Sunday, June 26, 2011

तनहुँ, स्याङजा र पाल्पा रामपुर भ्रमणको दैनीकि

असार २, २०६८

आज बिहान ८.०० बजे हामी तनहुँ, स्याङ्जा र पाल्पाको भ्रमणमा प्रस्थान गर्‍यौँ। हाम्रो भ्रमण टोलीमा साथी वीरेन्द्र दाहाल, नेपाल विद्यार्थी संघका निवर्तमान सभापतिहरू प्रदिप पौडेल, विश्वप्रकाश शर्मा, नेपाल तरूण दलाका महासचिव पुष्पराज पराजुली, भरत तिवारी लगायतका साथीहरू सामेल हुनुहुन्छ। प्रदिप पौडेल र विश्वप्रकाश शर्मा भविष्यको राजनीतिका सम्भावनाहरू हुन् भन्ने मलाई लागेको छ। यी तरूणहरूको क्षमताले मलाई जहिले पनि आकर्षित तुल्याएको छ। असाध्य गर्मी। मुङ्लीनमा नवलपरासी क्षेत्र नं १ का महासमिति सदस्य भाई गजेन्द्र आले हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। उहाँलाई पनि हामीले हाम्रो टोलीमा सामेल गरायौँ। हामीहरू बिहान करिब ११ बजेतिर तनहुँ जिल्लाको सदरमुकाम दमौली आइ पुग्यौँ। दमौलीमा नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका निवर्तमान सभापति रघुनाथ पौडेलसहित ठूलो संख्यामा साथीहरू हाम्रो प्रतिक्षामा हुनुहुन्थ्यो। जिल्ला सभापति ध्रुव वाग्लेजी देश बाहिर हुनुहुँदो रहेछ। रघुजी अत्यन्त राम्रो राजनीतिक सुजभुझ भएको व्यक्ति हुनुहुन्छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रति पूर्ण समर्पण। यस्तै साथीहरूको समर्पण र प्रतिवध्दताका कारण नेपाली कांग्रेस जहिले पनि उर्जाशील रहेको छ। रघुजी अत्यन्त निष्ठावान राजनीतिक प्राणी। विश्वप्रकाशले हामीलाई दमौलीमा नै छाड्दैछन। विश्व म्याग्दीका साथीहरूलाई प्रशिक्षण दिन दमौलीबाट हामीसँग छुट्टीन्छन।

दमौलीमा साथीहरूसँगको सामान्य परिचय पछि साथीहरूले आयोजना गरेको दिउसोको खाना खान हाम्रो टोली मार्फाली होटलमा प्रवेश गर्दछ। यस मार्फाली होटलले पञ्चायतको कालरात्रीकाल देखि आजसम्मको नेपाली कांग्रेसको अनवरत यात्रालाई साथ दिँदै आएको छ। तानाशाही निरंकुश पञ्चायती व्यवस्थाले हाम्रा साथीहरूलाई गिरफ्तार गरेर दमौलीको प्रहरी हिरासतमा राख्दा यही होटलबाट थकाल्नी दिदीले खाना पुर्‍यायी दिनुहुन्थ्यो, ओड्ने ओछ्याउने नभएकाहरूलाई त्यो पनि पुर्‍यादिनु हुन्थ्यो।

तनहुँ आउँदा म धेरै ‘नोष्टाल्जिक’ हुन्छु। आदि कवि भानुभक्तको तनहुँ, मोतीराम भट्टको तनहुँ, कविराज रामप्रसाद खनालको तनहुँ, सरदार यदुनाथ खनालको तनहुँ, गोवर्धन शर्मा, कृष्णदत्त वाग्ले, धर्मध्वज गुरुङ र शीवदत्त पौडेलको तनहुँ। तनहुँसुरका हवल्दार सन्तबहादुर राना, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ र चन्द्रबहादुर सर्कीको तनहुँ। पुलिमराङका धर्मध्वज गुरुङ र वसन्तपुरका खड्गबहादुर गोदारको तनहुँ। पदमबहादुर आलेको तनहुँ। तनहुँ भनेको राजनीतिक चेतनाको मुहान। बाहुन समाजले सर्वप्रथम हलो जोत्ने निर्णय गरेको तनहुँ। हलो-आन्दोलनको अगुवास्थल तनहुँ। दुराडाँडामा ‘हलो जोत’ आन्दोलनको प्रारम्भ भएको तनहुँ। यो हलो जोत आन्दोलनका हस्तीहरू हुन्—कविराज रामप्रसाद खनाल, विष्णुहरी खनाल, भुवनेश्वर ढकाल र उमाभद्र खनाल। यहाँ प्रजातन्त्रको पहिलो विजारोपण २००५ साल वैशाखमा भएको थियो सिमपानी भन्ने गाउँमा र यसको जगमा पहिलो शीला राख्नु भएको थियो आदरणीय स्व. श्रीभद्र शर्माले।

श्रीभद्रजीको नाम लिने वित्तिकै मेरो स्मृतिपटलमा धेरै कुराहरू आउँछन्। बी पी कोइराला र श्रीभद्रजीको अत्यन्त राम्रो सम्बन्ध थियो। श्रीभद्रजीले म सानै हुँदा सुनाउनुभएको एउटा रोचक घटना थियो, त्यो के भने—नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस दुबैको एकीकरण गरी नयाँ पार्टी गठन गरेर नेपालमा प्रजातन्त्र स्थापना गर्ने भनेर बी पी कोइराला र सुवर्ण शमशेरका बीच सहमति भइसकेको रहेछ। पार्टीको नयाँ नाम राख्दा नेपाली राष्ट्रिय कांग्रेसको नामबाट “राष्ट्रिय” शब्द र प्रजातन्त्र कांग्रेसको नामबाट “प्रजातन्त्र” शब्द हटाउने। तर यतिले मात्र पार्टी गठन हुँदैनथ्यो। एकिकृतका सबै विषयहरू पहिलेनै टुंगो लागे पनि पार्टीको नामको अन्तिम टुंगो लाग्न सकेको थिएन। नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबाट बीचको शब्द हटेपछि नेपाल र नेपाली शब्दको पार्थक्यले गर्दा अब नयाँ बन्ने पार्टीको नाम नेपाली कांग्रेस हुने कि नेपाल कांग्रेस हुने भन्ने तर्फ कसैको ध्यान गएको रहेनछ। एकातिर प्रजातन्त्र भन्ने शब्द हट्ने र अर्कातिर राष्ट्रिय शब्द हटेकाले आम जनतामा कस्तो सन्देश जाला भनेर बी पी चिन्तित हुनुभएको रहेछ। बी पी ले मलाई संस्कृतको अध्येता भनेर यसबारेमा छलफल गर्न बोलाउनु भयो। मैले बी पीलाई भने—“नेपाली” शब्दले राष्ट्रियताको बोध गराउन सक्छ “नेपाल” शब्दबाट हुन सक्दैन भनेर उहाँलाई आश्वश्त पारेँ। हुन पनि हो ‘नेपाल’ शब्दले त राष्ट्रको नामलाई मात्र अर्थ्याउँछ राष्ट्रियताको व्यापकतालाई नेपालले छुँदैन। तसर्थ हाम्रो पार्टीको नाम “नेपाली कांग्रेस” रहन गयो।

अब फेरी यात्रा तर्फ नै लौटौ। दिउसोको खाना पछि मिलन केन्द्रको हलमा दमौलीमा भेला भएका साथीहरूसँग अन्तरक्रिया भयो। ठूलो संख्यामा साथीहरूको उपस्थिति थियो। मैले आफ्नो सम्वोधनमा भनेँ—नेपाली कांग्रेस अहिले दुइटा अतिवादको चपेटामा परेको छ। यी दुइटा अतिवादबाट यस राष्ट्रलाई मुक्त पार्ने जिम्मा अबको नेपाली कांग्रेसको काँधमा आएको छ। यो जिम्मेवारी पूरा गर्न अबको नेपाली कांग्रेस गाउँमुखि हुन आवश्यक छ। अबको नेपाली कांग्रेसले भ्रष्टाचारको विरूध्द सशक्त आवाज उठाउनु पर्दछ। जेठ १४ गते राती हामीले पाँचबुँदे सहमति गर्दा हाम्रो अडानलाई कत्ति पनि छाडेका छैनौ। भदौ १४ पछि हामी पुन: संविधानसभाको म्याद थप्दैनौ। मेरो यो भ्रमण भदौ १४ पछि उत्पन्न हुने परिस्थितिलाई मध्यनजर राख्दै हाम्रा साथीहरूले जनताका माझमा जानुपर्दछ भन्ने आग्रहका लागि हो। तसर्थ तपाई साथीहरू अझ सक्रिय भएर जनताका घरदैलोमा जानुहोस् र भदौ १४ पछि उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार हुनहोस्।

दिनको २ बजेपछि हाम्रो टोली खैरेनीटारतर्फ बढ्यो। अब हाम्रो टोलीमा सामेल हुनुभएको छ रघुनाथ पौडेल, ३ नं क्षेत्रका क्षेत्रीय सभापति महेश्वर भट्टराई, महासमिति सदस्य ताराराज राना, ऋषीराम पोखरेल, खैरेनीटार गा वि सका तरुणदलका सभापति रवी केसी लगायत थुप्रै साथीहरू सामेल हुनुहुन्छ। रघुनाथजी साथमा भएपछि म ढुक्क हुन्छु, उहाँको जुन सम्मान र प्रतिष्ठा छ त्यस जिल्लामा त्यसको प्रसंशा गर्नै पर्दछ। दमौलीबाट हाम्रो टोलीमा नेपाली कांग्रेसको चारतारे झण्डा फहराएका पचासौँ मोटरसाइकलमा सवार युवा, विद्यार्थी र तरूण भाइहरूले हाम्रो टोलीलाई अगुवाई गर्नु भएको थियो। ती युवा साथीहरूको उत्साह, समर्पण र उर्जा देखेर एक हिसावले मलाई सन्तुष्ट र उत्साहित बनाएको थियो भने अर्कातिर यीनीहरूको जोश, जाँगर, समर्पण र प्रतिवध्दताका बावजुद हाम्रो देशमा लोकतन्त्र संस्थागत हुन्छ कि हुँदैन भन्ने चिन्ताले सताएको छ। अबको नेपाली कांग्रेसले यी युवाहरूलाई सम्बोधन गर्नै पर्दछ। खैरेनीटारमा धेरै साथीहरू हाम्रो प्रतिक्षामा हुनहुँदो रहेछ। खैरेनीटारमा नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयमा क्षेत्रीय सभापति महेश्वर भट्टराईको सभापतित्वमा कार्यक्रम भयो। खैरेनीटारबाट हाम्रो टोलीमा तरुणदलकी केन्द्रीय सदस्य बहिनी वृन्दा राना सामेल हुन्छिन्। २ घण्टाको अन्तरक्रिया पछि हाम्रो टोली भीमादका लागि प्रस्थान गर्दछ।

बेलुका ५ बजे हामी भीमाद पुग्छौ। आजको हाम्रो वास भिमादमा नै हुन्छ। भीमादमा बलराम पराजुली (इकाई सभापति), जीतप्रकाश आले लगायत धेरै साथीहरू हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। भीमाद तनहूँको पुरानो बजार हो। जीतप्रकाश स्व पदमबहादुर आलेका सुपुत्र हुन्। अत्यन्त सरल, सहृदयी र राजनीतिक सुजबुझ भएका तरूण हुन जीतप्रकाश। दमौलीभन्दा पनि पुरानो भीमाद। जमानाको व्यापारिक केन्द्र। अहिले पनि निकै ठूलो बजार छ। भीमादमा बलराम पराजुलीको सभापतित्वमा गाविस भवनको प्रांगणमा अन्तरक्रिया सम्पन्न भयो। आजका सबै ठाउँहरूमा साथीहरूको एउटै चिन्ता—लोकतन्त्रलाई कसरी संस्थागत गर्ने। कम्युनिष्ट र राजावादीहरूको षडयन्त्रबाट कसरी देशलाई जोगाउने भन्नेमा सबै साथीहरू बढी चिन्तित हुनुहुन्थ्यो। राती पनि साथीहरूसँग छलफल भए। भीमादमा निकै धेरै गर्मी छ।

असार ३, २०६८
भीमादबाट हाम्रो टोली बिहान ८ बजे स्याङ्जा जिल्ला क्षेत्र नं ३ को साखरतर्फ प्रस्थान गर्दछ। हामी स्व. पदमबहादुर आलेको गाउँ मिछुर्लुङ पुग्दछौ। पदमबहादुर आले २०१५ सालमा नेपाली कांग्रेसको उमेद्वार भएर यस क्षेत्रबाट अत्याधीक मत ल्याएर विजय बन्नु भएको थियो। मिछुर्लुङमा मगर समुदायका भाई-बैनी र आमाहरूले हाम्रो स्वागत गर्नुहुन्छ। मिछुर्लुङमा हाम्रो भेट हुन्छ एकजना वृध्द—८४ वर्षीय रणबहादुर थापा मगरसँग भेट हुन्छ। उहाँ पनि हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। उहाँले बी पी कोइराला प्रधानमन्त्री भएपछि भेटहुँदा बी पीले भनेका कुराहरू बडो रोचक तरिकाले सुनाउनु भयो। उहाँका अनुसार—म तपाईहरूलाई दु:ख दिने मान्छे हुँ भनेर बी पीले भन्नुभयो। राष्ट्र बनाउने हो भने दु:ख नै हुन्छ। नेपाली कांग्रेसका कार्यकर्ताले अब झन बढी काम गर्नु पर्दछ। पार्टी सरकारमा गयो, नेपाली कांग्रेसले सरकार बनायो भनेर तपाईहरू चुप्प लागेर बस्नु हुँदैन। झन धेरै काम गर्नु पर्दछ। तपाईहरू मलाई भेट्न आउँदा यति काम गर्‍यौँ भनेर कामको विवरण लिएर मात्र आउनुहोस्। अत्यन्त सहृदयी व्यक्ति। मगर समुदाय त्यसै पनि सरल र सहृदयी। वर्षातको समय भएका कारण जताततै हरियाली। गरीबी र पछौटेपनका कारण बालबालिकाहरू कुपोषणका शीकार। हाम्रा गाउँघरको अवस्था अत्यन्त दयनीय रहेको छ। बाटो खराब मात्र होईन डरलाग्दो पनि।

मिछुर्लुङबाट हामी सामु भगवतीपुर गाउँ विकास समितिको मानपुर बजारतर्फ हाम्रो टोली प्रस्थान गर्दछ। मानपुरमा धेरै साथीहरू हाम्रो प्रतिक्षामा रहनुभएको रहेछ। मानपुर अत्यन्त रमणीय स्थल। अलिक सम्पन्न पनि। सामु हटिया पुरानो नेवार समुदायको बस्ती। हामीले आज दिउसोको खाना यही खायौ। बडो स्वादिलो खाना। बाटो एकदम डर लाग्दो। खानापछि सुशीलकुमार श्रेष्ठको सभातित्वमा कार्यक्रमको सुरु। यहाँ पनि साथीहरूको एउटै चिन्ता—कम्युनिष्टहरूको चंगुलबाट राष्ट्रलाई कसरी मुक्त पार्ने ? भदौ १४ पछि के हुन्छ ? मैले आफ्नो सम्बोधनमा भदौ १४ पछि उत्पन्न हुने परिस्थितिको सामना गर्न प्रजातान्त्रप्रेमी सबै सजग हुनुपर्दछ र त्यतिबेला उत्पन्न हुने परिस्थितिको डटेर सामना गर्नु पर्दछ भने। मेरो यो भ्रमण भदौ १४ पछिको तयारीका लागि हो भनेर साथीहरूलाई सम्झाएँ। मानपुरको हाम्रो कार्यक्रममा पुराना बामपन्थी नेता तुलसीप्रसाद श्रेष्ठ पनि आउनुभएको थियो। उहाँ धेरै वृध्द हुनुहुन्छ। लोकतन्त्रलाई संस्थागत गर्न तपाईको प्रयास सफल होस भनेर मलाई ढाढस र शुभकामना दिनुभयो।

मानपुर बजारबाट हाम्रो टोली गजरकोट गाउँ विकास समितिको काठेकोटतर्फ प्रस्थान गर्दछ। धेरै साथीहरू हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। यहाँ गर्मी निकै रहेछ। काठेकोटमा ठूलो संख्यामा दिदी-बैनीहरूको उपस्थिति। यस ठाउँमा खानेपानी ठूलो समस्या रहेछ। ७५-८० घरको बस्तीमा खानेपानी नै छैन। बस्तिभन्दा धेरै तल एउटा सानो मुहान रहेछ र त्यस मुहानले पनि यथेष्ट पानी नपुग्नका कारण त्यहाँको कुवालाई ताला लगाएर राख्ने गरेको रहेछ। प्रत्येक दिन एक घरले तीन गाग्री मात्र पानी पाउँदा रहेछन। सिँचाईको त कुरै भएन। त्यस बस्तीमा पानीको व्यवस्था नहुने हो भने केही वर्षमै त्यहाँका वासिन्दाले विस्थापित हुनुपर्दछ। यहाँ सयकडौको मात्रामा दिदी-बैनी र आमाहरूको उपस्थिति थियो। उहाँहरूको सबैभन्दा ठूलो चिन्ता भनेको पानीको मुहान सुकेपछिको विस्थापन। एउटी महिलालाई एक गाग्री पानी घरमा ल्याउनका लागि डेडघण्टासम्म विताउनुपर्दाको पीडा। यो पीडा हाम्रा सबै गाउँ-बस्तीमा रहेको छ। लेमबहादुर थापा मगरको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम। थुप्रै साथीहरूको जिज्ञासाका कारण बेलुका ६ बजेसम्म कार्यक्रम। अब हाम्रो टोलीबाट रघुनाथ पौडेल, ताराराज राना, महेश्वर भट्टराई लगायतका साथीहरू छुट्टीनु हुन्छ। उहाँहरू सबै दमौलीतर्फ लाग्नुभयो भने हाम्रो टोली स्याङजा जिल्लाको ३ नं क्षेत्रको साखरतर्फ लाग्छ।

हामीलाई लिन साखरबाट केही युवा साथीहरू मोटरसाकल लिएर हाम्रो अगुवाईका लागि आउनुभएको छ। साखर प्रवेश गरेपछि सर्वप्रथम आमा समूहका दिदी-बैनी र आमाहरूले हाम्रो टोलीलाई स्वागत गर्नुभयो। हामी साखर पुग्दा बेलुकाको ७.३० बजिसकेको थियो। साखर कालीगण्डकीको किनारामा रहेको छ। अत्यन्त राम्रो अन्नबाली हुने ठाउँ। साखरमा केलादी घाट रहेछ। धार्मिक दृष्टीकोणले महत्वपूर्ण। कालीगण्डकी किनारमा रहेका पवित्रस्थल मध्ये एक। जसरी कागबेनी र देवघाट छन्। राधा दामोदर संस्कृत विद्यापीठ। नेपाल विद्यार्थी संघले स्याङजा जिल्लामा स्ववियु निर्वाचन जितेको एकमात्र स्थान। साखरमा स्याङजा क्षेत्र नं ३ का सभापति इश्वर खाँड आउनु भएको रहेछ। इश्वरजी अत्यन्त सरल र सहृदयी युवा हुनुहुन्छ। उहाँमा छलकपट र ‘डबल स्टान्डर्ड’ छैन। द्वैध चरित्र नभएको व्यक्तिनै राजनीतिमा सफल हुन्छ जस्तो मलाई लाग्छ। आजको हाम्रो वास यही सुन्दर फाँट साखरमा हुन्छ।

दिउसोभरीको गर्मी, डरलाग्दो बाटो र धेरै ठाउँमा बोल्नु परेका कारण शरीर प्रचुरमात्रामा थाकेको छ। थाकेका कारण बेलुका साथीहरूसँग गफगाफ नगर्ने भनेर बिदा गरेँ। राती मुसल्धार पानी पर्‍यो। पानी परेपछि म त्यो कहाली लाग्दो बाटो सम्झन्छु, रातो माटो सम्झन्छु र गाडीचालक भाईहरूको दक्षताको कदर गर्न मन लाग्छ। जीवनलाई हत्केलामा राखेर उनीहरू गाडी चलाई रहेका छने भने हामीले आफ्नो प्राणलाई उनीहरूको दक्ष हातमा सुम्पिएका छौ।

असार ४, २०६८
बिहानको ७ बजिसकेको छ। हामीले हाम्रो सवारीसाधनलाई यहीँ साखरमा छाडेर कालीगण्डकी झोलुंगे पुलबाट तरेर पाल्पा जिल्लाको रामपुर फाँटमा जानु छ। हिजो बेलुका आउन ढीलो भएका कारण साखर र वरपरका क्षेत्रका साथीहरूलाई आज बिहान भेट्ने र अन्तरक्रिया गर्ने हाम्रो कार्यक्रम रहेको छ। बिहान ८ बजे थुप्रै साथीहरू जम्मा हुनुभएको छ। यहाँ पनि महिला सहभागित उल्लेख्यनीय रहेको छ। यो सकारात्मक पक्ष हो। यो गाउँ अलिक सम्पन्न र शिक्षित पनि रहेछ, भाई-बैनीहरू पनि सचेत र सजग। हामीले अलिकति मात्रै डोर्‍याउने हो भने हाम्रो समाजलाई रूपान्तरण गर्न त्यती कठिन छ जस्तो लाग्दैन। तर प्रतिवध्दता चाहिन्छ। अहिले हाम्रो नेपाली समाज द्विविधामा छ। बाटो खोजीरहेको छ। हाम्रो समाज अत्यन्त पीडित छ। हामी परम्परा त्याग्ने प्रयत्नमा छौ तर अबको हाम्रो अर्को फड्को के हो भन्न सकिरहेका छैनौ। सायद समाजको संक्रमणकाल यसैलाई भन्छन् होला ! समाज परिवर्तन गर्छौ भन्नेहरूले नै बाटो बिराए जस्तो छ।

साखरमा ज्ञानेश्वर वस्ताकोटीको सभापतित्वमा बिहान ८ बजे अन्तरक्रिया कार्यक्रम। क्षेत्रीय सभापति इश्वर खाँडले छोटो तर व्यबहारिक सम्बोधन गर्नुभयो। त्यहाँका स्कुल र क्यम्पसका भाई-बैनीहरूका लागि चाहिने खेलकुदका सामाग्री लिन आउनु भनेर प्रतिवध्दता व्यक्त गर्नुभयो। सबै भाइ-बैनीहरूलाई उत्साहित बनाउनुभयो। आजको सभामा सबैभन्दा राम्रो बोले भाई प्रदीप पौडेलले। प्रदीप प्रतिभाशाली युवा हुन्। उनको राजनीतिक सम्भावना प्रचुर मात्रामा छ। प्रदीपले गाउँका सर्वसाधारण र हाम्रा कार्यकर्ता साथीहरूलाई बुझ्नेगरी नेपाली कांग्रेसको यथार्थता प्रष्ट पारे। उनको सम्बोधनको मर्म थियो—एउटा नेपाली कांग्रेसको कार्यकर्तालाई माओवादी अथवा अन्य कुनैपनि राजनीतिक दलका व्यक्तिहरूले आक्रमण गर्दा देशभरीका सबै कांग्रेसले हामीलाई आक्रमण गरेको ठान्नु पर्‍यो। साखरको कांग्रेसमाथी आक्रमण हुँदा डडेलधुरा, ताप्लेजुङ, तनहुँ, जनकपुर आदिस्थानका कार्यकर्ताले आफूमाथी आक्रमण भएको ठान्नु पर्‍यो। यो भावनाले मात्र नेपाली कांग्रेस एक हुन सक्छ।

हाम्रो देशका शिक्षित नेताहरू सत्ता संघर्षमा लिप्त भएर राष्ट्रलाई अघि बढाउन सकिरहेका छैनन्। आफूले मौका पाएसम्म कुनैपनि अवस्थामा अरूलाई मौका नदिने प्रवृत्तिले हाम्रो राजनीतिलाई गाँजेको छ। मैलेसाथीहरूलाई सम्बोधन गर्दै भने—यस राष्ट्रले नयाँ बाटो खोजी रहेको छ। हामी संक्रमणमा छौ। नेपाल आमा अहिले प्रसव वेदनामा छिन। यति लामो र कष्टपूर्ण वेदना कुनै पनि आमाकालगि असैह्य हो तर नेपाल आमाले सहिराखेकी छन। हामीले अब नेपाल राष्ट्रलाई वेदनाबाट मुक्त पार्नु पर्दछ। त्यसका लागि अबको नेपाली कांग्रेस भ्रष्टाचारीहरूबाट मुक्त हुनुपर्दछ। भ्रष्टाचारका विरुध्द हामीले गाउँगाउँमा अभियान सञ्चालन गर्नु पर्दछ। भ्रष्टाचार अविकसित र पछौटेपनमा फैलिने रोग हो। भ्रष्टाचारका विरूध्द अबको युवा जमात लाग्नु पर्दछ। अबको नेपाली कांग्रेस गाउँमुखि हुनुपर्दछ। यो राष्ट्रको अवस्था यस्तो हुनुमा २०१७ साल पुष १ गतेको राजा महेन्द्रको राष्ट्रघाती कदम र २०५२ सालदेखि माओवादीले एकदलीय सर्वसत्तावाद स्थापनाकालागि थालेको विध्वंश। यी दुबै अतिवादका कारण हाम्रो राष्ट्रको यो अवस्था भएको हो। हामीहरूले पनि गल्ती गरेका छौ, नेपाली कांग्रेसले पनि गल्ती गरेको छ नगरेको होइन। सत्तामा पुगेपछि हामीले गाउँलाई बिर्सियौ, भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेनौ। नेपाली कांग्रेसले विचारको राजनीतिलाई सत्तामा रहँदा छाडेको हो। तर, यसोभनेर नेपाली कांग्रेसका कार्यकर्ताहरूले पुल भत्काएनन्, विकासका पूर्वाधारहरूले नष्ट पारेनन्, कसैको सम्पत्ति जवरजस्ती कब्जा गरेनन्। किनभने नेपाली कांग्रेसको विश्वास जनतामा छ।

सम्बोधनको क्रममा मैले भनेँ—माओवादीले एकदलीय सर्वसत्तवाद नेपाली जनताको शीरमा थोपर्न १६ हजार नेपालीको हत्या गर्‍यो। लाखौ नेपाली जनतालाई घरबारवीहिन तुल्यायो। तर, माओवादीले यहाँ कम्युनिष्ट शासन स्थापना गर्न सकेन। त्यो किनभने नेपाली जनता बहुलवादमा विश्वास गर्दछन। नेपाली कांग्रेसका हजारौ कार्यकर्ताको हत्या गर्‍यो तर हामीले बोकेको विचारको हत्या गर्न सकेन।

बिहानको ९ बजीसकेको छ। अब हामी पाल्पा जिल्लाको रामपुरतर्फ प्रस्थान गर्दछौ। हामीसँग धेरै साथीहरू हुनुहुन्छ। लगभग एकघण्टाको पदयात्रापछि हामी रामपुर फाँटको दर्था पुग्छौ। त्यहाँ ठूलो संख्यामा स्थानीयवासीहरु हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ। यहाँ दिदी-बैनी र आमाहरूको सह्रानीय उपस्थिति थियो। उहाँहरूले हाम्रो दिल खोलेर स्वागत गर्नुभयो। सामान्य चीनजानपछि हामी मुख्य कार्यक्रमस्थल तर्फ जान्छौ। प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको भेटघाटको कार्यक्रमभन्दा पहिला हामी नेपाली कांग्रेसका बयोवृध्द कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि रमनबहादुर थापाका पीताजी बीरबहादुर थापाको निधन भएकोमा समवेदना दिन र शोक व्यक्त गर्न उहाँहरूको निवास पुग्दछौ। स्व. बीरबहादुर थापाका चारैजना छोरा—ढालबहादुर थापा, श्यामबहादुर थापा, हेमबहादुर थापा र रमनबहादुर थापा र उहाँहरूको सम्पूर्ण परिवारलाई भेटी समवेदना व्यक्त गर्दछौ। यहाँ पाल्पा जिल्लाका नेपाली कांग्रेसका सभापति वीरबहादुर राना, तरुणदल पाल्पाका सभापति भुषण राजलवट, महासमिति सदस्य कृष्ण अधिकारी, नेविसंघका पूर्व केन्द्रीय सदस्य हीमालदत्त श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अजय कर्माचार्य, तरुणदलकी केन्द्रीय सदस्य कल्पना तिवारी लगायतका साथीहरू आइपुग्नु भयो। वीरबहादुरजी प्रचुरमात्रामा राजनीतिक सम्भावना भएको व्यक्ति हुनुहुन्छ। कल्पना प्रतिवध्द कार्यकर्ता हुन्।

रमनजीको सम्पूर्ण परिवारजनलाई समवेदना दिएर हाम्रो टोली प्रेस युनियनको कार्यक्रममा भाग लिन दरैथाती उच्च मा विको हलमा पुग्दछौ। यो सामुदायिक विद्यालय गत वर्ष नेपाल टप भएको थियो। पत्रकार साथीहरूले धेरै जिज्ञासाहरू राख्नुभयो। सबै प्रश्नहरूलाई ‘समअप’ गर्दै मैले भनेँ—अबको नेपाली कांग्रेस परिणाममुखि हुनु पर्दछ। अतिवादले राष्ट्रलाई बन्धक बनाएको छ, यो राष्ट्र जस्तोसुकै प्रकारको अतिवादबाट मुक्त हुन चाहन्छ। अतिवादले स्वतन्त्र लेखनलाई सहँदैन, सञ्चारमाध्यमलाई ऊ शत्रु ठान्दछ। अहिले पत्रकारहरूमाथी आक्रमण भइरहेको छ, भर्खरै विराटनगरमा सांघातिक आक्रमण भयो। आक्रमण किन भयो भने पत्रकार ढकाल भाइले सत्य समाचार लेखेर पठाए। राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि सबभन्दा पहिला प्रेसमाथी आक्रमण गरे। माओवादीले शासन सम्हालेपछि ‘हिमाल खबरपत्रिका’, ‘अन्न्पूर्ण पोष्ट’ र ‘The Himalayan Times’ को प्रकाशन गृहमाथी आक्रमण गरे, ‘कान्तिपुर’ पब्लिकेशनमाथी आक्रमण गरे। छापीएर बजारमा पुगेको हिमाल खबरपत्रिकालाई हरेक दोकानमा गएर आगो लगाए। यो अतिवाद र स्वतन्त्र सञ्चारका दुश्मनहरूको उदण्डताको सानो उदाहरण हो। कुनै पनि एकदलीय सर्वसत्तावादी स्वतन्त्र प्रेसको विरोधी हुन्छ। तसर्थ तपाईहरूले अतिवादका विरुध्द कलम चलाउनुहोस, भदौ १४ पछि उत्पन्न हुने परिस्थितको सामना गर्नका लागि जनमत तयार पार्न कलम चलाउनुहोस।

एउटा अर्को प्रसंगमा मैले भने—यहाँ धेरै प्रश्नहरू साथीहरूले राख्नुभयो। केन्द्रीय समितिका साथीहरूले कस्ले के भन्यो, कसले के भन्यो भनेर धेरै कुराहरू आए। म यसस्म्बन्धमा के भन्न चाहन्छु भने जेठ २८ र २९ मा सम्पन्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाले पारित गरेको र केन्द्रीय कार्य समितिले अनुमोदन गरेको जुन दस्तावेज छ त्यही नै नेपाली कांग्रेसको आगामी कार्यक्रम हो र नीति पनि हो। व्यक्तिगत धारणाहरू पट्टी ध्यान नदिनुहोस्।

एक प्रसंगमा मैले भने—२०५२ सालमा के भएको थियो ?

यसपछि हामी दिउसोको खानाका लागि साथी ठाकुर भट्टराईको घरतर्फ लाग्दछौ। ठाकुरजीको परिवार अत्यन्त सरल र सहृदयी रहेछ। छरछिमेकको सहयोग देख्दा मलाई लाग्यो नेपाली कांग्रेसको संस्कृति भनेको त यो पो हो। आपसी सहयोग र सहयात्रा। न कसैका प्रति भेदभाव छ न त नकारात्मक सोच नै। सबैतिर नेपाली कांग्रेसका साथीहरूले यस्तै संस्कृतिको विकास गर्न आवश्यक छ। यत्रो ठूलो टोलीलाई घरका सबै मिलेर बडो चुस्त तरिकाले अत्यन्त स्वादिलो खाना खुवाउनुभयो।

अब हामी लाग्दछौ मुख्य कार्यक्रमस्थल तर्फ। कार्यक्रमस्थलमा पुगेको केहीबेर पछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र वीजय घिमिरे काठमाण्डूबाट आइपुग्नुहुन्छ। आजको हाम्रो तरुण दलको जनजागरण अभियानको महत्वपूर्ण कार्यक्रम हो आमसभा। यो आमसभाको आयोजना हुँदैछ ठूलो टार मटेरीमा। यस सभाका सभापति हुनुहुन्छ तरुण दल पाल्पा क्षेत्र नं १ का सभापति हुमनाथ न्यौपाने। खेतीपातीको समयमा पनि यत्रो ठूलो आमसभा मैले सोचेको पनि थिइन। दिदी-बैनी र आमाहरूको उल्लेक्खीय उपस्थिति।

सुशीलदा भोली दिउसो नियमित स्वास्थ्य परिक्षणका लागि अमेरिका जाँदै हुनुहुन्छ। आज बिहान सम्पर्क भएको थियो। मैले कुनै पनि अवस्थामा काठमाण्डू पुग्नु पर्ने भएको छ। तसर्थ मैले यस आमसभालाई अलिक छिटै सम्वोधन गर्नुपर्ने निर्णय गरे। यसका लागि मैले जिल्ला सभापति वीरबहादुर राना र केन्द्रीय सदस्य राजन पन्तजीसँग सल्लाह गरेर छिटै सम्वोधन गरेर स्याङजाको वालिङ हुँदै पोखरा भएर काठमाण्डू पुग्ने निर्णय गरे। अरु साथीहरूलाई कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेँ जस्लाई उहाँहरूले सहृदय स्वीकार गर्नुभयो। मेरो सम्वोधनभन्दा पहिला भाई प्रदीप पौडेलले सभालाई सम्वोधन गर्नुभयो। उत्कृष्ट सम्बोधन। रामपुरको सभालाई सम्बोधन गर्दै मैले भनेँ—हाम्रो राष्ट्र अहिले संकटमा छ। यो संकट दुइटा अतिवादले जन्माएको हो। अतिवादलाई परास्त नगरेसम्म यो संकट रहिरहन्छ। हाम्रो देशको राजनीतिमा विकृति पलाएको छ। हामी आज पवित्र कालीगण्डकीको किनारमा जम्मा भएका छौ। यदि कालीगण्डकीको मुहान नै प्रदुषित भएको छ भने हामीले प्रात:कालमा यीनको जल आचन गर्नुको कुनै अर्थ छैन। तसर्थ राजनीतिलाई पनि स्वच्छ नैतिकवान बानउनु पर्‍यो। त्यसकारण अबको नेपाली कांग्रेसले भ्रष्टाचारका विरुध्द सशक्त अभियान सञ्चालन गर्नु पर्दछ। अबको नेपाली कांग्रेस भ्रष्टाचारबीहीन हुनु पर्दछ। हाम्रा युवा साथीहरू भ्रष्टाचारका विरुध्द लड्न तयार हुनुहोस्। नेपाली कांग्रेस भनेको विचार हो। हामीले विचारको राजनीति गर्नु पर्दछ। विचारको राजनीति पारदर्शि हुन्छ। प्रजातन्त्र अथवा लोकतन्त्र जेसुकै भनौ, यसको विकल्प संसारमा आजसम्म देखा परेको छैन। तर लोकतन्त्रको बहानामा राजनीतिमा अतिवाद प्रवेश गर्यो भने, राज्य संचालनमा अपारदर्शिता, स्वेच्छाचरिता, विवेकहिनता र अपरिपक्वताको बाहुल्य रह्यो भने लोकतन्त्र अथवा प्रजातन्त्र विफल हुन्छ। प्रजातन्त्र विफल बनाउनका लागि एकदलीय सर्वसत्तावादीहरू आज एक भएका छन। लोकतन्त्रको विफलता पछिकतै सैनिक, कतै धार्मिक र कै कम्युनिष्ट अधिनयकवादीहरू स्थापित भएका छन। हाम्रो देशमा आज भ्रष्टाचार व्याप्त भएको छ। नेपाली कांग्रेसभित्र पनि भ्रष्टाचारीहरूले प्रवेश गरेका छन। भ्रष्टाचारले प्रतिक्रान्तिको वातावरण पैदा गर्दछ। प्रजातान्त्रिक व्यवस्था, पध्दति अथवा अभ्यास जे भनौ अत्यन्त संवेदनशील राजनीतिक व्यवस्था हो। नेपाली कांग्रेसले अँगालेको विचार अर्थात् राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हजारौँ वर्षको अनुभव, अभ्यास, अध्ययन, अनुसन्धान र विश्लेषणपछि विकास भएको सिध्दान्तको राजमार्गमा हिडेको राजनीतिक प्रणाली हो। र यस प्रणालीमा विधिको शासन, समानता, स्वतन्त्रता, पारदर्शिता, एकापसको नियन्त्रण र सन्तुलन प्रजातन्त्रका लक्ष्मण रेखा हुन्। यो रेखाको उलंघन हुनु भनेको विनास निम्त्याउनु हो।

नेपाल बढी भ्रष्टाचार हुने मुलुक बन्न पुगेको छ। हाम्रो प्रेसले निरन्तर आफ्नो स्वतन्त्रताको उच्चतम प्रयोग गर्ने प्रतिबद्धता जाहेर गरिराखेको छ। त्यसकारण आज प्रेसमाथी सुनियोजित तरिकाले आक्रमण भइरहेको छ। नेपाली कांग्रेस स्वतन्त्र प्रेसका लागि प्रतिवध्द छ र उनीहरूका साथमा छ। नेपालमा अहिले विधि बिथोलिएको छ। राजनीतिक अस्थिरताको आडमा हाम्रो राष्ट्र कानुनविहीन अवस्थामा पुगेको छ। कानुन लागु गर्ने जिम्मा लिएको सरकार एकदलीय स्वर्थको घेराबन्दीमा रहेको छ। केही समय पहिले धादिङबाट काटमाण्डू आउँदै गर्दा पक्राउ परेका दर्जनौ अपराधमा समलग्नलाई हिरासतबाट छाड्नु र पत्रकार खिलानाथ ढकालमाथी सांघातिक आक्रमण गरी फरार रहेकालाई गिरफ्तार नगरीनुले सरकार कानुनको पालना गर्न अनिच्छुक मात्र होइन दण्डहीनतालाई अझ प्रोत्साहित गर्न प्रतिवध्दता जाहेर गरीरहेको छ। मैले उल्लेख गरेका पात्रहरू एमालेका प्रतिनिधिहरू हुन्।

मैले सभामा उपस्थित स्थानीयवासीसँग मन्चबाट बिदा मागे। राजनजीहरूलाई सभालाई निर्न्तरता दिन अनुरोध गर्दै ५.३० बजे स्याङजाको वालिङतर्फ प्रस्थान गरे। रामपुरबाट कालीगण्डकीको किनारसम्म हामीलाई छाड्न गएको जीपका चालक नेपाली कांग्रेसका कार्यकर्ता हुनुहुँदो रहेछ। बाटो अत्यन्त अप्ठ्यारो। उहाँको गुनासो थियो—काठमाण्डू आउँदा नेताहरुसँग भेट नहुनु। मैले उहाँलाई आस्वस्त पारे अब त्यस्तो हुँदैन भनेर। हो, नेताहरूले आफ्नो बानी सुधार्नै पर्दछ। काठमाण्डूमा सधै फन्को मारीरहनेहरूलाई भन्दा गाउँबाट आउने साथीहरूलाई हामीले प्राथमिकता दिनै पर्दछ। सुकिला र मुकिलाले मात्र नेपाली कांग्रेसको उद्देश्य पुरा हुँदैन। अबको नेपाली कांग्रेस गाउँमुखि हुनै पर्दछ।

अब हामी राती पोखरा पुग्ने गरी वालिङतर्फ लाग्छौ। बाटो अत्यन्त डरलाग्दो। अब हाम्रो साथमा हुनुहुन्छ स्याङजा क्षेत्र नं ३ का क्षेत्रीय सभापति इश्वर खडका, वीरेन्द्र दाहाल, कल्पना तिवारी, वीन्दा राना, प्रदीप पौडेल, गजेन्द्र आले, भरत तिवारी लगायत हामीहरू जीपमा टन्न छौ। इश्वरजीले ल्याएको जीपका चालक हुनुहुन्छ भाई विश्वास। २२ वर्षको युवक। हँसमुख र चतुर। बडो दक्ष। राजनीतिक रूपमा अत्यन्त सचेत। अप्ठ्यारो बाटो, विश्वास मतिर हेर्दै गाडी चलाउँछन, पछाडीबाट इश्वरजी विश्वासलाई गफ नगर्न संकेत गर्नुहुन्छ। तर विश्वासले मसँग कुरा गर्ने धोकोलाई पुरा गरेर छाड्छन। हामीहरू गुडीरहेको बाटोभन्दा ३-४ सय फिट तल गिध्दहरू उडिरहेका छन्, बाटो सानो छ, विश्वास मलाई आस्श्वस्त पार्दै भन्छन—यहाँका पात-पतिंगर, ढुंगा-मुढा र सबै गाउँलेले मलाई र मेरो गाडीलाई चिन्छन, तपाई विश्वस्त हुनुहोस्। विश्वासले बी पी कोइरालाको आत्मवृतान्त पढेका छन, दोषीचस्मा पढेका छन, जेल जर्नल पढेका छन, एकरात पढेका छन। हाम्रो परिवारका बारेमा सबै जानकारी उनलाई छ। उनले मलाई चकित त्यतिबेला पारे जब उनले मलाई सोधे—तपाईकी बहिनी चेतना कहाँ छीन ? मैले सोधै—तपाईलाई चेतनाको नाम कासरी थाहा छ ? मैले जवाव पाएँ—आत्मवृतान्तबाट। यो मेरा निम्ति सुखद आश्चर्य थियो। मलाई लाग्यो मैले बी पी कोइरालालाई बुझ्न अझ धेरै बाँकी रहेछ ! मैले हिजो बिहान तनहुँको मिछुर्लुङमा भेटेका ८४ वर्षीय रणबहादुर थापा मगरसँगको भेटको स्मरण हुन्छ। बी पी ले एकैसाथ ८४ वर्षीय वृध्द र २२ वर्षीय युवालाई उत्तिकै प्रभावित बनाउनु भएको छ। यी २२ वर्षीय युवाले आफूलाई आफ्नो गाँउमा बी पी कोइरालाको प्रतिनिधि पात्रका रूपमा गौरवकासाथ उभ्याएका छन भने ८४ वर्षीय वृध्द बी पी सँग भेट्दा बी पीले भनेका कुराहरू अगेनाको डील र चौतारामा बसेर सगर्व सुनाइ रहेका छन। नेपाली कांग्रेसको भविष्य भनेको यीनै गाउँमा बस्ने पात्रहरू हुन्।

हामी ७.३० तीर वालिङ आइपुग्छौ। वालीङमा रहेको आँधीखोला १०२.४ एफ एममा मैले प्रत्यक्ष अन्तरवार्ता दिनु छ। कठीन बाटो र विश्वासको रमाईलो कुराकानीले गर्दा अन्तरवार्तामा बोल्ने कुराहरूको दिमागमा माला उन्न सकेको छुइन। शान्ति, संविधान निर्माण, अतिवाद र नेपाली कांग्रेसको आगामी यात्रका बारेमा नै प्रश्नकर्ताले केन्द्रीत भएर प्रश्नहरू राख्नुभयो। ३-४ दिनपछि मैले पाएको खबर अनुसार अन्तरवार्ता राम्रै भएछ। प्रतिकृयाहरू निकै राम्रा र धेरै प्राप्त भएका रहेछन। राती १० बजे पोखरा आइपुगियो। धेरै थाकिएको छ। भोली बिहान ८.३० बजे विमानद्वारा काठमाण्डू फर्किनु छ।

No comments:

Post a Comment