Tuesday, June 14, 2011

ओखलढुंगा भ्रमणको दैनीकि

जेठ २४, २०६८
आज ओखलढुंगा जाने क्रममा उदयपुर जिल्लाको कटारी बजार आइपुगेको छु। नेपाल किसान संघका केन्द्रीय सभापति भानु सिग्देल, साथी वीरेन्द्र दाहाल, ओखलढुंगा जिल्लाका महासमित सदस्य रामहरी खतिवडा, वालकृष्ण दाहाल, देवी कार्की, भरत तिवारी र खोटाङ जिल्लाका साथी नरेश श्रेष्ठ लगायतका साथीहरू मेरो साथमा हुनुहुन्छ। ओखलढुंगा यस्तो जिल्ला हो जुन
जिल्लाले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापनाका लागि गरेको संघर्षमा ५७ जना सहीदहरूलाई जन्माएको छ। हामीहरूले बिहान ८ बजे काठमाण्डू छाडेका थियौ। गर्मीले सताउँछ भन्ने ठूलो डर थियो तर मौसमले साथ दियो र बाटोभरी निरन्तर वर्षा भइ रह्यो। कटारी बजारमा उदयपुर जिल्लाका नेपाली कांग्रेसका सभापति हिमाल कार्की, उपसभापति प्रदिप के सी, सचिव भिमचन्द्र राई, सचिव बलबहादुर तामाङ लगायतका थुप्रै साथीहरू हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। सामन्य चिनजानपछि साथीहरूसँग लगभग दुइघण्टाजति अन्तरक्रिया भए।  लोकतन्त्रलाई कसरी संस्थागत गर्ने र पार्टीको संगठन कसरी मजबुत बनाउने भन्ने जिल्लाका साथीहरूमा ठूलो चिन्ता रहेको छ।

उदयपुर जिल्लाको कटारी बजार। यस बजारले नेपाली कांग्रेसको आजसम्मको यात्रामा निकै ठूलो महत्व बोकेको छ। २०३९ सालमा पार्टीका साथीहरूलाई प्रशिक्षण दिन र संगठन विस्तार गर्ने आउने क्रममा स्व. गिरिजाप्रसाद कोइरालालाई हत्या गर्ने प्रयासस्वरूप मण्डलेहरूले आक्रमण गरेका थिए। साथीहरू र कटारीका वासिन्दाको सत्प्रयासले गिरिजाप्रसाद कोइरालालाई त केही भएन तर धेरै साथीहरू भने घाइते हुनुभएको थियो। घाइते हुने मध्येमा प्रमुख हुनुहुन्थ्यो प्रजातन्त्रका सेनानी मनहरी बराल। आज राती कटारीमै बास बसियो।

जेठ २५, २०६८
आज कटारीबाट ओखलढुंगा प्रस्थान गर्नुभन्दा पहिला बिहान नेपाली कांग्रेसका पुराना र अत्यन्त सक्रिय कार्यकर्ता अर्जुन खड्कालाई भेट्न उहाँको निवासमा पुगियो।
अर्जुनजी अत्यन्त खुसी हुनुभयो र पञ्चायत कालमा कसरी नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई जोगाउन संघर्ष गरेको थियो भन्ने कुराहरू सुनाउनु भयो। नेपाली कांग्रेसले आफ्नो संघर्षशील अतितलाई बिर्सियो भन्ने उहाँको गुनासो थियो। नेपाली कांग्रेसलाई संघर्षशील बनाउनुहोस् भनेर आग्रह गर्नुभयो अर्जुनजीले, जुन सत्य हो। कटारीमा प्रहरीको बसोबासोको व्यवस्था अति नै दयनीय रहेको हाम्रा साथहरूले गुनासो गर्नु भएको थियो। करोडौ रुपैयाँ खर्च गरेर निर्माण गरेको प्रहरी कार्यालय प्रयोजनबिहिन हँस्थामा रहेकोछ। साथीहरूको आग्रहका कारण मैले आई
. जी. पी. रवीन्द्रप्रताप शाहजीसँग टेलीफोनमा कुरा गरेँ। उहाँले मलाई तुरुन्तै नवनिर्मित भवनमा सार्ने आश्वासन पाएको छु। काठमाण्डू फर्किएपछि पुन: आई. जी. पी. रवीन्द्रप्रताप शाहजीसँग अनुरोध गर्नेछु। देशको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको जनपद प्रहरीको समुचित व्यवस्था गर्नु पर्दछ भन्ने मेरो मान्यता हो। प्रहरीको समुचित व्यवस्थापनमा ध्यान दिएमा मात्र राष्ट्रले चाहेजस्तो सेवा उनीहरूबाट लिन सकिन्छ। बिहानको ८.३० बजी सकेको छ, अब हाम्रो टोली ओखलढुंगाका लागि प्रस्थान गर्दछ। आजको हाम्रो सानो टोलीमा अब समावेश हुनुभयो खोटाङ जिल्लाका हाम्रा अत्यन्त सकृय साथी नरेश श्रेष्ठ र अन्य केही साथीहरू। 

ओखलढुंगालीलानाथ दाहाल, ठगीराज दाहाल, गोकर्णबहादुर कार्की, पेशलकुमार दाहाल र खगेन्द्रराज दाहालको ओखलढुंगा, हर्कबहादुर राई, अम्बरबहादुर खड्का, भीमबहादुर खड्का, शमशेरबहादुर कार्की, रामबहादुर सुनुवार, टिकाराम राई र होमशेर राईको ओखलढुंगा, बलबहादुर राईको ओखलढुंगा, गोपाल राईको ओखलढुंगा। २०३१ साल असोज १३ गते राती सवा १२ बजे लीला, ठगी, गोकर्ण र खगेन्द्रलाई तानाशाही पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले कायरतापूर्वक हत्या गरेका थिए। प्रजातन्त्रमा आस्था राख्ने यी अमर आत्माहरूका हत्याराहरू आज पनि विभिन्न राजनीतिक दलमा प्रवेश गरी स्थापित लोकतन्त्रलाई समाप्त पारी पुन: अधिनायकवादी शासनको स्थापनामा तल्लीन देखिएका छन्।  

ओखलढुंगाको सदरमुकाम पुग्नुभन्दा पहिला बाटामा पर्ने अनेकौँ गाउँ र बस्तीहरुमा स्थानीय कार्यकर्ताहरू हाम्रो स्वागत र भेट्घाट गर्नका लागि जम्मा भएका हुन्थे। उदयपुर जिल्लाको घुर्मीमा फेरीबाट हाम्रो गाडी र हामी तारिएपछि हामी ओखलढुंगा प्रवेश गर्‍यौँ। ओखलढुंगा जिल्लाको हर्कपुरमा नेपाली जिल्ला कार्यसमितिका सभापति प्रदिपकुमार सुनुवार धेरै साथीहरूका साथ हाम्रो स्वागतका लागि उपस्थित हुनुहुन्थ्यो। यहाँ जम्मा भएका हाम्रा कार्यकर्ता साथीहरू र स्थानीय बासिन्दालाई मैले सम्बोधन गरेको थिएँ। सम्बोधनमा दुइटा अतिवादी शक्तिमाओवादी र राजावादीको षडयन्त्रबाट मुलुकलाई जोगाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आस्था राख्ने सबैले एकजुट भएर राष्ट्रको रक्षा गर्नुपर्छ। संविधान निर्माणमा अझै पनि शंका रहेको छ र माओवादीलाई संविधान निर्माण गर्नु नै छैन। माओवादीहरू राष्ट्रका प्रति इमान्दार छैनन्। राजा पनि राष्ट्रका प्रति इमान्दार नभएका कारण राजतन्र नै समाप्त भएर गयो, माओवादीको पनि अवस्था त्यस्तै हुन्न भन्न सकिँदैन।

हर्कपुरमा हाम्रा स्थानीय कार्यकर्ता र ठूलो संख्यामा जम्मा भएका स्थानीय बासीहरूको सभालाई सम्वोधन गरेर हामी टोक्सेलतर्फ प्रस्था गर्‍यौँ। मानेभञ्याङमा ठूलो संख्यामा हाम्रा साथीहरू, स्थानीय बासिन्दा र स्कुलका भाई-बैनीहरूको उपस्थिति थियो, हाम्रो स्वागतका लागि। मानेभञ्ज्याङमा हामीहरूले दिउसोको खाना खायौँ र यहाँ भेलाभएका हाम्रा साथीहरू र स्थानीयबासीलाई सम्बोधन गरेर हाम्रो टोली कार्यक्रमस्थलतीर प्रस्थान गर्दछ। आजको मूख्य कार्यक्रमस्थल टोक्सेलमा हामी आइपुग्छौ। यो त्यो पवित्रस्थल हो जहाँ २०३१ साल माघ २६ गते टोक्सेल गाउँ विकास समिति वडा नं ४ सातसल्लेमा टीम्बुरबोटे घटनामा समावेश भएका हाम्रा ७ जना प्रजातन्त्रका सेनानीहरूलाई राजाको पञ्चायती तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो। हत्या गरिएका हाम्रा साथीहरू हुनुहुन्थ्योहर्कबहादुर राई, अम्बरबहादुर खड्का, भीमबहादुर खड्का, शमशेरबहादुर कार्की, रामबहादुर सुनुवार, टिकाराम राई र होमशेर राई।

दिउसोको १२.०० बजेको छ। हामी मानेभन्ज्याङ आइपुगेका छौ। यहाँ धेरै साथीहरू र स्कुलका भाई-बैनीहरू हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। मानेभन्ज्याङको क्लवमा साथीहरूले अन्तरक्रिया कार्यक्रम राख्नु भएको थियो। साथीहरूको जिज्ञासा पछि सम्बोधन गर्दै मैले भनेँ—“नेपाली कांग्रेसले अस्ति भर्खरै गरेको ५ बुँदे सहमति त्योभन्दा पहिला गरिएको १० बुँदेकै निरन्तरता हो। हामीले हाम्रो अडान छाडेका छैनौ। माओवादीले भर्खरै दोहोरो सुरक्षाप्रणालीलाई हटाउन सुरु गरेको छ। यो राम्रो संकेत हो तर माओवादीकै एउटा गुटले अझै फर्काउन मानके छैन। यो उनिहरूको दोहोरो चरित्रको नमुना हो। माओवादीको नेतृत्व तहले सबै दोहोरो सुरक्षाप्रणालीको अन्त्य गर्नै पर्दछ। हाम्रो देश अहिले दोहोरो अतिवादको चपेटामा परेको छ। एउटा उग्र दक्षिणपन्थी र अर्को उग्र बामपन्थी। नेपाली कांग्रेसले दुबै अतिवादबाट यस राष्ट्रलाई मुक्त पार्नु पर्दछ। तसर्थ अबको नेपाली कांग्रेस गाउँमुखि भएर जनचेतना फैलाउन सक्रिय हुनु परेको छ।

टोक्सेलमा अत्यन्त धेरै हाम्रा कार्यकर्ता साथीहरू र स्थानीय बासिन्दाको उपस्थिति थियो। निर्धारित समयभन्दा निकै ढिलो हामी त्यहाँ पुगेका थियौँ। घण्टौदेखि हामीलाई टोक्सेलमा साथीहरू पर्खिरहनु भएको थियो। तानाशाही पञ्चायती व्यवस्थाले हत्या गरेका ती अमर सहीदहरूको सम्झना र सम्मानस्वरूप मैले त्यहाँ सहीदगेट र स्तम्भको शीलान्यास गरेँ। उपस्थित सबै साथीहरू र स्थानीय वासिन्दाका आँखाबाट अश्रु प्रवाहित भएका थिए। यस समारोहमा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवार लगायत जिल्ला कार्य समितिका सबै पदाधिकारीहरूको उपस्थिति रहेको थियो। मैले सातसल्लेमा त्यस भावविह्वल सभालाई सम्वोधन गर्दै भनेप्रजातन्त्र अथवा लोकतन्त्र जे भनौ यसको रक्षा गर्न नेपाली कांग्रेस पछि पर्नु हुँदैन। यी अमर सहीद हर्कबहादुर राई, अम्बरबहादुर खड्का, भीमबहादुर खड्का, शमशेरबहादुर कार्की, रामबहादुर सुनुवार, टिकाराम राई र होमशेर राईले किन आफ्नो प्राणको आहुती दिएका थिए ? यी सहीदहरूले कस्तो प्रजातान्त्रिक व्यवस्थाको परिकल्पना गरेका थिए ? यी अमर सहीदहरूले परिकल्पना गरेको लोकतान्त्रिक व्यवस्था आजको जस्तो अनैतिक, बेइमानी र भ्रष्टाचारयुक्त नभएर स्च्छ, मर्यादित र भ्रष्टाचारमुक्त समाज, व्यवस्था र सरकारको परिकल्पना गर्दै आफ्नो प्राणको आहुती दिएका थिए। अबको नेपाली कांग्रेसले यी सहीदहरूको सम्मान गर्दै अझ संघर्षशील भएर प्रजातन्त्रको रक्षा गर्न मैदानमा उत्रनु परेको छ।

सहीद गेट र स्तम्भको शीलान्यासपछि हाम्रो टोली ओखलढुंगाको सदरमुकामतर्फ बढ्यो। हामी लगभग ८.३० बजे राती सदरमुका पुग्यौँ। हाम्रो स्वागतका लागि ठूलो संख्यामा कार्यकर्ता साथीहरू पर्खिएर बसीरहनु भएको थियो। छिमेकी जल्ला खोटाङबाट नेपाली कांग्रेसका जिल्ला सभापति विष्णकुमार राई लगायतका साथीहरू आउनुभएको थाहा पाएँ, खुसी लाग्यो। उहाँलाई भोली बिहा भेट्ने भनेर राती नआउन भनेँ। समान्य परिचयपछि साथीहरूका जिज्ञासाहरू सुनेर जिल्ला विकास समितिको अतिथिगृहतिर लागियो। सभापतिजीले हाम्रो बस्ने व्यवस्था त्यहीँ गर्नु भएको रहेछ। दिउसो भरिको थकान र गर्मीका कारण शरीर थाकित भएको थियो। बाटाभरी साथीहरू र सर्वसाधारणले देखाएको उत्साह, हौसला र विस्वासले मलाई चिन्तित तुल्याउँछ। मलाई यत्रो विश्वास किन ? साथीहरूको विश्वास र भरोसाले मनमा प्रश्न उठ्छ, के म साथीहरुको विश्वासलाई यथार्थमा परिणत गर्न सक्छु ? मैले इमान्दार भएर लोकतन्त्रको रक्षामा लाग्नै पर्दछ। म मनमनै अदृष्य शक्तिसँग प्रार्थना गर्दछुमलाई कर्तव्यच्युत हुनबाट जोगाउन हरदम प्रेरणा प्राप्त भइरहोस्।  

जेठ २६, २०६८
आज बिहान प्रहरी नायव निरिक्षकजीसँग जिल्लाको शान्ति सुरक्षाका बारेमा छलफल भयो। जिल्लामा शान्ति कायम राख्न नेपाली कांग्रेसबाट पूर्ण सहयोग प्राप्त हुने छ भनेर मैले उहाँलाई आस्वस्त तुल्याएँ। बिहान खोटाङ जिल्लाका नेपाली कांग्रेसका सभापति वीष्णुकुमार राईसँग छलफल गरेँ। वीष्णुजी अत्यन्त सुजबुझ भएको व्यक्ति हुनुहुन्छ। संगठन विस्तारमा उहाँजस्ता युवा साथीहरूको ठूलो आवश्यकता छ। बिहान ९.०० बजे हामी सदरमुकामबाट ओखलढुंगा जिल्लाको रामपुरका लागि प्रस्थान गर्‍यौँ। रामपुरमा पाँचजना सहीदहरूको स्मृतिमा शालिक बनाइएको छ। यी पाँचजना सहीद हुन्लीलानाथ दाहाल, ठगीराज दाहाल, गोकर्णबहादुर कार्की, खगेन्द्र दाहाल र पेशलकुमार दाहाल। यी सबै अमर आत्माहरूलाई म व्यक्तिगत रूपमै परिचित छु। रामपुर मेरा लागि तीर्थस्थल हो र म चाहन्छु, रामपुर प्रजातन्त्रमा आस्था राख्ने सबैको तीर्थस्थल बन्नु पर्छ भन्ने मेरो मान्यता हो। यी साहसी युवकहरू बनारसमा रहँदा कैयौँपटक एकैसाथमा बसेर सँगै खाना खाएको छु। यी अमर व्यक्तिहरूको राजाद्वारा सञ्चालित निरंकुश तानाशाही पञ्चायती व्यवस्थाले हत्या गरेको खबर बनारसमा हाम्रो घरमा आईपुगे पछि हाम्रो सारा परिवार प्राय मुर्छित अवस्थामा पुगेको थियो। हामीले आफ्नो परिवारका सदस्यहरूलाई सदासर्वदाकालागी गुमाएका थियौ। रामपुर आइपुगेपछि मेरो बुबा बी पी कोइरालाले म स्वयंलाई भनेको वाक्यको सम्झना आयो त्यो वाक्य थियोमैले (बीपी) तैले (म स्वयं) भनेजति पैसा किन दिने ? साथीहरू, कार्यकर्ताहरू त मेरो एउटा आह्वानमा अफ्नो प्राणको बाजी लगाउन तयार हुन्छन्, त हुन्छस् ? उनिहरू हाँसीहाँसी मृत्युवरण गर्दछन र गरिरहेका छन, तँ गर्न सक्छस् ? भनेर भन्नु भएको थियो। म सानो छँदा मेरो बुबाले मलाई भनेका यी वचनहरूको याद आयो। म फेरी एकपटक २०३१ साल असोज १३ गते राती सवा १२ बजेतीर पर्कन पुँगे। मैले पुन: बी पी कोइरालाले रचना गरेको एकरात भन्ने कथामा चुर्लुम्म डुबे। मेरो साथमा रहेको बालकृष्ण दाहाल (अमर सहीद लीलाको छोरो) लाई हेरे, उसको भाई कुमारलाई सम्झिएँ, हेलीकप्टर पाइलट हीरा दाहाल ( अमर सहीद ठगीको छोरा) लाई सम्झिन पुगे। पुराना यादहरूले मलाई सम्झाईरह्यो, सताईरह्यो। मलाई पुन: एकपटक जननायक बी पी कोइरालाको वचनलाई स्मरण गर्न चाहन्छुउत्साही होऊ तरुण ! तिमीले आँट्न सक्ने कुरा तिमी गर्न सक्छौ

यसपपछि हामी नारायणस्थानतीर लाग्यौँ। नारायणस्थान नेपाली कांग्रेसका लागि महत्वपूर्ण स्थल हो। त्याहँका युवा, विद्यार्थी लगायतका सवैको प्रजातन्त्रका प्रति जुन समर्पण छ त्यसको तुलना नै हुनसक्दैन। नारायणस्थानको मूख्य कार्यक्रम थियोइलाकास्तरीय प्रशिक्षण तथा समाजमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरूको सम्मान। स्थानीय २५ जना व्यक्तिहरूलाई सम्मान गरेपछि सभालाई सम्बोधन गर्दै मैले भनेँ२०४६ सालको परिवर्तनपछि सबैभन्दा पहिला म स्वास्थ्य शीविर लिएर ओखलढुंगा आएको थिएँ। किनभने ओखलढुंगा मेरो तीर्थस्थल हो। मेरो सामजिक कार्यको थालनी यहीबाट सुरु भएको हो र मेरो डाक्टरी पेशाको अन्त्य पनि मैले यही जिल्लामा अन्तिम शीविर राखेर सदाकालागि विसाएँ। म भन्दा पहिला धेरै साथीहरूले विभिन्न विषयमा प्रकाश पारिसक्नु भएको थियो। ओखलढुंगाका सभापति प्रदिपकुमार सुनुवार र खोटाङ जिल्लाका सभापति विष्णुकुमार राईले जिल्लामा देखापरेका समस्याहरूलाई सभामा राख्नु भएको थियो। साथीहरूले उठाएका विषयहरू गम्भीर भएकाले केन्द्रले त्यतातिर  ध्यान दिनु पर्दछ।

२६ गते रातीको बसाई पनि ओखलढुंगामा नै रह्यो। बेलुका प्रमुख जिल्ला अधिकारीजीसँग पनि जिल्लाको स्थितका बारेमा विचार विमर्स भयो। जिल्लामा शान्ति कायम राख्न नेपाली कांग्रेसबाट पूर्ण सहयोग प्राप्त हुने छ भनेर मैले उहाँलाई पनि आस्वस्त तुल्याएँ। बेलुका पनि धेरै साथीहरूसँग छलफल भयो विशेष गरेर दुबै सभापतिहरूविष्णुकुमार राई (खोटाङ) र प्रदिपकुमार सुनुवार (ओखलढुंगा) सँग जिल्लाको संगठनका सम्बन्धमा। संगठनमा देखापरेका समस्याहरूलाई समाधान गर्दै अगाडी बढ्नेमा सबैको एकमत थियो। माओवादीहरूले अहिले पनि हाम्रा साथीहरूलाई धम्क्याउने, गाउँका सर्वसाधारण जनतालाई त्रसित पारेर राजनीतिक फाइदा लिने काम रोकेका छैनन्। दण्डहीनता बढेकोमा सबै चिन्तित रहेका छन। दुबैजना सभापतिहरूलाई बिहान र बेलुका डी एस पी साहब र सि डि ओ साहबहरूसँग भएको कुराकानी जानकारी गराएँ।  मैले सबै साथीहरूलाई गाउँमुखि हुन सल्लाह दिएको छु

जेठ २७, २०६८
आज बिहान ७.३० बजे रुम्जाटार विमानस्थलतर्फ प्रस्थान। २८ गते देखि काठमाण्डूमा हुने जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा सहभागि हुन काठमाण्डू प्रस्थान।

No comments:

Post a Comment