Saturday, July 16, 2011

तरुणवर्गलाई बी. पी. कोइरालाको सन्देश

आजको जागरण बेलामा नेपाली समाजलाई चाहिने ऊर्जा र उत्साह केवल तरुणहरूले प्रदान गर्न सक्छन्। इतिहासको रथ तरुणहरूले तान्नु परेको छ। सैकडौँ वर्षदेखि नेपाली समाज इतिहासको राजपथका उपर गतिहीन भई थामिएर अडिरहेको थियो। आज बल्ल हाम्रो समाजमा २००७ सालको क्रान्तिको परिणामको सच्चा स्वरूप देखापरेको छ। यस सङ्क्रमण कालमा तरुणहरूको दायित्व सर्वाधिक छ। यदि तरुणहरू आफ्नो ऐतिहासिक दायित्वका प्रति उदासीन रहे या यस दायित्वलाई बुझेनन् या तदनुरूप सक्रिय भएनन् भने जागरणको उत्साह सेलाएर जानेछ, आजको सुप्रभात एउटा मिथ्या आलोक प्रमाणित हुनेछ र नेपाल सम्भवत: सदाका लागि पछि परेको परेकै रहने छ। यदि नेपाली जातिको आफ्नो विशेष नियति छ भने त्यसको निर्माण वर्तमान तरुणवर्गले मात्र गर्नसक्छ। यो गम्भीर एवं घोर सत्यलाई बुझेर नै तरुणहरूले हृदयङ्गम गर्नुपरेको छ। यस गम्भीर सत्यलाई बुझेर पनि तरुणहरूका प्रति म अभिमुख भएको छु। यस कारणले नै म तरुणहरूका प्रति आस्था राख्न प्रेरित भएको छु। मैले उनीहरूबाट आशा र भरोसा राखेको कारण पनि यही नै हो। मैले तरुणका प्रति आस्था राख्न छाडेँ भने नेपालको नियतिका प्रति पनि मैले आस्था त्याग्नु पर्छ।

प्रत्येक ऐतिहासिक कालका आफ्ना विशिष्ट समस्या तथा आदर्श हुन्छन् र ती समस्याको निराकरण गर्नसक्ने तत्व पनि त्यहीँ विद्यमान रहन्छन्—जुन तत्वले तात्कालिक समस्याहरूको समाधान गरेर निर्धारित आदर्शतिर समाजलाई अग्रसर तुल्याउँछ। मेरो विचारमा नेपालको वर्तमान ऐतिहासिक आदर्श प्रजातन्त्रको स्थापना हो र यसको मुख्य समस्या—प्रजातन्त्रको स्थापना कसरी गर्ने ? तरुणवर्ग हाम्रो समाजको त्यस्तो प्रभावयुक्त माध्यम हो जसद्वारा वर्तमान ऐतिहासिक आदर्शको प्राप्ति नेपाली जातिले गर्नसक्तछ। अर्थात् प्रजातन्त्रको स्थापनाको मुख्य जिम्मेदारी तरुणवर्गका उपर छ। नेपाली समाज जुन ऐतिहासिक कालमा अहिले अडेको छ त्यसमा प्रजातन्त्रभन्दा भिन्न अर्को कुनै आदर्श छैन।

नेपालका तरुणहरूले आजको आफ्नो दायित्व पूरा गर्न कटिबध्द हुनुपरेको छ। समाजका अरू तत्व र वर्गभन्दा बढी तरुणवर्गमा आदर्श भावना, नैतिकता, प्रजातान्त्रिक अनुशासनबध्दता, त्याग, सक्रियता, निर्भिकताको आवश्यकता छ, किनभने तरुणवर्गले नै क्रान्तिको शक्ति प्रदान गर्नुपर्छ र त्यसको परिपक्व नेतृत्व दिनसक्ने क्षमता राख्नु पर्छ। त्यसो हुनाले म प्रजातन्त्र पक्षको सबैभन्दा सक्षम पार्टी नेपाली कांग्रेसमा जसले देशका सर्वसाधारणमा आप्नाप्रति अटुट विश्वास जमाएको छ, तरुणहरूको बाहुल्य भएको देख्नचाहन्छु।

तपाईँहरूले मसँग सन्देश माग्नु भएको छ। तरुणलाई मेरो सन्देश छ—उत्साही हौ तरुण, तिमीले आँट्न सक्ने कुरा तिमी गर्नसक्छौ।


( तरुण के चाहन्छ ?, वाराणसी: तरुण प्रकाशन, संवत् २०३५), पृष्ठ १३-१४)

No comments:

Post a Comment