Tuesday, July 19, 2011

कांग्रेस सत्ताका लागि मरिहत्ते गर्दैछ---डा.शशांक कोइराला केन्द्रीय सदस्य, नेपाली कांग्रेस

जेठ १४ मा प्रमुख दलहरूबीच पाँचबँुदे सहमति भएपछि सरकारको नेतृत्वका लागि संविधानसभा दुई ठूला दल एकीकृत माओवादी र नेपाली कांग्रेस आगामी सरकारको नेतृत्वका लागि आन्तरिक तयारीमा छन् । तर, दुवै दलभित्र सरकारको नेतृत्व कुन नेताले गर्ने भन्नेमा पनि उत्तिकै हानथाप छ । दुवै दलमा संसदीय दलको नेता परिवर्तनका कुरा उठेका छन् । कांग्रेसमा शेरबहादुर देउवा पक्षधर नेताहरूले दलको नेता परिवर्तन गरेमा एकसाताभित्र प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने दाबी गरिरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् शशांक कोइराला भने अहिले कांग्रेसमा नेता परिवर्तनको आवश्यकता नरहेको बताउँछन् । कांग्रेसका संस्थापक बीपी कोइरालाका छोरा शशांक दलहरूले बाटो बिराउँदा मुलुक राजनीतिक अस्थितरतातर्फ धकेलिएको टिप्पणी गर्छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेता परिवर्तनका लागि भइरहेको पहल, शान्ति–प्रक्रिया, संविधान निर्माणलगायतका विषयमा केन्द्रित रही कोइरालासँग कारोबारका राजनीति ब्युरो प्रमुख बलराम पाण्डेले गरेको कुराकानीः

पछिल्लो राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपालको राजनीति प्रारम्भ गर्दा नै ४६ सालपछि र अहिलेको अवस्थासम्म हामी आफ्नो मुख्य बाटोबाट मोडिएका छौं । जुन बाटो हो, त्यो बिराइरहेका छौं । कांग्रेस र राष्ट्रिय राजनीति दुवैलाई हेर्दा अहिलेको राष्ट्रिय राजनीति एउटै बिन्दुमा उभिएको देख्छौं । यतिबेला नेपाललाई संविधान चाहिएको छ तर त्योसँग शान्ति–प्रक्रिया गाँसिएको छ । यो बिन्दुमा पुग्न कांग्रेससहित अन्य दलको पनि उत्तिकै भूमिका छ । अहिलेको प्रमुख आवश्यकता शान्ति हो । कांग्रेसले ६५ वर्षदेखि शान्ति, लोकतन्त्र र जनताको हकका लागि आन्दोलन गरिरहेको छ । भोलि फेरि पनि नेपालमा अतिवादी शक्ति आउन सक्छ भन्ने अवस्थामा हामी छौं । मुलुकमा एकातिर उग्रवामपन्थी छन् र अर्कातिर दक्षिणपन्थी । गिरिजाप्रसाद कोइरालाले जस्तै अहिले सबैले सहमतिको राजनीति गर्नुपर्ने अवस्था छ । दुईतिहाइ बहुमत कसैको पनि छैन । यस्तो अवस्थामा कुनै पनि बुँदा पारित हुन सक्दैनन् । त्यो दुईतिहाइका लागि सहमति नै चाहिन्छ, त्यसको विकल्प छैन । अर्को त्यसमै जोडिएको विषय लोकतन्त्र हो, जसका लागि कांग्रेसले ६५ वर्षदेखि लडिरहेको छ । अहिले पनि लोकतन्त्र र प्रजातन्त्र ओझेलमा पर्ने सम्भावना देखिएको छ । माओवादी उग्रवामपन्थीको रूपमा देखापरेको छ । उनीहरूले बहुलवाद, लोकतन्त्र र प्रजातन्त्र मानेनन् भने कांग्रेसले फेरि पनि संघर्ष गर्नुपर्छ ।

बाटो क–कसले कहाँनिर बिराए ?

बाटो दुई–तीनवटा कुरामा बिराइएको छ । २०४८ देखि ५१ सालसम्म कांग्रेसले र त्यो बेलाको सरकारले जति काम गरे, नेपालको इतिहासमा यति धेरै काम गरेको समय बिरलै पाइन्छ । नीतिगत कुरा गर्ने हो भने ०१५ सालपछि १८ महिनामै बीपी कोइरालाले परिवर्तन ल्याइदिनुभयो, त्यो पनि एउटा पक्ष थियो । ०४८ देखि ०५१ सम्म धेरै परिवर्तन भएको छ । त्यो बेला अर्थतन्त्र निकै राम्रो भएको थियो । भारतले पनि गर्न नसकेको काम त्यतिबेला नेपालमा भएको थियो । ०५१ सालसम्मको राजनीति निकै राम्रो भयो । हामी समाजवादी भएकाले साँच्चिकै हामी समाजवादी आधारमा गरिब, किसान, पिछडिएका वर्गलाई सम्बोधन गर्न सक्यौं त ? त्यतिबेला हामी चुकेकै हो । जब ०५२ सालमा माओवादीले बन्दुक उठाए, त्यतिबेला सरकारले नभई जनताले प्रतिकार गर्नुपर्ने थियो तर गरेनन् । त्यसपछि एकपछि अर्को गर्दै कांग्रेसमा भ्रष्टाचार कुरा उठे । हामी समाजवादी पार्टी भएकाले पनि त्यस्ता कुराहरूमा बाटो बिरायौं । हाम्रो आचरण पनि समाजवादी किसिमको हुनुपथ्र्यो, बजेट वितरण त्यही अनुसार हुनुपथ्र्यो । हामीले सबैलाई समेट्न सक्नुपथ्र्यो । हामीले बाटो नबिराएको भए माओवादीले बन्दुक उठाउँदा गाउँ–गाउँमा प्रतिकार हुन्थ्यो । त्यो हामीले गर्न सकेनौं । ०५२ सालमा किन माओवादी उत्पन्न भयो भन्ने अर्को प्रश्न छ । त्यतिबेला हाम्रो आर्थिक अवस्था निकै राम्रो थियो । त्यसैले प्रजातन्त्र र लोकतन्त्रको विरोधका लागि माओवादीलाई जन्माइएको हो । उनीहरू आफैं जन्मिएका होइनन् । उनीहरूको इतिहासले पनि त्यही भन्छ । अहिले पनि हामी अर्को अतिवादी जन्मिन्छ कि भन्ने त्रासमा छौं । जेठ १४ मा म्याद नथपकेको भए भोलिपल्ट कमल थापाहरूको ठूलो सागर आउने थियो । धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा अहिले पनि मान्छेहरू प्रश्न गर्छन् । शान्ति–प्रक्रिया छाड्ने हो भने गाँठो फुस्किन्छ तर त्यसलाई समात्यौं भने तीन महिनामा संविधान जनतालाई दिन सकिन्छ ।

माओवादीलाई रोक्न नसक्नु, गणतन्त्र र धर्मनिरपेक्षतामा जानुनै इतिहासका गल्ती हुन् र ?

गल्ती होइन, परिस्थिति नै त्यस्तै थियो । राजतन्त्रको कुरा आयो । त्यतिबेला म पनि राजतन्त्रमा विश्वास गर्थें । २ सय ४० वर्षको इतिहास पनि थियो । तर दुर्भाग्य राजाले कदम चालेपछि कांग्रेसले पनि गणतन्त्रको बाटो लिनुप¥यो । बीपी कोइरालाले मेलमिलापको नीति ल्याउँदा पनि स्पष्ट रूपमा भन्नुभएको छ, “लोकतन्त्र र प्रजातन्त्रको कुरा हो भने म राजाको विरोध गर्छु । राष्ट्रियताको कुरामा म र ऊ एउटै ठाउँमा छौं ।” राजा राष्ट्रियताको पक्षमा थिए । त्यो बेला राजाले चालेको कदम लोकतन्त्रको विरोधमा थियो । आफ्नै कारणले २ सय ४० वर्षको इतिहास गुमेर गयो । फेरि पनि ३ करोड नेपाली जनताले राजसंस्था चाहिन्छ भनेमा लोकतन्त्रमा विश्वास गर्नेले त्यसलाई स्वीकार गर्नैपर्छ । एकताको राजनीति नै हाम्रो र प्रजातन्त्रका लागि उपयुक्त हो ।

एकताको राजनीति कहाँबाट टुटेको छ ?

एकताको राजनीति पहिले माओवादीबाट टुटेको छ । १२ बुँदेदेखिका सहमति कार्यान्वयन गर्न सकेनन् । सडकमा त्यत्रो आन्दोलन भयो । माओवादी नेताहरूले क्याम्पसहरूलाई ब्यारेकमा परिणत गर्नुपर्छ भन्छन् । यस्ता कुराहरूले राजनीति हुँदैन । आवेशमा आएर राजनीति हुँदैन । अहिले गिरिजाप्रसाद कोइरालाको ठाउँमा प्रचण्ड हुनुपर्ने थियो । उहाँले म नै सबै कुरा हो भन्ने ठान्नुभयो । हाम्रै कम्युनिजम लाद्छौं भनेर यहाँ अहिले चल्छ ? नेपाल धर्म मान्ने ठाउँ हो, यहाँ कहीँ साम्यवाद चल्छ ?

लोकतन्त्र र साम्यवादबीचको द्वन्द्वका कारण मुलुकमा अस्थितरता छाएको हो त ?

माओवादीले १२ बुँदेदेखिका सहमति कार्यान्वयन नगरी अघि बढ्ने उपाय नै छैन । उनीहरूको पनि भविष्य शान्ति–प्रक्रिया नै हो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन । हामी डेमोक्र्याट्सहरू कति अप्ठेरोमा हुन्छौं भन्ने एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । एकजना विद्वान पण्डित बनारसको गंगामा स्नान गर्दै थिए । सूर्योदय हुँदै थियो । जल अर्पण गर्ने बेलामा बिच्छी पानीमा देखे । उनले आफ्नो अञ्जुलीले त्यो बिच्छीलाई सिँढीमा फाल्ने प्रयास गरे । त्यो बिच्छीले विद्वानलाई डस्यो । उनी आत्तिएर त्यसलाई फेरि पानीमा फाले । फेरि उनले प्रयास गरे । तेस्रो पटक प्रयास गरेपछि बिच्छीलाई पण्डितले बचाइदिए । एकजना नजिकै बसेर हेरिरहेको थियो र उसले भन्यो किन तपाईंले यसलाई बचाउँदै हुनुहुन्छ ? यसले डस्छ र डस्यो भने मरिन्छ भनेर जान्दा जान्दै प्रयास गरेर किन बचाउनुहुन्छ भनेर सोध्दा विद्वानले भने, “यो मेरो चरित्र हो । मैले बचाउनैपर्छ । त्यसको चरित्र डस्ने नै हो ।” हामी प्रजातान्त्रिक भएर कसैलाई मार्न सक्दैनौं । अरूको कुरा सुन्नैपर्छ । हामीले पनि बन्दुक उठाउने हो भने मुलुकको अवस्था के हुन्छ ? कांग्रेस पनि सत्तामा गएपछि कहिले पनि प्रतिपक्षीमा बस्नुपर्छ भन्ने बुझेन । तर त्यो चरित्र हुनु हुन्थेन । कांग्रेस म जहिले पनि सत्तामा हुनुपर्छ भन्नेमा रह्यो । अनि धाँधली गरेर चुनाव जित्ने, भ्रष्टाचार गर्ने जस्ता काम भए । साँच्चिकै डेमोक्र्याट प्रतिपक्षीमा बस्न सदा तयार हुनुपर्छ । हामी पहिले नै विपक्षमा बस्नुपथ्र्यो । विपक्षमा बसेर पनि राम्रो काम गर्नुपर्छ । कांग्रेसले सत्तामा बसेर कहिले पनि त्यो कुरा बुझेन । अहिले पनि त्यही सत्ताका लागि मरिहत्ते गर्दैछ । जतिसुकै विष खानुपरे पनि हामी चरित्रमा रहनुपर्छ ।

२०४७ सालको संविधान नराम्रो होइन । त्यसमा दुईवटा कुराको मात्रै त्रुटि छ । एउटा हो– विकेन्द्रीकरणको नीति । बीपीले पहिले नै भन्नुभएको हो तर पनि हामीले कार्यान्वयन गर्न सकेनौं । विकेन्द्रीकरण अघि सारे पनि अधिकार दिइएन । कम्युनिस्टहरू अहिले पनि प्रतिगामी शक्तिहरूलाई चुनाव लड्न नदिने भन्छन् । उनीहरूको परिभाषाअनुसार जसले माओ, लेनिन, स्टालिनलाई विश्वास गर्दैनन्, उनीहरू प्रतिगामी हुन् । त्यो भनेर अहिले हुँदैन ।

बीपीको लाइन कांग्रेसले छाड्यो भन्ने टिप्पणी उठिरहन्छ नि, हो ?

होइन । कांग्रेसले बीपीको लाइन छाडेको छैन । अहिले पनि २०१४ सालको घोषणापत्रअनुसार नै चलेका छौं । सत्य कुरा के हो भने नेतृत्वमा बीपी जस्तो व्यक्ति भएनन् । बीपीजस्तो व्यक्ति भएको भए अहिले मुलुक अर्कै हुन्थ्यो । उहाँले १८ महिना मात्रै मुलुक चलाउनुभएको हो । अहिले पनि भूमिसुधारका नीतिहरू तिनै छन् ।

म आरक्षणको ठूलो विरोधी हुँ । त्यसको कारण पनि छ । मैले यो कुरा बीपीबाट सिकेको हुँ । बीपीले कहिले पनि आरक्षण गर्नुभएन । तर, उहाँको पालामा त्योभन्दा उत्कृष्ट समावेशीकरण कहिले पनि भएन । दिग्गज मान्छेलाई मन्त्री बनाउनुभएन । नेपालको इतिहासमा पहिलोपटक महिलालाई मन्त्री बनाउनुभयो । पार्टीमा परियारलाई महामन्त्री बनाउनुभयो । मन्त्रीहरू पनि कुनै वर्ग, जाति नछुटाई समावेशी थिए । जहाँ आरक्षण भनेर लेखिएको हुन्छ, त्यहाँ समस्या हुन्छ । आरक्षण सीमित व्यक्तिहरूमा रहन्छ । जसलाई आरक्षण चाहिँदैन, उसले पाइरहेको हुन्छ । आरक्षण सिमान्तकृतलाई चाहिने हो ।

कछाड लगाएको बाहुन पनि यही समाजमा छन् । कछाड लगाएको बाहुन भरिया छन् तिनीहरूलाई कहिले पनि आरक्षणको कुरा गरिँदैन । म साँचो लोकतन्त्रमा विश्वास गर्छु । सबैलाई अधिकार हुनुपर्छ ।

एउटा उदाहरण दिन्छु ः म, बुवा, आमा र बहिनी चेतना बनारसबाट पटना जाँदै थियौं । बीच बाटोमा आमाले चिया खान भन्नुभयो । अनि बाले बिहारको सशराम (जहाँ डोम, चमार बस्छन्) मा मेरो साथी पनि छ त्यहीं खाने भन्नुभयो । त्यो गरिबी र झुपडीको बीचमा एउटा आलिसान घर थियो । १० बिघाको जग्गाभित्र पर्खालले घेरेको घर थियो । तपार्इंले मेरो साथी भन्नुहुन्थ्यो तर तपाईंको साथी यति धनी कसरी भनेर बालाई आमाले सोध्नुभयो । अनि बाले जवाफ दिनुभयो, “यो जगजीवन राम हो । उनी भारतका रक्षामन्त्री हुन् उनी प्रधानमन्त्रीका पनि प्रमुख दावेदार हुन् ।” आमाले फेरि सोध्नुभयो, “यो चमार÷डोम होइन र ? यति ठूलो घर छ । अनि वरिपरि सबै झुपडी छन् तिनै डोम÷चमारका । बीचमा कसरी एउटा ठूलो घर भयो ?”

५० वर्षपछि अहिले पनि त्यो ठाउँमा त्यही आलिसान घर छ, ती झुपडी पनि त्यस्तै छन् । उनकी छोरी भारतको उपसभामुख भएकी छन् किनभने उनले आरक्षण पाएकी थिइन् । तर, त्यो समाजले केही पाएन । डोम÷चमारको नाममा उनी त्यहाँ पुगिन्, समाज जहाँको त्यही छ । आरक्षण अवसरका लागि हुन्छ, पदका लागि हुँदैन । डेमोक्रेसिको ब्युटी सबै स्वतन्त्र हुन् । सबै बराबर हुन् । आरक्षण सिमान्तकृत व्यक्तिलाई चाहिन्छ तर पदका लागि होइन, अवसरका लागि हो । यस्ता विषयमा बीपी जस्तो नेतृत्व भएको भए अर्कै हुन्थ्यो । हुन त कांग्रेसमा पनि अहिले गगन थापा, बद्री पाण्डे, विश्वप्रकाश शर्माजस्ता युवा नेताहरू छन्, जसले दृष्टि दिन सक्छन् । कांग्रेसको भविष्य राम्रै छ ।

भदौ १४ पनि शान्ति–प्रक्रिया टुंगो लागेन भने त्यसको विकल्प के हुन सक्छ ?

कांग्रेसको एउटै मुद्दा हो, त्यो हो शान्ति–प्रक्रिया । माओवादी लडाकुको समायोजन, व्यवस्थापन हुनैप¥यो । माओवादी मूल धारमा आउनैप¥यो । राजनीतिक दलको आधारमा बहुलवादको आधारमा उनीहरूले राजनीति गर्नुप¥यो । त्यो भयो भने भदौ १४ मा पनि शान्ति–प्रक्रिया टुंगो लागेर संविधान लेख्न सकिन्छ । कांग्रेसको डर अब अतिवादी नजन्मियोस् भन्ने हो । एउटा अतिवादी आयो भने ३० वर्ष फेरि लड्नुपर्छ । संविधान तीन वर्षपछि आए पनि हुन्छ । अहिले नेपालको धेरै अन्तराष्ट्रियकरण भएको छ । एक कल फोनमा एउटा मुलुकले ५० करोड रुपैयाँ पठाउँछ । अर्कातिर सबैभन्दा ठूलो दल माओवादीलाई सरकारमा जान नदिन अर्को देशले प्रयास गर्छ । त्यसैले, राष्ट्रियता नबुझी राजनीति हुँदैन ।

यहाँको पार्टी (कांग्रेस) भित्र संसदीय दलको नेता परिवर्तनको चर्चा निकै आइरहेको छ । परिवर्तनको तयारी भएकै हो ?

अहिले संसदीय दलको नेता रामचन्द्र पौडेल नै हुनुहुन्छ । तीनैजना मिलेर प्रस्ताव गरेमा कसैले अस्वीकार गर्दैन । अहिले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने आवश्यकता म देख्दिन । तर सबै दलहरू मिलेर शेरबहादुर जी नै हुनुपर्छ, माओवादीसहित मधेसी दलले हामी स्वीकार गर्छौं भनेमा र कांग्रेस केन्द्रीय समिति तथा संसदीय दलले निर्णय गर्छ भने अति उत्तम हुन्छ । यो मुद्दामा प्रवेश गर्दा कांग्रेस कमजोर भएर जान्छ । कांग्रेस कमजोर भए अरूले फाइदा लिन्छन् । कांग्रेसको मुख्य जिम्मेवारी यतिबेला छ । यस्तो बेलामा हामीले फितलो कुरा गर्नुहुँदैन ।

उपसभापति र महामन्त्रीको प्रस्ताव पारित गर्ने बेलामा सभापति सुशील कोइरालाले देउवालाई संसदीय दलको नेता बनाउँछु भन्नुभएको हो ? त्यतिबेलाको वार्तामा तपाईंको सहभागिता थियो रे नि त !

अर्कै मिटिङ भएको भए मलाई थाहा छैन । म पनि सहभागी मिटिङमा सभापतिले त्यस्तो भन्नुभएको होइन । सभापतिले “शेरबहादुर जी, तपाईंले सबैतिरबाट समर्थन पाउन सक्नुहुन्छ भने मेरो विरोध हुँदैन । म आफू प्रधानमन्त्री हुने होइन तर हाम्रो पार्टी र बाहिर पनि सहमति गर्न सक्नुपर्छ,” भन्नुभएको हो । कुरा यत्तिमात्र हो ।

अब सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी गर्छ कि गर्दैन ?

कांग्रेसको सरकारको नेतृत्वका लागि दाबी गर्छ तर हाम्रो मुख्य एजेन्डा सरकार होइन । शान्ति–प्रक्रिया नै हो । कांग्रेसले नेतृत्व पाएमा शान्ति र संविधानको कार्यभार पनि पूरा हुन्छ ।

१७ जुलाई २०११मा कारोबार् दैनिक् मा प्रकासित्.

No comments:

Post a Comment