Sunday, June 5, 2011

साहित्यमा प्रगतिशीलता-------बी. पी. कोइराला

प्रगतिशीलताको चर्चा हाम्रो साहित्यमा आजकाल निकै चलेको छ। यो स्वभाविक पनि हो। किनभने नूतन व्यवस्थाको स्थापना हुने समयमा पुराना मान्यताहरूका स्थापनामा नयाँ मान्यताको प्रतिस्थापनाको चेष्टा गर्नु स्वाभाविक वृत्ति हो। २००७ सालको राजनीतिक क्रान्तिपछि बन्धनमुक्त भएको मानवमन नूतन मार्ग अपनाउन चाहन्छ। पुरानो व्यवस्थाको नेपाली जाति निसासिएको अवस्थामा थियो, जीवनको प्रत्येक अङ्गमा अवनतिका शवचिन्ह अङ्कित थियो। तर एकतन्त्री प्राणहारी वायुमा जीवित रहेको नेपाली जातिले परिस्थितिको दवावलाई जीवनको स्वाभाविक वातावरण सम्झिएर त्यसलाई ग्रहण गरिरहेको थियो। केही भावुक व्यक्तिहरूले अपवादस्वरूप निश्चय नै एकतन्त्री वातावरणलाई प्रकृतिक भनेर स्वीकार गर्न सकेका थिएनन्।

त्यसपछि एकप्रकारले हठात् क्रान्तिको विगुल सुनियो र राणा शासनव्यवस्थाको अन्त हेर्दाहेर्दै भयो। यति छिटै यो कार्य सम्पन्न भयो कि परिवर्तनको व्यापकता तथा महत्ताको अनुभव अहिलेसम्म पनि राम्ररी हामीलाई हुन सकेको छैन। आँखाले त परिवर्तनलाई देख्यो, र वुध्दिले पनि ग्रहण गर्‍यो। क्रान्तिमा सक्रिय भाग लिने अवसर पाउनुभन्दा पहिले नै परिवर्तन आएकोले धेरैजसो हामीलाई परिवर्तन एकप्रकारको अपुताली परेको जस्तो भयो। त्यसो हुनाले अपुताली पाएका व्यक्तिहरूको मनोवृत्ति हामीमा धेरैजसो पाइन्छ। परिश्रमद्वारा आर्जित वस्तुका प्रति व्यावहारिक महत्ताको भावना मानिसमा रहन्छ, त्यो त्यसै उपलब्ध भएको वस्तुका प्रति रहँदैन। नेपालीको राजनीतिक परिवर्तनका प्रति पनि यस्तै प्रकारको लापर्वाहीको भावना वर्तमानमा छ। साहित्यमा प्रगतिशीलताको अमर्यादापूर्ण प्रयोद यस्तै लापरवाही मनोवृत्तिको द्योतक हो।

एक त वर्तमान परिवर्तन शुध्द बुध्दिग्रह्य मात्र भएको अर्थात् सामाजिक व्यक्तित्वको चेतनामा ऊ भिज्न नसकेकाले अब प्रगतिको बाटो लाग्नुपर्‍यो भन्ने सङ्कल्पले लेखकहरूले कलम उठाए, जसले गर्दा त्यस्ता लेखकहरूको साहित्यको रूप कलात्मक नभएर राजनीतिक भएको छ। दोस्रो, परिवर्तनको प्रयत्नमा सहयोग प्रदान गर्न नसकेकाले त्यस्ता साहित्यकारले आफ्नो अनास्थाको मनोवृत्तिलाई प्रगतिशीलताको आवरणले ढाकेर अनुभूतिहीन फोस्रो वृत्तिको महत्वहीन बोझ हाम्रो साहित्यमा लादिरहेका छन्। यसप्रकारको प्रगतिशील साहित्य पनि पलायनवाद हो। परिवर्तनले यसो कुरा गरेन र उसो कुरा गरेन भनेर गुनासो गरेर लेखेको मानवभावनामा आघात पार्न नसक्ने साहित्य पलायनवाद नभए के हो त ?

पलायनवादीलाई प्रगतिशील भनेर सम्बोधन गर्ने वित्तिकै त्यो प्रगतिशील हुँदैन। राजनीतिक अथवा तुकवन्दीलाई कलात्मक साहित्यको नाम दिनेवित्तिकै त्यसले कलाको विशेषण धारण गर्दैन। आजकालका साहित्यिक गोष्ठीमा अथवा कवि सम्मेलनमा पढिएका लेख अथवा कविता मूलत: धेरैजसो जुन कागजमा ती लेखिएका हुन्छन्, त्यति मूल्यको पनि हुँदैन। कोही सरकारी जागीर नपाएकाले मन्त्रीप्रति रिस प्रकट गर्दछन्, कोही रेडियोमा बोल्न नपाएकोमा अथवा भर्ती हुन नसकेकोमा सरकारप्रति लाञ्छना गर्दछन, अनि ऊ आफ्नो रिस-इवि अथवा निराशालाई पोखेका कागजको टुक्रालाई प्रगतिशील साहित्यको संज्ञा दिन खोज्छ। रिस, इवि र निराशा पनि कलात्मक साहित्यका स्रोत हुन सक्छन् तर त्यसका लागि पनि अनुभूति चाहिन्छ। धनी र गरिबको विषमता, समाजमा दिनहुँ भइरहेका शोषण र उत्पीडन इत्यादि पनि साहित्यका सामग्री हुन् तर ती सामग्रीलाई त्यस कागजमा थपथप राखिदिनेवित्तिकै साहित्यको सृष्टी हुन्छ भन्नय त्यस्तै विलकुलै अज्ञानी कुरा हो जस्तो मूर्तिकारको सामग्री पत्थरको चट्टानलाई कलाको नमुना हो भन्नु। कलाको आधार विषयभन्दा बढी भावनामा छ, जसको आधार अनुभूतिमा छ अर्थात् कलामा साहित्य पनि कलाको एक अङ्ग हो। यद्यपि साहित्य अपेक्षाकृत बुध्दिगम्य हुनाले यसको नियम कलाका अरू अङ्गभन्दा केही फरक निश्चय नै हुन्छविषयको प्राधान्य हुँदैन, यसमा कलाकारको त्यो विषयमाथिको भावनाको प्रधानता हुन्छ। जहाँ भावना शुष्क छ, त्यहाँबाट साहित्यको स्रोत फुटेर निस्कन सक्दैन। बालुवाबाट तेल झिक्न सकिँदैन। विषयको पूरा मनन पनि आवश्यक छ।

मुलुकमा गरीबी निश्चय छ र परिवर्तनको उद्देश्य यस गरीबीलाई हटाउनु हो। तर गरीबीको समस्याको राम्ररी अध्ययन र परिवर्तनको सामर्थ्यलाई पूर्ण रूपले मनन वरन् समस्यासँग सङ्घर्ष गर्नदेखि भाग्ने मनोवृत्तिलाई पनि स्पष्ट प्रकट गर्दछ। त्यसोहुनाले मेरो दृष्टिमा आजकाल प्रगतिशीलताको नाममारचिएका साहित्य पलायन प्रवृत्तिको लक्षण हो। यदि आकाशकुसुमलाई टिप्न हात लम्काउने साहित्यकार हस्तिदन्तले निर्मित प्रासादमा बसेर आफूलाई पलायनवादी प्रमाणित गर्छ भने माटोलाई यसो खोस्रे आफ्नो आवास त्यहीँ बनाउन चाहने साहित्यकजार पनि पलायनवादी हो। समस्याका प्रति उदासीनता देखाउनु अथवा उत्तरदायित्वपूर्ण अल्हडपन देखाउनु देबै पलायनवादी प्रवृत्तिका परिचायक हुन्।

साहित्य जीवन जस्तै व्यापक छ। यथार्थमा समग्र जीवनको प्रतिविम्व नै साहित्य हो। जीवनको एउटा विशेष अङ्ग अथवा पहलुचाहिँ साहित्यको क्षेत्र होइन भन्नु साहित्यको परिधिलाई अप्रकृतिक रूपबाट संकुचित पार्नु हो। प्रगतिशील साहित्य पेटका क्षुधानिवारणको समस्यामा देखिएको साहित्यको अर्थमा साधारणतया बोध हुन्छ। अरू समास्यालाई लिएर लेखिएको साहित्य प्रगतिशील होइन भन्ने धारणा सर्वसाधारण छ। हाम्रा कतिपय समालोचकहरू पनि, जो यसप्रकारको भ्रमको शिकार नहुनुपर्ने हो, यस अर्थमा प्रगतिशील साहित्यलाई लिन्छन्, अरू विषयलाई लिएर रचिएका साहित्य अप्रगतिशील हुन् भन्ने अभिप्राय यिनीहरूको रहन्छ। यस्तो विचार सङ्कीर्ण मनोवृत्तिको परिणाम हो। यस मनोवृत्तिको कारण ऐतिहासिक छ।

मार्क्सले सामाजिक क्रमको नियमको अध्ययन गर्दा उनी यस निष्कर्षमा पुगे कि समाजलाई गति प्रदान गर्ने मूलत: आर्थिक आधार छ। आर्थिक व्यवस्था मूल कुरो हो। सामाजिक ढाँचा आर्थिक व्यवस्थाका आधारमा खडा हुन्छ। वर्गसंघर्ष, जसमा शोषण सन्निहित छ, अनिवार्य सामाजिक नियम हो जसको लोप पूँजीवाद चरम सिमामा पुगेपछि गतिशील आर्थिक नियमकै आधारमा नयाँ समाजवाद व्यवस्था स्वत: भएर जान्छ। अर्थात् मार्क्सले विश्वलाई आर्थिक दृष्टिकोण दिए, जुन एकप्रकारले अत्यन्त क्रान्तिकारी दृष्टिकोण थियो। आर्थिक व्यवस्था नै सामाजिक व्यवस्थाको जननी हो भन्ने कुरा आजकाल साधारण भइसकेको छ। तर मार्क्सले जुन बखत यसको ऐतिहासिक प्रमाणका साथ प्रतिपादन गरे, त्यस बखतमा यस सिध्दान्तको त्यस्तै असर बौध्दिक क्षेत्रमा पर्‍यो, जस्तो कालो वादलले छोएको आकाशमा बिजुली हुन्छ। मार्क्सका कतिपय अनुयायीहरूले उनको सिध्दान्तलाई माझ्दा-माझ्दा यस निष्कर्षमा पुगे कि कारण र परिणाम जसरी सम्बन्धित छ त्यसप्रकार नै अर्थ र साहित्य पनि। जस्तै उदार सिध्दान्त पनि मतवालम्बीहरूको हातमा अनुदार भएर जान्छ र एवं प्रकारको सनातन धर्मको रूप त्यसले लिन्छ। सिध्दान्तका मूल प्रतिपादक ऋषि तथा उनको कृति वेद हो। त्यस्तै मार्क्सवादका सङ्कीर्ण अनुयायीमा पनि आयो। यस हदसम्म यो सङ्कीर्णतामा पुग्यो कि मार्क्सले लेखेका ग्रन्थमा नपाइएका कुरा असत्य हो भन्ने पनि भए। यस्तो धार्मिक प्रवृत्ति अवश्य पनि तानाशाहीका धाई-सुसारे हुन सक्छ।

यसको प्रत्यक्ष प्रमाण वर्तमान राजनीतिमा धेरै पाइएको छ। तानाशाहीले राजनीतिमा मात्र एकतन्त्र ल्याएको छैन वरन् बौध्दिक क्षेत्रमा पनि। हुँदा-हुँदा साहित्यको नियम पनि तानाशाहीको हुकुमले निर्धारित हुन थाल्यो, जसको विकृत रूप नेपालका आधुनिक प्रगतिशील साहित्यकारमा पाइन्छ। साहित्य यदि जीवनको प्रतिविम्व हो भने यसमा उस्तै व्यापकता अपेक्षित छ, जस्तो जीवनमा। विश्वमा जहाँ पनि जति-जति वैज्ञानिक आधारमा ज्ञानको विस्तार भइरहेको छ, ती सबै साहित्यका आधारशिला हुन्। मार्क्सको अनुसन्धानको छाप साहित्यमा निश्चय नै पर्नु पर्दछ, तर मार्क्स मात्रै किन ? फ्रायडको सिध्दान्तको साहित्यमा प्रतिविम्व नहोस् ? फ्रायड मात्र किन, युङ अथवा एडलरको विचारधाराले प्रगतिशील साहित्यमा स्थान किन नपाओस् ? आर्थिक क्षेत्रमा, वैज्ञानिक क्षेत्रमा, मनोवैज्ञानिक क्षेत्रमा ठूला-ठूला अनुसान्धानात्मक कार्यहरू तेजीका साथ हुँदैछन्। मानव-सभ्यता यी यावत् अनुसन्धान कार्यको सामूहिक परिणाम हो। साहित्य हो सभ्यताको प्रतिक। मानव सभ्यताको विस्तृत क्षेत्रबाट एक मुठी माटो लिएर त्यसलाई मात्र सभ्यताको नाम दिनु कूपमण्डूकता हो। आंशिक सत्यता सबैमा विद्यमान छ, पूर्ण सत्यता कसैमा पनि छैन। साहित्य जीवनजस्तो व्यापार होइन, त्यसको क्रय पनि छ। आजको सभ्यता लामो इतिहासको सञ्चित फल हो। साहित्य पनि त्यस्तै हिजोको सभ्यतामा आज निर्मित हुँदैछ। सेक्सपियर, कालिदास र गेटेले प्रचार साहित्य लेखेनन् अथवा पेटको आगो निभाउने उपाय बताएनन् भनेर ती अप्रगतिशील भएनन्। यस सम्बन्धमा लेनीनको एउटा कुरा सम्झन मन लाग्छबिथोभेनको संगीत सुनेर उनी यति प्रभावित भए कि उनको आँखा अचानक अश्रुपूर्ण भयो। उनले भनेविश्वमा यत्रा सुन्दरताको समुद्र उडीरहेको छ, यस सुन्दरताको निकट शोषित जनतालाई पुर्‍याउने चेष्टा हाम्रो हुनुपर्दछ। उनले विथोभेनलाई सामन्ती भनेर पन्छाएनन्। प्रगतिशील साहित्यकारले अहिलेसम्मको पूँजीभूत सुन्दरतामा वृध्दि गराउने र त्यसलाई उपलब्ध गारउने चेष्टा गर्नुपर्छ नकि भएको सुन्दरताको हत्या।

(प्रगति द्वैमासिक, वर्ष ३ अंक २ पूर्णांक ८, असार-साउन २०११)
*****************************************************************************

No comments:

Post a Comment