Thursday, October 13, 2011

गोरखा भ्रमण

आज (असोज २५, २०६८)
बिहान ७.४५ बजे गोरखाका लागि प्रस्थान। यसपटक मेरो साथमा भ्रमणमा हुनुहुन्छ—संसदमा सार्वजनिक लेखा समितिका सभापति राकृष्ण यादव, साथी वीरेन्द्र दाहाल, भरत तिवारी, मुस्लिम संघका केन्द्रीय सभापति अब्दुल सतार, डा. चीरञ्जीवी नेपाल, स्वास्थ्यकर्मी संघका केन्द्रीय सभापति रामजी घिमिरे। मुगलिनबाट हामिलाई साथ दिनुहुन्छ किसान संघका निवर्तमान सभापति भानु सिग्देल। हामी ठिक ११ बजे आबु खैरेनि पुग्यौँ। खैरेनिमा हाम्रो प्रतिक्षामा हुनुहुँदोरहेछ नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय महासचिव जीतबहादुर भट्ट, नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाकी निर्वाचित सदस्य शोभा अधिकारी र इश्वर परियार लगायतका साथीहरू। दिउसोको खाना खैरेनिमै खाएर हामी लाग्यौ छोप्राकतर्फ। खैरेनिदेखि हाम्रो प्रतिक्षामा रहनुभएका सबै साथीहरूले हामिलाई साथ दिनुभयो छोप्राकसम्मका लागि। खैरेनिबाट आधाघण्टाको यात्रापछि हामी पुग्यौँ १२ किलो भन्ने ठाउँमा जहाँबाट हामिले सार्वजनिक बसबाट छोप्राक जानु थियो। १२ किलोमा नेपाली कांग्रेसका जिल्ला सभापति हरिबहादुर घले लगायत सयकडौँ साथीहरू हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। १२ किलोमा हामीले गाडि परिवर्तन गर्नुपर्ने एउटै कारण थियो—हाम्रो जिपले दरौदी नदि तर्न नसक्नु। हामी चढेको बस पूर्णरुपले भरिएको थियो, छतमा पनि अटाइ-नअटाई साथीहरू हुनुहुन्थ्यो। दरौदीको किनारमा पुगेपछि थाहा भयो हामीभन्दा अगाडि गएको बसले पनि नदि तर्न नसकेका कारण साथीहरू ट्र्याक्टरबाट नदि तरी त्यही साधनलाई प्रयोग गरेर छोप्राकतर्फ लाग्नुभएछ। दरौदीले आफ्नो उन्मादलाई अहिलेसम्म कायम नै राखेकी छन्। यो उनको अबिरल यात्रा हो, नत्रभने यीनका वारीपारी बसोबास गर्ने यी हजारौहजार बासिन्दाले कसरी गुजारा चलाउँथे र ! यो दरौदीको महानता हो।

१२ किलोदेखि छोप्रकको दूरी लगभग १७ किलोमिटर हो तर हामीलाई डेढघण्टा लाग्यो। बाटो अत्यन्त खराब। अहिले पनि बाटो संझदा आँग सिरिङ्ग हुन्छ। पहाडी भेगमा गाडि चलाउने चालकहरूको दक्षताको प्रशंसा गर्नैपर्दछ।

लगभग डेढ घण्टाको कठिन तर रोमाञ्चक यात्रा पछि हामी छोप्राक आइपुग्यौ। छोप्राकमा सयकडौ साथीहरू, स्कूलका भाइ-बैनी र सर्वसाधारणको अत्यन्त उत्साहजनक उपस्थिति थियो। कार्यक्रमस्थलमा सभासद तथा संसदमा नेपाली कांग्रेसकी सचेतक कमला पन्त, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र क्षेत्रीय सभापति अशोक गुरुङ लगायतका साथीहरूले हाम्रो भावपूर्ण स्वागत गर्नुभयो।

छोप्राक यस्तो पवित्र भूमि हो जहाँ तथाकथित एकदलीय सर्वसत्तावादी कम्युनिष्ट शासन व्यवस्था स्थापना गर्ने दुस्प्रयासमा नेपाली कांग्रेसका होनाहार तीनजना साथीहरूको हत्या गरेको थियो। २०५३ साल पुस २७ गते माओवादीले छोप्राक गाउँ विकास समितिका नेपाली कांग्रेसका अध्यक्ष बलराम पोखरेलको हत्या गर्‍यो। २०१६ साल मंसिर ६ गते जन्मिनुभएका पोखरेल छोप्राक गाउँ विकास समिति वडा नं. ६ मा बसोवास गर्नुहुन्थ्यो। श्रीमति कल्पना पोखरेल र परिवारका अन्य सदस्यसँग बसेर बेलुकाको खाना खाईरहेको अवस्थामा माओवादीको १०-१२ जनाको एउटा हिंस्रक र रक्तपिपासु जत्था घरभित्र पसी घाँटीमा डोरीले बाँधेर घरबाहिर ल्याई आँगनमा सुताएर खुकुरी प्रहार गरी निर्ममतापूर्वक हत्या गरे।

२०५८ साल पुस ५ गते गिरिराज पोखरेलको माओवादीले हत्या गर्‍यो। २०१३ साल चैत्र १३ गते जन्मनुभएका पोखरेल छोप्राक गाउँ विकास समिति वडा नं. ८ मा बसोवास गर्नुहुन्थ्यो। शिक्षण पेशामा समलग्न रहनुभएका पोखरेल नेपाली कांग्रेसको शुभेच्छुक हुनुहुन्थ्यो। पोखरेललाई माओवादीले गोली प्रहार गरी हत्या गर्‍यो।

२०६१ साल पुस १ गते पदमबहादुर हमालको माओवादीले हत्या गर्‍यो। २००५ साल कात्तिकमा जन्मनुभएका हमाल छोप्राक गाउँ विकास समिति वडा नं. ७ का वडा सदस्य हुनुहुन्थ्यो। हमाललाई माओवादीले पुस १ गते बेलुका ६.४५ बजे अपहरण गरी खेपुवा भन्ने ठाउँमा लगि घाँटीमा खुकुरी प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए।

नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ को आजको क्षेत्रीय सम्मेलन पदमबहादुर हमालले बसोवास गरेको स्थलमा नै आयोजना भैरहेको थियो। गोरखा जिल्लामा प्रजातन्त्रको स्थापना र यसको रक्षाका लागि अहिलेसम्म ३३ जना सपुतहरूले आफ्नो प्राणको आहुति दिनुभएको छ। माओवादीले मात्र नेपाली कांग्रेसका २७ जना कार्यकर्ताको हत्या गरेको छ। अहिले पनि माओवादीले गोरखा जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ता र यसका समर्थकहरूलाई धम्क्याउने, कुटपिट गर्ने र गाउँमा पस्न नदिने कार्य गरिरहेछ। माओवादी शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि र देशको शासन व्यवस्था सञ्चालनको नेतृत्व तहमा पुगे पछि पनि अरु राजनीतिक दलहरूको अस्तित्व नस्वीकार्नुले उसको मनसाय अहिले पनि एकदलीय सर्वसत्तावादनै रहेको प्रष्ट छ। यस्तो विषम परिस्थितिमा पनि सिध्दान्त र आस्थामा प्रतिवध्द रही लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसका कार्यकर्ताहरू सपर्पित हुनुभनेको गौरवको कुरा हो। नेपाली कांग्रेस आजसम्म प्रजातन्त्रको रक्षाका लागि डटिरहनुको सम्पूर्ण श्रेय यीनै गाउँमा बस्ने कार्यकर्तामा जान्छ।

यस सम्मेलनको उद्घाटन समारोहमा हरिबहादुर घले, डा. चीरञ्जीवी नेपाल, रामकृष्ण यादव, कमला पन्त, सुरेन्द्र पाण्डे, अव्दुल सतार, भानु सिग्देल लगायत सबै साथीहरूले अत्यन्त उत्कृष्ट सम्बोधन गर्नुभयो। डा. नेपालले प्रजातन्त्रको रक्षा, राष्ट्रको समग्र विकासका लागि नेपाली कांग्रेसले २००३ सालदेखि आजसम्म खेलेको भूमिका र योगदानको तथ्यांकसहित मार्मिक सम्वोधनले उद्घाटन समारोहमा भेलाहुनुभएका सबैलाई राम्रो प्रभाव पारेको थियो।

मैले आफ्नो सम्वोधनका क्रममा भने—“म आज छोप्राक गाउँ विकास समिति वडा नं. ७ को पवित्र भूमिमा उभिएको छु जहाँ पदमबहादुर हमालले आफ्नो कर्म थलो बनाउनु भयो र प्रजातन्त्रको रक्षा गर्दागर्दै माओवादीको हत्याको सिकार हुनुभयो। यस्ता अमर सहिदहरूको जन्मस्थल र कर्मस्थलमा पुग्दा मलाई पवित्र देवस्थलमा पुगेको अनुभूति हुन्छ र सदैव प्रेरणा पाईरहेको हुन्छु। जुन प्रेरणाले मलाई प्रजातन्त्रको रक्षाका लागि अझ समर्पित हुन अभिप्रेरित गर्दछ। यी स्थलहरूमा पुग्दा म अत्यन्त भावुक पनि हुन्छु किनभने मेरो बुबाको आह्वान र उहाँले देखाएको बाटोमा हिँड्दा यी अमर सपुतहरूले आफ्नो प्राण गुमाउनुपर्‍यो। यी सपुतहरू राष्ट्रका गहना हुन्, नेपाली कांग्रेसका प्रेरणा हुन र इतिहासका विभूति हुन्। आज नेपालमा लोकतन्त्र आएको छ, लोकतन्त्र ल्याउनमा यीनै सपुतहरूको सहादतले महत्वपूर्ण योगदान दिएको छ। लोकतन्त्र ल्याउनमा नेपाली कांग्रेसका हजारौ कार्यकर्ताले यातना र दु:ख कष्ट झेल्नु पर्‍यो, हजारौँले निर्वासित जीवन विताउनु पर्‍यो र आजसम्म पनि सुखको सास फेर्न पाएका छैनन्। र, यो अहिलेको लोकतन्त्र यीनै सपुतहरूको रगत र पसिनाले सिञ्चित छ, यसको रक्षा गरौ। लोकतन्त्र नारा होइन, लोकतन्त्रलाई अब हामीले भीडतन्त्र हुनबाट बचाउनु पर्दछ। प्रजातन्त्र र प्रजातन्त्रवादीलाई देखिनसहने निरंकुश र अधिनायकवादी चरित्र बोकेका व्यक्ति र पार्टीले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई सदैव दमन र आक्रमण गर्ने परम्परा बसालेका छन, अब त्यसको अन्त्य हुनु पर्दछ।”

सम्बोधनका क्रममा—“अबको नेपाली कांग्रेस गाउँमुखि हुनुपरेको छ। अबको नेपाली कांग्रेस योजनामुखि हुनुपरेको छ। अबको नेपाली कांग्रेस समाजको सेवक हुनुपरेको छ। अबको नेपाली कांग्रेस भ्रष्टाचार विरोधी हुनुपरेको छ। अबको नेपाली कांग्रेस योजनामुखि हुनुपरेको छ। म अबको नेपाली कांग्रेस राष्ट्र निर्माणको प्रतिक भएको हेर्न चाहन्छु। अबको नेपाली कांग्रेस सक्षम र सवल बन्नका लागि गाउँमा बसेका जनताको दु:ख र दर्दलाई मेटाउन योजना बनाउने हुनुपर्दछ” भनेको थिएँ।

साथीहरूसँ अझ केही समय विताउन मन लागेको थियो। तर काठमाण्डू फर्किनु पर्ने वाध्यताले साथीहरूसँग विदा मागेर ५.३० बजे बेलुका पुन: उही अत्याउने बाटो हुँदै १२ किलोतर्फ प्रस्थान।

1 comment:

  1. यी शव्दहरूले मलाइ भाव्वविहल वनायो ।।। नविर्सनुहोला यी महानयोद्दाहरूलाइ ।।।।।।काग्रेसको दुरगतिको कारण यी सपुतहरूलाइ विर्सनु नै हो ,, अाशा त तपाइवाट यो काम हुने छैन ।।।।

    ReplyDelete