने, स्वेच्छाचारी हुने बिलकुलै छुट छ।

यदि साहित्यकार नितान्त स्वतन्त्र छ आफ्नो बाटो बनाउनलाई, यदि ऊ विल्कुल अराजकतावादी हुन सक्तछ, तब प्रश्न उठ्न सक्तछ हाम्रो सामु, त्यसको कृतिको मूल्याङ्कनको माप के हुन सक्तछ ? र उसको पाठकसँग कुन आधारमा तादात्म्य साथापित हुन सक्तछ ? मेरो विचारमा साहित्यिक कृति तथा कलाकृतिको कुनै सर्वमान्य माप हुन सक्तैन। यसबाहेक कि कलाको सापेक्षमा त्यो स्थायी सावित होस्। कला एक निरन्तर अद्भुत वस्तु हो। नयाँ पनलाई कसी लगाउन पुरातनमा कुनै माप छैन। नयाँ पनको मूल्याङ्कनका लागि कुनै एउटा माप तयार हुँदा-नहुँदा त्यो पुरानो भइसक्छ।

लेखक र पाठकका बीच आदानप्रदानको प्रश्न कलाकारको सीपको प्रश्न हो। व्यक्तिगत अन्तर्चेतनालाई सामूहिक चेतनामा उतार्ने काम सीपको हो। साहित्यकारको विलकुलै व्यक्तिवादी उच्छृङ्खलता शिल्पको यस आवश्यकताबाट संयमित हुनुपर्छ। साहित्यकार उच्छृङ्खल हुनलाई स्वतन्त्र छ त्यस हालतमा, जब उ आफ्नो नयाँ अनुभूति उसको अन्तर्चेतनाको नयाँ प्राप्ति, उसको भावनालाई, खोजलाई पाठकले ग्रहण गर्न योग्य बनाएर ऊ सामु राख्न सकोस्। शिल्पको प्रयोजनीयताको कारण कलाकार शतत: नयाँ-नयाँ प्रयोग गर्दछ, जसबाट ऊ सबको मौलिक विलक्षण अनुभूतिलाई यसरी अभिव्यक्त गर्न सकोस कि निजीनभएर आम हुन जाओस्। लेखकका नयाँ-नयाँ अभिव्यक्तिहरुलाई नयाँ-नयाँ प्रतिकहरूको यसकारण सधैँ खोज रहन्छ कि त्यसद्वारा ऊ पाठकका आफ्ना पुराना मान्यताहरूको पक्राइबाट खुकुलो पार्न सकोस् र लेखकका नयाँ भावनाहरूप्रति उत्सुक। लेखक पाठकलाई छाड्न सक्तैन, उसलाई पन्छाएर लेखक सारगर्भित र अर्थयुक्त साहित्य रच्न सक्तैन। तर यसको माने यो होइन कि पाठक जुन पुरानो ठाउँमा छ त्यहीँ लेखक आफै पनि उत्रोस्। उसले पाठकलाई आफ्नोपट्टी आकर्षित गराउनुछ। कुन नयाँ ठाउँमा उनीहरू दुवै सँगसँगै हुन सक्छन्, एक अर्कोसँग संवेदनशीलताको सम्बन्ध बनाउन सक्तछन, यस कुराको निर्णय साहित्यकारको शिल्पले दिनेछ।

लेखक र पाठकको सम्बन्धका सिलसिलामा, जुन साहित्यकारहरूको कलासम्बन्धी उपायसँग असम्बन्धित छैन, यो प्रशन उठ्तछ कि आधुनिक साहित्यको अर्थ के हो ? त्यसकारण मलाई लाग्दछकलात्मक शैलीमा आधुनिकवाद परिवर्तनको लागि एउटा आन्दोलन हो जुन आन्दोलन मुख्यत: शिल्प-परिवर्तनको आन्दोलन हो। यो एउटा शिल्पको प्रश्न हो।

जहाँसम्म कलाको अन्तरवस्तु या विषयवस्तुको प्रश्न छ, विषयवस्तु अभिव्यक्तिको शिल्पभन्धा भिन्न वस्तु, आधुनिकवाद ज्ञानको क्षेत्रमा भइरहने नयाँ-नयाँ आविष्कारहरूलाई कलाकृतिमा समावेश गर्दै जाने कृया हो। भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान आदि वैज्ञानिक क्षेत्रका आविष्कारहरू, मनस्तत्वका प्रक्रियाहरूका सम्बन्धमा नयाँ-नयाँ विचार इत्यादी सबैले हाम्रो ज्ञानलाई विस्तृत पारेका छन्। तर यी नयाँ ज्ञानहरूले हाम्रो सांस्कृतिक र भावनात्मक परम्परामा गाँसिन जानका लागि पुकार गर्छन। त्यस्तो कला जो यस्तो नयाँ ज्ञानको विस्तारका प्रति सचेत छ र ज्ञानको विस्तारका प्रतिको आफ्नो वोधलाई  प्रकट गर्दछ र यसलाई अभिव्यक्ति दिन्छ, त्यो आधुनिक कला हो। फ्रायडवाद अब सांस्कृतिकवाद र कलात्मक परम्पराको एउटा अङ्ग बनिसकेको छ, विभिन्न कलाकृतिमा त्यस्तो समावेशद्वारा।

कलाको उद्देश्य मानव-अनुभूतिको विस्तार गर्नु हो, हाम्रो संवेदनशीलतालाई परिवर्तन पार्न हाम्रो भावनाको क्षमतालाई व्यापक पार्नु हो। साहित्यको अभिप्राय (उद्देश्य) शाश्वत छ। मानिसको विकास वौध्दिक क्षेत्रमा ज्ञानको अभवृध्दिका प्रक्रियाद्वारा र भावनात्मक क्षेत्रमा सहानुभूति र सम्वेदनशीलताको अभिवृध्दिद्वारा हुन्च। कलाको पारख हो यसले यो आफ्नो दायित्वको निर्वाह गर्‍यो त ? रा अधिकांश आधुनिक कलाले सायद गरेको छैन।

(यो लेख विराटनगरबाट प्रकाशित हुने बरगाछी बी. पी. कोइराला स्मृति अंकवर्ष १४ पूर्णांक ८, २०४० सालमा प्रकाशित भएको हो)
‍‍**************************************************************************

No comments:

Post a Comment